पृष्ठभूमिः
आज ६६ औं राष्ट्रिय सहकारी दिवस नेपालमा धुमधामसँग मनाइँदैछ । ढुकुटी, धर्म भकारी, पैंचो आदि जस्ता शब्दहरूको परिवर्तित स्वरूप सहकारी हो । वि.सं. २०१३ साल चैत २० गते बाढी पीडितहरूको प्रस्तावनाका लागि अन्तर्राष्ट्रिय निकायको सहयोगमा चितवनको बखानपुरमा स्थापना भएको ‘बखान ऋण समिति’ नै नेपालको पहिलो सहकारी हो । यसभन्दा १ सय १३ वर्षअघि बेलायतमा आधुनिक सहकारीको स्थापना भएको थियो ।
वि.सं.२०४५ साल साउन ३२ गते तत्कालीन साझा संस्थाका अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा बचत समूह राष्ट्रिय सङ्घ तदर्थ समिति गठन भयो । यससँगै नेपालमा बचत तथा ऋण सहकारीको प्रारम्भ भयो । यही संस्था २०५० साल भदौ २९ गते सहकारी विभागमा दर्ता भएसँगै नेपालको जेठो सङ्घको रूपमा कार्यरत छ । नेपालमा भएका १ सय २५ जातजाति तथा १ सय २१ भाषाभाषीहरूबीच सहकारी संस्था सहकार्य, समन्वय र सहयोगी भूमिकामा देखिएको छ । सहकारी विभागका अनुसार हाल मुलुकभर ३५ हजार २ सय ३९ सहकारी छन् । यी सहकारीमध्ये बचत तथा ऋण १४ हजार, बहुउद्देश्यीय ४ हजार, दुग्ध १४ सय, उपभोक्ता ११ सय र बाँँकी अन्य सहकारी छन् । विभागका प्रारम्भिक तथ्याङ्कअनुसार देशैभर रहेका सहकारीमा ८७ लाख ४९ हजार शेयर सदस्य छन् ।
नेपालमा कुनै बेला एउटा भनाइ खुब प्रचलित थियो– ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी ।’ जनजिब्रोमा झुण्डिएको यो भनाइले साथर्कता पनि पायो । धेरै ठाउँमा सहकारी संस्थाहरू खोलिन थाल्यो । देशको तीन खम्बे अर्थ नीतिमा यसलाई पनि समावेश गरियो । हुन पनि देशको कुल ग्राहस्थ उत्पादनमा सहकारीले झण्डै तीन प्रतिशतको योगदान गर्ने गर्दछ । छरिएर रहेका पुँजीलाई एकत्रित गर्ने र त्यसलाई राम्रो उत्पादनशील कार्यमा लगाउने र यसको प्रतिफल सदस्यलाई दिने पनि गरियो । सहकारीमा अकुत धन थुप्रिन थालेपछि विस्तारै विस्तारै सहकारी सञ्चालकहरूमा खोट आउन थाल्यो । आफ्ना शेयर सदस्यहरूबीच मात्र कारोबार गर्न पाइने सहकारीको नियमलाई लत्याउँदै गैर सदस्यहरूसँग पनि कारोबार गर्न थाले ।
त्यसपछि नाम चलेका सहकारीहरू पनि डुब्न थाले, दुई छाक कटाएर आपत विपत पर्दा चलाउन हुन्छ भनेर सदस्यले जम्मा गरेको रकम डुबाउन थाले । त्यसैले अचेल सहकारी भन्ने बित्तिकै मानिसहरू छिः सहकारी भनेर नाक, मुख खुम्च्याउने गर्दछन् । सहकारीको नाम सुन्ने बित्तिकै पर–पर भाग्ने गर्दछन्, सहकारीको नामै सुन्न चाहँदैनन् । सबै सहकारीले बदमासी गर्दैनन् । सबै सहकारी नराम्रा छैनन् । कतिपय सहकारी अहिले पनि राम्रोसँग चलिरहेका छन् । यो कुरा बुझ्न जनमानस त्यति तयार देखिँदैनन् । हिन्दीमा ‘हम तो डुबेङ्गे, सनम लेकिन तुमको भी ले डुबेङ्गे’ भने झैं कतिपय सहकारी संस्थाले कुनियत, बदनियत, रकम अपचलन गरेर आफ्नो सहकारी त डुबाए नै,राम्रा नियत भएका धेरै सहकारीलाई पनि जनताको नजरमा डुबाउन खोजे ।
सहकारी डुब्दा त्यसमा आबद्घ सदस्यको खुन पसिना गरेर जम्मा गरेको रकम त डुब्ने नै भयो । अझ त्यस सदस्यसँग आश्रित घरपरिवारको पनि बिजोक हुन्छ । यसले देशको अर्थतन्त्रमा पनि निकै प्रभाव पार्दछ । यसले आर्थिक मन्दीलाई निमन्त्रणा गर्दछ । आर्थिक मन्दीले व्यक्ति, समाज, अर्थतन्त्र, व्यापार, व्यवसाय, देश कुनैको पनि विकास हुँदैन । त्यसैले सहकारी संस्था सबैलाई आवश्यक पर्दछ । सहकारीको मर्म र उद्देश्यअनुरूप यसको सञ्चालन गरिनु पर्दछ । यसको संरक्षण गरिनु पर्दछ । यसका लागि स्तम्भकारले देखेका केही उपायहरू निम्न छन्ः
घरजग्गामा बढी लगानी नगर्नेः सहकारीहरूले घरजग्गामा बढी लगानी गर्ने गरेका छन् । त्यसै पनि घरजग्गालाई अनुत्पादक क्षेत्र मानिन्छ । यसलाई बेचेर ऋण असुल गर्ने सोच नगण्यरूपमा मात्र सफल हुन्छ । त्यसैले यसमा सतर्क हुनै पर्दछ । यसले छिटो प्रतिफल दिन्छ भन्नेमा पनि सञ्चालकहरू लागे । उनीहरूमा दूरदर्शिताको अभाव देखियो । ऋण लगानी गर्दा उत्पादक क्षेत्रमा लगानी गरिनु पर्दछ, जसले गर्दा ऋण लिने शेयर सदस्य र सहकारी दुवैको कल्याण होस् ।
सञ्चालन खर्च कटौती गर्नेः जनताको पैसामा आफूलाई शान देखाउन, सलाम ठोकाउन वा नमस्कार थाप्न आवश्यकताभन्दा बढी कर्मचारी नियुक्त गर्ने, अनावश्यक भ्रमण भत्ता,निष्कर्षविहीन हुने बैठक भत्ता, प्रशासकीय खर्चमा कटौती गर्नु पर्दछ । आफ्नो संस्था घाटामा गएको देखी–देखी लाज, घिन, शरम नमानी मज्जा मानी मानी भत्ता लिनु भनेको आफ्नै नैतिकताको पतन हुनु हो र संस्थालाई डुबाउनमा ठूलो भूमिका खेल्नु पनि हो । अनावश्यकरूपमा संस्थाको कार्यालय मर्मत गर्ने नाममा खर्च बढाउने कार्य पनि गरिनु हुन्न ।
ऋण लगानी उठाउनेमा तदारुकताः नातावाद, कृपावाद, फरियावादमा लागेर जो सुकैलाई ऋण प्रवाह गरियो । आफैले अनि आफ्नो परिवार, त्यसपछि कर्मचारीलाई पनि ऋण प्रवाह गर्दाको नतिजा हो, सहकारी डुब्नु । सहकारीलाई जोगाउने हो भने जो सुकैले ऋण लिएको छ भने पनि अब ऋण ब्याजसहित उठाउनमा तदारुकता देखाउनु पर्दछ, कडा हुनु पर्दछ । समयमै ऋण उठाउन सक्रिय भूमिका खेल्नु पर्दछ । आफूमा पनि इमान्दारिता हुनु पर्दछ । सहकारीमा भएका सामग्रीहरूको अपचलन गरेका, ऋण नतिरी काम छोडिसकेका कर्मचारी होस् वा पूर्व शेयर सदस्य,सबैसँग असुलीको कार्य यथाशीघ्र अघि बढाइनु पर्दछ ।
