एक समय कला, साहित्यको क्षेत्रमा धरानको बेग्लै नाम थियो । रङ्गकर्मीहरूको ‘कसले राम्रो नाटक देखाउने’ भनेर प्रतिस्पर्धा चल्थ्यो । दर्जन हाराहारीमा नाट्य संस्थाहरू खुलेका थिए । साहित्यको माहोल पनि उस्तै थियो । टोल–टोलमा साहित्यिक संस्था थिए, पुस्तकालय थिए । गीत–सङ्गीतको लागि त झनै उर्वरभूमि थियो धरान । चलचित्र प्रदर्शनका लागि पनि पूर्वको नामी सहर थियो । यहाँका शिव सिनेमा र गणेश टाकिज नामका दुई सिनेमा हल चर्चित थिए । पूर्वका विभिन्न ठाउँबाट फिल्म हेर्ने दर्शकहरू यहीँ ओइरिन्थे । दर्शकहरू अति भीडभाडका कारण टिकट काट्न नसकेर ब्ल्याकमा टिकट किन्न बाध्य हुन्थे । ठूला साङ्गीतिक कार्यक्रमहरू पनि यिनै हलमा हुन्थे । धरानलाई कला, साहित्यसँगै फेसनको सहरका रूपमा पनि चिनिन्थ्यो । फेसन शोहरू यिनै हलमा हुन्थे । हुन त यी कसैका व्यक्तिगत सम्पत्ति हुन् तर, पनि धरानको कलाको माहोल बढाउने काममा यिनको महŒवपूर्ण योगदान थियो । एक दशकयता यी फिल्म हल सुनसान छन् । शिव सिनेमा गोदाम बनेको छ भने गणेश टाकिज पनि दर्शक नपाएर प्रायः बन्द अवस्थामा छ ।

यी फिल्म हलहरू समयअनुसार र आधुनिक प्रविधिअनुसार परिवर्तन हुन सकेनन् । कम सिट भएका र गुणस्तरीय प्रविधिसहितका मल्टिप्लेक्स हलहरू आइसकेपछि यी हल बन्द हुनु स्वभाविक पनि हो । किनभने यिनले आफूलाई आधुनिक प्रविधिमा लैजान सकेनन् । तर, यसका सञ्चालकहरूले किन समयानुकूल परिवर्तन गर्न रुचि देखाएनन् ? महŒवपूर्ण प्रश्न यो हो । यसले धरानको समग्र कला क्षेत्र पहिलाको तुलनामा कमजोर बनेको सङ्केत पनि गर्छ । अर्कातर्फ सूचना प्रविधिको विकासले नागरिकको रुचि फेरिएको पनि हुनसक्छ । खासमा धरान कला, साहित्य, सङ्गीत, खेलकुदजस्ता सौम्य शक्ति (सफ्ट पावर) का लागि उर्वर क्षेत्र हो । धरानले धेरै कलाकार, साहित्यकार, खेलाडी, अभिनेता, गायक, सङ्गीतकार जन्माएको छ तर, आफ्नै ठाउँमा टिकाउन सकेन । राज्यले अहिले पनि यी क्षेत्रलाई अनुत्पादक क्षेत्रका रूपमा लिएर महŒव दिएको छैन । राज्यको प्राथमिकतामा नपरेपछि, नीतिमा समावेश नभएपछि आफ्नै बलबुतामा मात्र कहिलेसम्म टिक्न सक्छ र कुनै पनि क्षेत्र ? यहाँको साहित्यिक गतिविधि पहिला जस्तै सक्रिय भएको भए, रङ्गकर्म पहिलाजस्तै प्रतिस्पर्धात्मक भएको भए वा यी क्षेत्रमा लागेकाहरू यसैबाट व्यावसायिक बन्न सकेका भए, सायद यी पुराना फिल्म हलहरूका ठाउँमा नयाँ कम्प्लेक्स बन्थे होलान्, आधुनिक हलहरू बन्थे होलान् । अझ अरू लगानीकर्ता पनि आउँथे होलान् ।

अहिले धरान कला, साहित्य, खेलकुदको नाममा मात्र सीमित छ । यो क्षेत्रमा लागेर राष्ट्रियस्तरमा प्रभाव पार्न र यसैबाट व्यावसायिक बन्न चाहनेहरू केही काठमाडौंतिर लागे भने टिक्न नसक्नेहरू परदेशतिर । त्यसपछि यहाँको कला, साहित्य सुस्तायो । अहिले यो क्षेत्रमा आउने नयाँ पुस्ता लामो समय टिक्न सकेको देखिँंदैन । रहर पूरा भएपछि आफ्नो उज्वल भविष्य खोज्दै अन्यत्र लाग्नु उनीहरूको बाध्यता बनेको छ । राज्यले कला, साहित्यलाई अनुत्पादक क्षेत्र ठानेर लगानी नगरे पनि अहिले त तीन तहका सरकार छन् । प्रदेश र स्थानीय तहले यस्ता क्षेत्रको पहिचान गरी नीति निर्माण गर्नु आवश्यक छ । त्यसो त धरान उपमहानगरपालिकाले कला साहित्यको विकासका लागि भनेर धरान प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । तर, यस्ता प्रतिष्ठानमा वास्तविक क्षमताका आधारमाभन्दा कार्यकर्ता भर्ती गरिँदा गुणस्तरीय काम हुन सक्दैन । त्यसले यहाँको कला, साहित्य विकास होइन, उल्टो विनाश गर्छ । धरानको कला, साहित्य, सङ्गीत र खेलकुद क्षेत्रको विकास गर्नका लागि स्थानीय सरकारले प्राथमिकता दिनु आवश्यक छ । किनभने भविष्यमा यी क्षेत्रलाई धरानको शक्तिका रूपमा विकास गर्न सकिन्छ ।