ओलीका कारण सबल एमाले
माधवकुमार नेपाल नेतृत्वको नवौँ महाधिवेशनमा कायम रहेको भए एमाले पार्टी भूइँमै पछारिने थियो । माकुने र प्रचण्डले पार्टी अध्यक्ष ओलीलाई निसाना बनाएर नेकपा हत्याएर फेरि पनि पार्टीलाई छिन्नभिन्न पार्न नै खोजेका थिए । तर, तिनीहरूलाई सफल हुन दिइएन र एमाले पार्टीको अस्तित्व कायम गर्दै गतिशील बनेको हो । ओलीको सबल र सशक्त नेतृत्वका कारण मालेले पार्टी नवौँ र दसौँ महाधिवेशनप्रश्चात् पुनर्जीवित हुँदै गतिशील बन्न सकेको हो र यसले गर्दा सबै मोर्चा सङ्गठनहरूमा गुट उपगुट जस्ता गतिविधिबाट मुक्त हुन र सके सम्म सर्वसम्मत नत्र, स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्ने काम सुरु भएको छ ।
यसै क्रममा २७ र २८ गते फागुनमा अखिल नेपाल महिला सङ्घ केन्द्रको चौथो विस्तारित भेला सम्पन्न भयो । काठमाडौँस्थित तुलसीलाल स्मृतिस्थित पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा सातै प्रदेशका ४ सय जति प्रतिनिधिहरू सहभागी थिए । यस भेलाले महŒवपूर्ण प्रस्ताव तथा सुझावहरू प्रस्तुत गरेको छ ।
महत्वपूर्ण निचोड
आगामी चैत्र २५ र २६ गते काठमाडौँमा हुन गइरहेको अनेम सङ्घको राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । यसका लागि अहिलेजस्तो भारी समितिले चुस्त दुरुस्त काम गर्न नसक्ने कुरालाई सर्वसम्मतिले ठहर गरको छ र २ सय २५ सदस्यीय केन्द्रीय समिति र १ अध्यक्ष सात उपाध्यक्ष, १ महासचिव र सात सचिव तथा १ कोषाध्यक्ष गरी १७ सदस्यीय कार्यकारी निर्माण गर्ने निर्णय गरेको छ । ३–३ वर्षमा केन्द्रीय सम्मेलन, २ वर्षमा वर्षमा जिल्ला र १–१ वर्षमा नगर तथा गाउँ सम्मेलन गर्ने निर्णय पनि गरेको छ । केन्द्रले विभिन्न विभाग गठन गर्ने सन्दर्भमा यसपालि कला, साहित्य र संस्कृति विभाग गठन गर्ने निर्णय गरेको छ । यस कुरालाई डा. पोखरेलले अत्यन्त सही कुरा भन्नुभयो । उहाँका अनु्सार उक्त विषय चाहिँ राजसा महासङ्घ र सम्बद्ध कलाकार तथा कविको मात्र हो भन्ने अत्यन्त गलत चिन्तन रहेको छ । मानौँ संस्कृति र सांस्कृतिक रूपान्तरण जस्ता विषय स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, क्रमशः मणि थापा र खगेन्द्र राईकै ठेक्का भन्ने सोच माथिल्ला तहका केही नेतामा रहेको अत्यन्त भूमपूर्ण सोच रहेको डा. पोखरेलले उल्लेख गर्नुभयो । स्वस्थानी ब्रत कथामा झैँ ब्रतको प्रसाद पतिलाई, पति नभए छोरालाई र छोरा नभए मीतको छोरालाई अनि मीतको छोरा नभए खोलामा हालिदिने चिन्तनले महिलामा प्रगतिशील रूपान्तरण हुँदैन । अहिले पनि हामी महिलाहरू घरघरमा पूजाकोठा बनाएर भाग्यवादी र पुर्पुरोवादी धारणामा जकडिएका छौँ । यसबाट मुक्त हुने हो भने संस्कृति विषयबारे हामीले जान्नु र बुझ्नुपर्छ । विभाग गठन गर्ने र जिम्मा पनि लिने तर, काम भने खास नहुने रोग नहटाई हुन्न । यसपालि पनि प्रचार–प्रसार समिति बनाइएको छ तर, यही भेलाको एउटा समाचार बनाएर पत्रिकामा दिएको पाइएन । नत्र समाचार छापिन्थ्यो होला । यसबाट के बुझिन्छ भने हामी ल्यापटपलगायत प्रविधि प्रयोग गर्न धेरैले जान्दैनौँँ । जानेको भए समाचार बनाउन १० मिनेटको काम हो । अब ३ पटक बैठकमा उपस्थित नभए स्वतः हट्नु पर्ने, केन्द्रीय सदस्यहरूले मासिक लेबी १ सय, वार्षिक रूपमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ । केन्द्रीय अध्यक्ष थममाया थापाको अध्यक्षता, सचिव सुजिता शाक्यको उद्घोषण तथा सीता पौडेलले समसामयिक मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको अन्तिम दिन पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले महिलालाई उत्प्रेरित गर्ने खालको अत्यन्त महŒवपूर्ण मन्तव्य दिनुभयो । उहाँले केही महिलाका अत्यन्त खराब तथा दुष्प्रवृत्तिको पनि चर्चा गर्नुभयो । आफू त यस्ता दुष्प्रवृत्तिको बारबार सिकार नै भइएको छ । यस्तै प्रवृत्तिका विरुद्ध लड्न पनि लेख लेख्न २०५० सालदेखि थालेको हो । भाग्नुभन्दा गलत प्रवृत्तिसित भिड्ने सोच बनाएको छ तर, एकाध उपल्ला तहका नेताले अझै यस्ता विकृतिलाई जाँगर भरिदिएको थाहा पाइएको छ । समय क्रममा यसको पनि चिन्ता बस्नु पर्ला ।
कमजोर महिलामैत्री पार्टीले कुनै पनि आन्दोलन र कार्यक्रम गर्नुपर्दा महिलाको उपस्थितिमा विशेष ध्यान दिइन्छ । सङ्ख्यामा कमै देखिए पनि सारी चोलामा सजिएका महिलाहरूका कारण धेरै सहभागीजस्तो देखिँदो रहेछ । तर, महिला र अनेम सङ्घलाई आवश्यक सहयोग गर्नुपर्दा कतिपय नेताको व्यवहार खड्किन्छ । त्यसमा पनि अहिले महिलाहरूमा पनि पहिलेजस्तो मैत्री धेरै कम रहेको देखिन्छ । बैठक, भेला र सहभगिता जहाँ–जहाँ हुन्छ, त्यहीँका महिला कमरेडहरूका घरहरू हुन्छन् । उनीहरूका घरमा ४–५ जना साथीहरूलाई दुई दिनको खाने बस्ने प्रबन्ध पनि गर्न सकिन्छ । पहिले पहिले गरिएकै हो तर, काठमाडौंँका महिला नेतृ र दिदीबहिनीहरूले आ–आफ्ना निवासमा ४ जनाका दरले दुई रात बास र दुई छाक खाने व्यवस्था गरिदिए निक्कै सहज हुन्थ्यो । तर, काठमाडौँ बाहिरका महिलाहरूमा जुन खालको सहयोगी र मिलनसार व्यवहार रहेको छ, काठमाडौँमा भने खासै पाइन्न । सहरिया प्रायः साथीहरू आफ्नो निवास पनि देखाउँदैनन् । एक कप चिया सँगै बसेर खाउँ भन्ने गरेको पनि खास पाइन्न । पहिलेको जस्तो मिलनसार व्यवहार पाउन गाह्रो छ । अझ पार्टीका एकाध केन्द्रीय सदस्य महिला त आफू