अति महत्वाकाङ्क्षी नहुनेः जनताको पैसा धमाधम सहकारीमा जम्मा हुन थालेपछि कतिपय सञ्चालकहरू अति महŒवकाङ्क्षी बन्छन्, जसले गर्दा सहकारीको पतन हुन पुग्छ । महŒवाकाङ्क्षा हुनुपर्छ, जम्मा भएको पैसा त्यत्तिकै थन्काएर त्यसको ब्याज र सावाँ पछि फर्काउन सकिन्न । त्यसैले गहन विचार, अध्ययन, अनुसन्धान, बजार तथा शेयर सदस्यमा पर्ने प्रभाव आदि जस्ता सबै कुरा मनन् गरेर योजनाबद्घ ढङ्गले काम गरे मात्र महŒवाकाङ्क्षा पूरा हुन सक्दछ । तर, अति महŒवाकाङ्क्षी हुनु भनेको आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु हो भन्ने तथ्य नाम चलेका सहकारी संस्थाहरू डुबेबाट प्रष्ट हुन्छ ।
पारदर्शिता र छलफलः सहकारी संस्थामा मात्र होइन, हरेक संस्थामा आर्थिक हिसाब किताबको पारदर्शिता हुनुपर्दछ । संस्थालाई जोगाइराख्ने यो एउटा बलियो आधार पनि हो । आय–व्यय, लगानी, ऋण, ऋण फिर्ता, प्रशासनिक खर्च आदि सबै आर्थिक कारोबारमा पारदर्शिता हुनु पर्दछ । आफ्नो एकोहोरो विचार, योजना लाद्न मात्र छलफलको आयोजना गर्ने होइन, शेयर सदस्यहरूको पनि राय सुझाव लिन सक्नु पर्दछ किनकि संस्था बचाउनुमा शेयर सदस्यको भूमिका अहम् रहने गर्दछ । समय समयमा शेयर सदस्यहरूबीच परिणाममुखी छलफलको आयोजना गर्नुपर्दछ ।
कडा नियमन र सजायः सहकारी संस्थाहरू धरासायी हुनुमा केही मात्रामा भए पनि सरकारी नियामक निकायको पनि दोष रहेको देखिन्छ । कुनै कडा कारबाही, नियमन नभएकोले सहकारी डुबेका खबरहरू आइरहेको देखिन्छ । सहकारी स्थापनाको अनुमति दिएपछि यसको नियमित रूपमा नियमन गर्नु पर्दछ ।
सहकारीको रकम अपचलन गर्ने जो सुकै होस्, कडा खालको कारबाही गर्ने, सजाय दिने व्यवस्था हुनु पर्दछ । यसमा कानूनले रोक्छ भने आवश्यक नियम, कानूनको तर्जुमा वा संशोधन गर्न सकिन्छ । यथेष्ट मात्रामा छानबिन गरेर कुनै पनि बहानामा सहकारी डुबाउने त्यस्ता व्यक्ति वा संस्थापकहरूलाई उन्मुक्ति दिनै हुन्न । दोषीलाई कडा सजायको व्यवस्थाले अन्य सहकारीका सञ्चालकहरूले त्यस्तो गल्ती फेरि दोहोर्याउँदैनन् ।
