पाँच महिनादेखि झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सक्रिय देखिन थालेका छन् । केही समययता सार्वजनिक कार्यक्रममा देखिए पनि आफ्नो धारणा सार्वजनिक नगरेका पूर्वराजाले सोमबार भने इनरुवामा आफ्नो अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक दलका गतिविधिप्रति असन्तुष्टि पनि पोखे । देशमा बढेको राजनीतिक खिचातानीले जनतामा वितृष्णा बढेको र त्यस विषयमा आफू जानकार रहेको मात्र नभई सूक्ष्मरूपमा विश्लेषणसमेत गरिरहेको बताएका छन् । सम्बोधनका क्रममा उनले आम जनताले राष्ट्र र राष्ट्रियताप्रति देखाइरहेको चासो अझै फैलियोस् भन्ने चाहनासमेत राखेका छन् । यी अभिव्यक्तिबाट पूर्वराजाको राजनीतिक सक्रियता बढ्न सक्ने आँकलन गर्न सकिन्छ । यो दलका नेताहरूका लागि चुनौती पनि हो ।

झापामा रहेका पूर्वराजा शाहले गत फागुन १ गते विवादित व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको एउटा अभियानको उद्घाटन गरेका थिए । यो अभियानलाई प्रसाईंले राजसंस्था फर्काउने अभियानसमेत भन्दै आएका छन् । अहिले देशव्यापीरूपमा बैङ्क र लघुवित्तका विरुद्ध अभियान चलाएका प्रसाईंले अस्त–व्यस्त रहेको देशको आर्थिक अवस्था र त्यसबाट आम नागरिकले पाइरहेको दुःखलाई सम्बोधन गर्ने नाममा देशको बैङ्किङ प्रणाली विरुद्ध आवाज उठाइरहेका छन् । उनको अभियानको उद्घाटनमा अन्य पारिवारिक सदस्यहरूसहित मेचीपुल पुगेका पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक रूपमा त बोलेनन् तर, उनले विभिन्न नेता, कार्यकर्तालाई दमकस्थित आफ्नो निवासमा भेटघाट गर्दै राजसंस्था पुनस्र्थापना गरेर आफू अभिभावकको भूमिकामा रहन चाहेको सन्देश दिने गरेका छन् । उनको पछिल्लो सक्रियता र सार्वजनिक अभिव्यक्तिको अर्थ पनि त्यही हो । इनरुवामा उनले स्थिरता र स्थायित्व सही राज्य पद्दति, शान्ति र अनुशासन विना सम्भव नहुने बताएका थिए । देशमा कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याई सामाजिक संरचना च्यात्ने प्रयास भैरहेको भन्दै राजनीतिक दलहरूप्रति अप्रत्यक्षरूपमा चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन । निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नु छ । राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र शान्ति र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटोमा लाग्नु छ ।’

लामो सङ्घर्षपछि देशमा सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका राजनीतिक दलहरू र तिनका नेताहरूलाई पूर्वराजाले ‘खिचातानी’ गरेको आरोप किन लगाए ? दलहरू गम्भीर हुनु आवश्यक छ । दलहरूको लामो आन्दोलनपछि देशमा लोकतन्त्र, गणतन्त्र त आयो तर, आम नागरिकको जीवनमा के परिवर्तन आयो ? अहिलेको मूल प्रश्न यही हो । परिवर्तन नागरिकको जीवनमा होइन, सीमित नेताहरूको जीवनमा देखियो । जनताको नाममा राजनीति गर्ने नेताहरू आफ्नो व्यक्तिगत फाइदामा लिप्त हुँदा नै यो अवस्था आएको हो । दलहरूको यही अकर्मण्यता र नेताहरूको द्रव्यमोह, नातावाद, कृपावादले देश झन्–झन् सङ्कटमा फस्दै गयो । आम नागरिकले गरिखान मुस्किल हुँदै गयो र उनीहरूमा निराशा छायो । उनीहरूलाई लोकतन्त्र, गणतन्त्र, सङ्घीयता सबै कुरा आउँदा पनि दैनिक जीवनयापनमा झनै असहजता थपिँंदै गए । देशमै गरिखान चाहनेले अनेक हण्डर खानु पर्ने भएपछि वैदेशिक रोजगारीका लागि खाडी पस्नुको विकल्प रहेन ।