मात्र जान्ने भन्ने घमण्डले चुर भएको र सुनसरीकै महिला नेतृको कटु आलोचना गरेको त्यहाँ पनि थाहा पाइयो । फलानी भगवती वा अमुक को हो र के जानेको छ र भन्ने घमण्डले फुलेल हुने र कुरा काट्ने गलत संस्कार नेतृका कुरा पनि सुनियो । यस्ता चरित्र आफ्नै जिल्ला र नगरमा नै भएका र भोगेकाले आफूलाई खासै अनौठो लागेन । इटहरी उपमहानगरपालिकामा यस्तै अराजक व्यवहारका कारण सुरुमा नगरप्रमुख द्वारिकलाल चौधरी भड्किएका हुन् । चौधरीले सुरु गरेका लिङ्क रोड जस्ता कार्यक्रमहरू असफल पार्न उपप्रमुखले गर्नु गरिन् । नगरसभामा नै प्रमुख विरुद्ध उपप्रमुख बोल्न थालेपछि रमिता भएको स्वास्थ्य क्षेत्रका सेवा निवृत्त चौधरी कर्मचारीले बताए । पछि त प्रमुख र उपप्रमुख दुवैले सदा झगडा मात्र गरेर रमिता देखाए । समस्या समाधान गर्नुभन्दा एकाध नेताले आगोमा घिउ थपिरहे ।
महिला नेतृको सशक्तीकरण जरुरी
पार्टी अध्यक्षबाहेक कसैले पनि समसामयिक विषय वस्तु् र महिला आन्दोलनका बारेमा उत्प्रेरक विचार व्यक्त भएन । महिला इन्चार्ज वा विशेष कारणबस भेलामा आउन सक्नुभएन । तर, सह–इञ्चार्ज वा कुनै पदीय हिसाबले उपल्लो तहको एक जना महिलाले भए पनि सशक्त र प्रभावकारी विचार व्यक्त गर्नुपथ्र्यो । हामी महिलाहरू पुरुषभन्दा कुनै मानेमा पनि कमजोर छैनौँ भन्छौँ तर, वैचारिक र बौद्धिक तथा लेखन प्रशिक्षण गर्ने कुरामा अझै धेरै पछि छौँ । यसैले मौकामा हामी कमजोर देखिएका छौँ । लेनिनसित टक्कर लिने र याज्ञवल्क्य जस्ता ऋषिसित बहस गर्ने, गार्गीजस्ता महिलाको कुरा गर्छौँ तर, हाम्रो काम भने कमजोर देखिन्छ । कान्तिपुरलगायत अखबारमा अनेम सङ्घ, एमाले र ओली विरोधी लेखहरू विपक्षका महिलाहरूले लेखिरहेका छन् । तर, हाम्रा महिला के लेख्छन् थाहा पाइएको छैन । यतिका सङ्घ र प्रदेशमा गरी सभासद्को भारी रहेको छ तर, मिडियामा मात्रै होइन, सभामा तिनको अनुहार र बोली खासै सुन्न पाइएको छैन । आफू पनि नलेख्ने अनि लेख्नेलाई पनि नदेख्ने वा देखी नसहने अवस्था पनि म आफैले बेहोरेका छुौं । कम्तीमा नेतृ पेम्बा लामा भने प्रोत्साहित गरिरहनुहुन्छ, नत्र पढ्दै नपढेको हो कि आफूले नलेखेकामा पछुतो भएर हो कि किन प्रोत्साहन गर्नु भनेर हो कि अहँ, चर्चा नै गर्दैनन् नेतृहरू । सिक्ने कुरा जहिले जुन उमेरमा जहाँ पनि सिक्न सकिन्छ ।