प्रचार–प्रसारमा सजगताः पत्रपत्रिका तथा सामाजिक सञ्जालमा घरिघरि फलाना सहकारीका सञ्चालक यत्ति पैसा लिएर भागे । फलानो सहकारी डुब्यो । फलाना, फलाना सहकारी ‘ब्ल्याक लिष्ट’ मा परे भन्ने जस्ता समाचारहरू मात्र देखिन्छन् । विगतमा करिब १३ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा हुँदा त्यसको नकारात्मक प्रचार भने कहालिलाग्दो थियो । जनतालाई सुसूचित गर्ने पहिलो कर्तव्य पत्रकारहरूको हो, यसमा कुनै शङ्कै छैन । यसले कतिपय शेयर सदस्यहरू सतर्क हुन्छन्, जुन राम्रो पक्ष नै मान्नु पर्छ तर, अधिकांश जनमानसमा भने सहकारी संस्थाप्रति नकारात्मक धारणा बढाउने गरी ‘तिललाई पहाड’ बनाइनु कसैलाई पनि शोभा नदेला ।
यसको मतलव त्यस्ता डुब्न लागेका, पैसा लिएर भागेका सञ्चालकको समाचार दिनै हुँदैन भन्ने होइन, दिनु पर्छ तर, देशमा राम्रा सहकारीहरू पनि छन्, जुन राम्रोसँग सञ्चालनमा रहेका छन्, देश, समाज अनि जनताको सेवा गरिरहेका छन् भनेर समाचार दिँदा अलिकति भए पनि जनमानसमा सहकारीप्रति सकारात्मक विचार बढ्ने थियो । त्यसैले सहीलाई सही र गलतलाई गलत भनेर सहकारीको विषयमा समाचार बन्दा प्रकाशन गृहलाई हानि नहोला । विज्ञानले हरेक वस्तुमा लाभ हानि देखेजस्तै जनमानसमा पनि सहकारीप्रति हेरिने दृष्टिकोणमा नकारात्मकता मात्र होइन, सकारात्मक दृिष्टकोण बढाउने ठाउँ पनि दिइनु पर्दछ । होइन, हाम्रा लागि यस्तै समाचारहरू ‘हट केक’ हुन्, बजारमा बिक्ने साधन हुन्, ‘भाइरल’ बन्ने माध्यम हुन् भनेर यस्तै नकारात्मक समाचार मात्र एकोहोरो रूपमा जनता सामु पस्कने गरेमा भएका राम्रा सहकारी पनि डुब्न बेर लाग्दैन । किनकि अति थोरै सहकारीको बदमासीमा अन्य धेरै राम्रा सहकारीहरूको वाइयातमा बदनाम हुनसक्छ । त्यसैले सहकारीको संरक्षण र सम्बर्धनका लागि राज्यको चौथो शक्ति पत्रकार तथा सञ्चार गृहको पनि महŒवपूर्ण भूमिका रहेको देखिन्छ ।
राज्यको ‘जिडिपी’ मा महत्वपूर्ण भूमिका खेल्ने, तीन खम्बे अर्थनीतिका एक बलियो खम्बा मानिएको सहकारी संस्थालाई संरक्षण गर्नु तपाईं हामी सबैको साझा कर्तव्य हो । डुबेका सहकारीहरूको कसरी हुन्छ, नीति नियम बनाएर उत्थान गर्दै त्यसमा आश्रित सदस्यहरूको धनको सुरक्षा गर्नु वा फिर्ता गराउनु राज्यको दायित्व पनि हो । यसले आर्थिक मन्दीलाई पनि केही हदसम्म कम गर्दछ भने जनतालाई पनि राहत दिन्छ । उक्त संस्थामा कार्यरत कर्मचारीहरू पनि बेरोजगार हुनु पर्दैन । सरकारी निकाय, सहकारी, शेयर सदस्य, राज्यको चौथो अङ्ग र सबैसँग सहकार्य, सह अस्तित्व ,सही सूचनाको आदान–प्रदान, सही कार्यको मूल्याङ्कन गर्दै सबैको साथ र सहयोग पाएमा सहकारीको संरक्षण हुने र यसबाट भविष्यसम्म पनि सहकारीले सेवा गर्ने मौका पनि पाउनेछ भन्ने कुरामा कसैको दुईमत नहोला ।