देशभर आज (शुक्रबार) देखि माध्यमिक शिक्षा परीक्षा सुरु हुँदै छ । संविधान निर्माण भएसँगै विद्यालय स्तरवृद्धि गरी अहिले कक्षा १२ सम्मलाई विद्यालय तह भनिएको छ । तर, कुनै समयको फलामे ढोकाका रूपमा परिचित एसईईको साख अहिले पनि घट्न सकेको छैन । अहिले पनि अभिभावक तथा विद्यार्थीमा एसईईको डर कायमै छ । एसईईलाई किन यति महŒव दिइएको होला भन्ने प्रश्न पनि बेला–बेलामा उठ्ने गरेको छ । किन कि अहिले विद्यालय तह अर्थात् एसईई तह भनेको कक्षा १२ लाई मानिने गरिएको छ । यो अवस्थामा पनि एसईईप्रति अभिभावक तथा विद्यार्थी तथा आम मानिसहरू एकपटक किन सोच्न बाध्य भएका छन् त ? त्यो प्रश्न बुझ्न अतिआवश्यक छ । फलामे ढोकाको रूपमा परिचित एसएलसीकै एउटा प्रतिरूप एसईई रहेको छ । कुनै समय एसएलसी उत्तीर्ण गर्नु फलामको च्युरा चपाउनु सरह थियो । आज अवस्था फरक छ । एसएलसीमा प्रवेश पाउनका लागि टेष्ट परीक्षा दिनुपथ्र्यो । जहाँ २ विषयसम्म उत्तीर्ण गरेको हकमा मात्रै एसएलसी दिन पाउने व्यवस्था थियो । त्यसभन्दा माथि विषय लागेमा सिधै रिजेक्ट गरिन्थ्यो । पुनः एक वर्ष कक्षा १० मै अध्ययन गरी टेष्ट परीक्षा उत्तीर्ण गरे मात्रै ऊ एसएलसी दिनका लागि योग्य हुन्थ्यो । तर, आज अवस्था फरक छ । अहिले जुन शिक्षा नीति छ, यस शिक्षा नीतिले हाम्रो साक्षरता दर त वृद्धि गरेको छ तर, शिक्षाको स्तर झन् खस्किँदो छ ।

अहिले विद्वान्हरू, शिक्षाविद्हरू वर्तमान शिक्षालाई लिएर एकदमै चिन्तित बनेको अवस्था छ । त्यो स्वभाविक पनि छ । अहिले अनुत्तीर्ण भइँदैन भन्ने मनोविज्ञानबाट विद्यार्थीहरू ग्रसित हुँदै गएका छन्, जसका कारण पढ्ने र मिहिनेत गर्ने बानी हराउँदै गएको छ । कक्षा १२ सम्म सजिलै गरी पुग्ने भएकाले पनि उनीहरूमा मिहिनेत गर्ने बानी हराउँदै गएको छ । जसरी पनि उत्तीर्ण भइहाल्छु भन्ने मनोविज्ञानका कारण अभिभावकले कराए पनि टेरपुच्छर लगाउने अवस्था छैन । त्यसकारण पनि शिक्षाविद् तथा विद्वान्हरू चिन्तित बन्दै गएका हुन् । एउटा उखानै छ, घोकन्ते विद्या, धावन्ती खेती अर्थात् मिहिनेत तथा परिश्रमविनाको फल प्राप्त गर्न सकिँदैन । विद्याका लागि परिश्रम गर्नैपर्छ भन्ने यस उखानको आसय हो । आज हाम्रो शिक्षा नीति नै गलत हो कि भनेर बेला–बेलामा व्यापक छलफल र चर्चा हुने गरेको पाउँछौँ । अब यो नयाँ कोण र धारबाट बहस हुन जरुरी छ । हाम्रो शिक्षा प्रणाली दैनिक व्यवहार तथा समाजोपयोगी छैन । यसलाई व्यावहारिक र प्राविधिक बनाउन जरुरी छ । त्यसका लागि विद्यार्थीहरू बढीभन्दा बढी अभ्यस्त हुन सक्ने किसिमको शिक्षाको आवश्यकता महसुस हुँदैछ । आज हामी शैक्षिक बेरोजगारहरू उत्पादन गरिरहेका छौँ । जुन उत्पादन आज अरबको खाडीमा श्रम बजार्न बाध्य छन् । के हामी त्यस्तो शिक्षा दिनमा उद्यत हो ? हैन भने अब नयाँ कोणबाट बहस हुन जरुरी भइसकेको छ ।

शिक्षा समाजोपयोगी हुनुपर्छ । जसले दैनिक जीवनलाई पनि सहयोग गरोस् । अबको शिक्षालाई व्यवहारमैत्री बनाउन आवश्यक छ । त्यसका लागि मिहिनेत गर्ने वातावरण सिर्जना गरिनुपर्छ । राज्यले नै शिक्षामा एउटा खालको तयारी गर्न आवश्यक छ । कुनै पनि विद्यार्थीले दुईवटा विषयमा एनजी अर्थात् नन् ग्रेडेड अवस्था भएमा उसलाई सबै विषय दिने वातावरण तयार गर्नुपर्छ । जसले गर्दा विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास हुन्छ । अर्कोतर्फ जसले एउटा तह पूरा गर्छन् । उनीहरूलाई शिक्षाअनुसारको जागिर दिने वा आयमूलक काममा लगाउने वातावरण सिर्जना गरिनुपर्छ । विद्यार्थीमा किन पढ्ने ? भन्ने वातावरण सिर्जना भइरहेको छ । त्यो वातावरणलाई निर्मूल गर्नका लागि सरकारी योजना पनि मूर्त हुनुपर्छ । हिजो एसएलसी गरेका विद्यार्थीहरू कुनै न कुनै रोजगार तथा आयमूलक काममा लाग्ने वातावरण थियो । आज त्यो वातावरण सिर्जना हुन सकेको छैन । यसका लागि राज्य जिम्मेवार बनोस् । ता कि एसईईको सार्थकता पुष्टि होओस् ।