विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–१ काटामेला टोलका १४ वर्षीय विशाल माझीको हत्या यौन सम्बन्धका कारण भएको खुलेको छ ।
सोही ठाउँका ३५ वर्षीय वीरेन्द्र पासवानले आफ्नी श्रीमतीसँग यौन सम्बन्ध राखेको भन्दै उनको हत्या गरेको प्रहरीले जनाएको छ । पासवानले ३१ वर्षीया श्रीमतीसँग मिलेर माझीको हत्या गरेको आरोपमा सोमबार उनी पुर्पक्षको लागि मोरङ कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले पासवानलाई पुर्पक्षको लागि थुनामा राख्न र श्रीमतीलाई दुई लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको हो । अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि श्रीमती पनि पुर्पक्षको लागि मोरङ कारागारमा छिन् । फागुन ११ गते विशालको हत्या गरेपछि काटामेला टोलस्थित पोखरीको डिलमा गाडेको प्रहरीले जनाएको छ ।
पहिलो पटक श्रीमतीसँग शारीरिक सम्पर्क गरिरहेको अवस्थामा भेटेपछि विशाल फरार भएका थिए । वीरेन्द्रले पत्नीलाई घरमा ल्याएर कुटपिटसमेत गरेका थिए । आइन्दा यस्तो घटना नदोहो¥याउने बताएकी थिइन् । कल बनाउने मिस्त्रीको काम गर्ने वीरेन्द्र कामको सिलसिलामा एक हप्ता, दस दिनमा मात्र घरमा आउने गरेका थिए ।
‘त्यसै क्रममा विशालसँग पत्नीको शारीरिक सम्बन्ध रहेको थियो । पहिलो पटक विशाललाई पनि सचेत गराएँ । ४ जना छोराछोरी छन्, मेरो बालबच्चाको अवस्था नबिगार । मेरो पत्नीसँग अनैतिक सम्बन्ध राख्न छोड भनी सम्झाउँदा हुन्छ, म गर्दिनँ, आउँदिन भनी विशालले भन्दै आए पनि म घरमा नभएको मौका पारी मेरो घरगाउँमा आउने काटाथान बगंैचामा श्रीमती दाउरा पत्कर लिन गएको अवस्थामा गोप्यरूपमा सरसल्लाह गरी शारीरिक सम्पर्क राख्ने गर्दै आएको कारण विशाललाई मार्ने योजना बनाएँ’–वीरेन्द्रले दिएको बयानमा उल्लेख छ ।
चुरोट किनेर खान थालेपछि हत्या
विशालले धुम्रपान सेवन गर्ने गरेका थिए । वीरेन्द्रले चुरोट खान बोलाउने र हत्या गर्ने योजना तीन दिनअगाडि नै बनाएको खुलेको छ । ११ फागुनमा वीरेन्द्र काम सकेर सबेरै घर फर्किए । घर आउँदा विशाल वीरेन्द्रको घरतिर आउँदै थिए । यही मौकामा वीरेन्द्रले उनलाई मार्ने योजना बनाए ।
‘विशाललाई पोखरीतिर बोलाएँ । ज्याकेटको भित्रपट्टि पाइन्टको भागमा लुकाएर दाउ राखेँ । त्यसअघि २० रुपैयाँ दिएर निजकको पसलबाट विशाललाई चुरोट ल्याउन लगाएँ । खुकुरी चुरोट ३ वटा लिएर आएपछि घरनिजकैको पोखरीको डिलतर्फ लग्यौँ । विशालले चुरोट र लाइटर निकालेर मलाई चुरोट सल्काउन दिँदा तँ नै सल्का न अनि पालैपालो तान्नुपर्छ भनेपछि ऊ एकसुरमा चुरोट सल्काउन थाल्यो । मैले सोही मौका पारी साथमा रहेको दाउ झिकेर प्रथम पटक प्रहार गरेपछि विशाल भाग्न खोज्दै गर्दा मैले उसको कपडामा भाग्न नसक्ने गरी समाएँ । घाँटी, टाउकोलगायतको भागमा पटक–पटक प्रहार गरी हत्या गरेँ’ –अभियोग पत्रमा उल्लेख छ ।
वीरेन्द्रले विशालको हत्या गर्नुभन्दा तीन दिनअगाडि खनेको खाडलमा शव हालेर पुरेको खुलेको छ । ‘विशाललाई मारिसकेपछि केही दिनअगाडि नै पोखरीको दक्षिण साइडमा रहेको गहुँबारीमा ल्याएँ । त्यहाँ राखेको बेल्चाले हतार–हतार शव फेला परेको स्थानमा खाल्डो खनेर विशालको शव पुरिदिएँ । उनको मोबाइल पोखरीको पानीमा फ्याँकी निजलाई उक्त खाल्डोमा पुरेर रगत लागेको दाउ तथा हातखुट्टा बेल्चासमेत पोखरीको पानीमा धोई पखाली गरी मैले हातमा दाउ र श्रीमतीले बेल्चा बोकेर घटनास्थलको उत्तर साइडको खेतबारी हुँदै घरतर्फ लाग्यौँ । विशालको हत्या गरेपछि म नियमित काममा जाने गरेको थिएँ’–अभियोग पत्रमा उल्लेख छ ।
हत्या गरेपछि ६ दिनपछि इलाका प्रहरी कार्यालय रङ्गेलीले वीरेन्द्र र उनको श्रीमतीलाई १७ फागुनमा पक्राउ गरेको थियो ।