धरान । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) बाट सुरु हुँदैछ । यस वर्षका लागि परीक्षामा सहभागी हुन २०७८ मा कक्षा नौमा रजिष्ट्रेशन भर्ने विद्यार्थी पाँच लाख १६ हजार ५ सय ९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कुल चार लाख ८४ हजार २ सय २७ जनाले फारम भरेका थिए । कक्षा नौबाट १० मा आउँदा ३२ हजार ३ सय ६४ जना विद्यार्थी घटेका छन् ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कुल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यस्तै बागमती प्रदेशमा सबैभन्दा बढी ४ सय ३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३ सय ७८, मधेस प्रदेशमा २ सय ७९, गण्डकी प्रदेशमा २ सय २३, लुम्बिनी प्रदेशमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १ सय ८५ विद्यार्थीले आवेदन दिए पनि परीक्षामा भने चार लाख ९५ हजार ६ सय ४८ जना मात्र सहभागी भएका थिए ।
एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने बताइएको छ ।
यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ ।
जापानमा पनि परीक्षा केन्द्र
बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।
त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत् पठाउने भएको छ ।
फोटो खिच्न नपाइने
परीक्षा केन्द्रमा लैजान नहुने कुनै पनि वस्तु लगेको पाइएमा र जबरजस्ती गर्न खोजेमा वा केन्द्रमा खटिएका कर्मचारीबाट कुनै गलत गतिविधि भएमा प्रचलित कानूनअनुसार कारबाही गर्ने बोर्डले जनाएको छ ।
परीक्षा केन्द्रमा अत्यन्तै सीमित, आवश्यक र तोकिएका व्यक्तिले परीक्षा समितिको अनुमति लिएर मात्रै अनुगमन गर्न पाइने भएको छ । परीक्षा हलभित्र कुनै पनि फोटो खिच्न नपाइने भएको छ । यस पटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रबाहिरको गतिविधिहरूको फोटो लिन पाइने तर, परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘अनुगमन तथा तस्बिर लिने नाममा परीक्षा हलभित्र मानिस पस्दा विद्यार्थीको मनोबल गिर्छ, परीक्षार्थीलाई अवरोध हुने गरी तस्बिर लिँदा, विद्यार्थी टोलाउने, को आयो भनेर हेर्दा लेखिरहेको उत्तर पनि बिग्रने सम्भावना र गुनासा आएकाले यसवर्ष परीक्षा हलभित्र तस्बिर लिन नपाइने व्यवस्था गरेका छौँ ।’
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थितरूपमा सम्पन्न गराउन सबैमा आह्वान गरेका छन् ।
यस्तो छ परीक्षा तालिका
एसईई परीक्षा आज (चैत १७ गते) बाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन आज (शुक्रबार) अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
त्यसैगरी चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहीबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड मार्केटिङ, इञ्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।
यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिक धारतर्फ जलीय कृषि तथा मत्स्यपालन, इलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेइङ र म्युजिक अफ नेपालको परीक्षा हुनेछ ।
यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथम–पत्रका सबै विषयहरू, वेदविद्याश्रमतर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीय–पत्रका विषयहरू, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितीय–पत्रका सबै विषयहरू, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रोडक्सन, युटिलाइजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटाबेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।
चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मङ्गलबार प्राविधिक धारतर्फ इन्डष्ट्रियल इन्टोमोलोजी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाई–वे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ ।
परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरिनरी ल्याबोरेटरी टेक्निक, इन्डष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरियण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।