कम्तीमा घरपरिवारमा रहेका पुरुष कमरेडहरूसित मौका मिलाएर केही न केही सुन्ने छलफल गर्ने हो भने धेरै सिकिन्छ । डा. पोखरेल नै घरमा भनिरहनुहुन्छ । लेख्ने प्रयत्न गरे लेखिन्छ, पढ्ने प्रयत्न गरे पढिन्छ । कमरेड ओलीका अन्तरवार्ता मात्र सुन्ने हो भने धेरै कुरा जानिन्छ तर, त्यसो गरेको पाइन्न । बाहिर मुठ्ठी बटार्ने नेता घरलाई चेतनशील र जागरुक बनाउने कुरामा ध्यानै दिँदैनन् । नेताले माधव नेपाल नै नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष भएका भए यो पार्टीको अस्तित्व समाप्त नै हुने थियो । तर, ओली अध्यक्ष भएपछि यो पार्टी विगतको जस्तो विकृत अवस्थाबाट मुक्त हुने काममा दिलोज्यानले लागेको देखिन्छ । तर, पनि सुनसरीलगायत कतिपय जिल्लामा पुरानो सबैखालको अत्यन्त विकृत अवस्था व्याप्त रहेको छ । गलत बेहोरामाथिबाट आएपछि तल तलको पार्टी बिग्रन लागेको हो । यसैले पानी र बानी माथिबाट आउँछ भनेको होला । ग्रासरुट मिसन अभियानले के कति सुधार्छ त्यो हेर्न बाँकी छ । तर, पार्टी अध्यक्ष ओली नेतृत्वको एमाले मोर्चा सङ्गठन र अझ अनेम सङ्घसमेत नयाँ ढङ्गले गतिशील बन्ने क्रममा विधान महाधिवेशन गर्दै राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको छ ।
अझै केही पाउने आशामा महिला
पहिले–पहिले अनेम सङ्घमा लाग्दा कुनै पद, पदोन्नति र प्रतिष्ठा गौण हुन्थ्यो । पार्टी र आन्दोलनको उठानमा मात्र हामी सबै लागिपथ्र्यौँ तर, अहिले काठमाडौँमा आएका ९५ प्रतिशत हामीहरू सङ्घ, प्रदेश र स्थानीयस्तरमा केही न केही अवसर पाइएला भन्ने कुनै न कुनै आशा लिएर आएको लाग्यो । योग्यता, अनुभव र काम गर्ने क्षमता, इमान्दारिता आदि आधारलाई कतिपय अवस्थामा लत्याएर केहीलाई खास मापदण्ड विपरीत शुभलाभको अवसर दिएकाले महिलाहरूमा काम गर्ने उत्साह घटेको पाइयो । कतिपय नेताले आफन्त बहिनी दिदी,पत्नी, ज्वाइँ आदिलाई कुनै पनि खालको अवसर दिँदा निराशा बढेको छ र हामी त के पाउँला र सहर बजार र काठमाडौँका लागि मात्रै पाउँदा रहेछन् भन्ने परेको छ । विधिपूर्वक मापदण्डअनुसार समान रूपमा अनेम सङ्घ, पार्टी र संसदीय क्षेत्रमा काम गर्ने अवसर लिएदेखि प्रायः सबैले चित्त बुझाउँथे होलान् तर, त्यस्तो नहुँदा काम गर्ने मरीमरी कामैमा हत्ते हालेर लाग्नु पर्ने तर, नियुक्ति कतिलाई त समानुपातिक सभासद्को टिकट पाउनेलाई जनताले एक भोट पनि दिएनन् तर, उनी पार्टीबाट सभासद् हुन्छन् र हुन्छिन् । कसै कसैलाई त जहाँ खाली हुन्छ, त्यहीँ त्यहीँ नियुक्ति गरिन्छ । पटक पटक राजदूत, सभासद्, मेयर पो पाउँछन् र दिइन्छ तर, कसैको त नाम पनि लिइँदैन । अतिचार गरेपछि समाज भड्किन्छ । त्यसैले यस खालका तमाम विकृति हटाउन मिसन ग्रास रुट अभियान पार्टीले चलाएको होला । तथापि केही कमजोरी भए पनि एमाले नेपालका सबै प्रमुख पार्टीहरूमा पहिलो सबल र सफल पार्टी नै हो । यसमा पलाएका हुर्किन थालेका विकृति भने तुरुन्तै हटाउनु पर्छ । असाध्य रोग भयो र बढ्यो भने समस्या जटिल बन्नसक्छ ।