विराटनगर । विराटनगर–३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ९ जना विरुद्ध मोरङ प्रहरीले गरेको ठगी मुद्दाको अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी  वकिलको कार्यालय मोरङमा बुझाएको छ । तीन हप्ता लामो अनुसन्धान गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएको हो ।

सरकारी वकिलको कार्यालयले आज (मङ्गलबार) सहकारीका अध्यक्ष शर्मासहित ९ जना सञ्चालकसहित प्रबन्धक र लेखा परीक्षण गर्ने सिइओ विरुद्ध आधा अर्ब बढीको बिगो मागदाबी लिएर मोरङ अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रहरीले पक्राउ गरेका चार जना र फरार रहेका अध्यक्षसहित पाँच जनालाई फरार प्रतिवादी बनाएर ९ जना विरुद्ध १ हजार २ सय ९७ जनाले दिएको उजुरीको आधारमा ५० करोड ६३ लाख रुपैयाँ बिगो मागदाबी राखेर ठगीमा मुद्दा दायर गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार पक्राउ परेका लेखा परीक्षण गर्ने सिए सितल चन्द, तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने विरुद्ध मुद्दा दायर गरिने भएको छ । यस्तै फरार सूचीमा रहेकालाई प्रतिवादी बनाएर सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र  छविलाल विश्वकर्माविरुद्ध ठगी मुद्दा अदालतमा दर्ता गरिने भएको हो ।

‘मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले भने, ‘अभियोजन तयार गर्ने काम भएको छ । मङ्गलबार अदालतमा मुद्दा दायर गर्ने हामीले तयारी गरेका छौं ।’ अभियोग दर्ता गरेपछि थप विषय जानकारीमा आउने उनले बताए ।

आज अभियोग दर्ता भएपछि पक्राउ परेका प्रतिवादीको बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि आदालतले आदेश गर्नेछ ।

प्रहरीले अनुसन्धान प्रतिवदेन बुझाएको दिन शुक्रबारसम्म मोरङ प्रहरीमा १२ सय ९७ जनाले ५० करोड ६३ लाख रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘अनुसन्धान प्रतिवेदन बुझाएपछि पनि जाहेरी दिन आएका छन्’ उनले भने, ‘अब उजुरी दिन आउनेहरूको जाहेरी लिएर पूरक अभियोग बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नेछ ।’

सहकारीका सञ्चालकहरूले २१ हजार ७ सय १३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उजुरी दिन आउने मोरङका मात्र हुन् । झापा, सिरहा र गाईघाटको विवरण आउनै बाँकी छ । यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छ ।

बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत भएको देखिएको प्रहरीले जनाएको छ । संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी ब्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गरेको देखिएको छ ।