नेपालमा नेटवर्किङ शैलीको व्यवसायबाट ठगिनेहरू धेरै छन् । धेरैवटा यस्ता कम्पनीबाट हजारौं नेपालीहरू ठगिए पनि यो धन्दा रोकिन सकेको छैन । विभिन्न रूपमा अहिले पनि नेटवर्किङ धन्दाबाट ठगिनेहरू बढिरहेका छन् । अहिले देशभर ग्लोबल ओरियन्स नामको एउटा कम्पनीले पिरामिड शैलीमा सदस्य बनाएर व्यापार गरिरहेको छ । राम्रो आम्दानी हुने लोभ देखाएर कम्पनीले धेरै युवायुवतीलाई सदस्य बनाइरहेको छ । ग्लोबल ओरियन्समा सदस्य बनेर मार्केटिङ गरिरहेकाहरूले बताएअनुसार ओरियन्समा आबद्ध हुन १३ हजार, ४० हजार र १ लाख २० हजार रुपैयाँ बुझाउनु पर्ने नियम छ । त्यसपछि पाँच सय रुपैयाँ तिरेर तालिम लिनुपर्ने र तालिमपछि प्रत्येकले तीन–तीनजना सदस्य बनाउनु पर्ने नियम छ । ती तीनजनाले पनि तीन–तीनजना बनाउँदै पिरामिड शैलीमा सदस्य बढाउँदै जानुपर्नेछ । यसरी सदस्य बनेकाहरूको काम भने फुड सप्लिमेन्ट बिक्री गर्नु हो र त्यसबापत कमिसन पाइन्छ । आकर्षक कमाइ हुने लोभमा परेका धेरै युवायुवती यो नेटवर्किङ धन्दाको फन्दामा परिरहेका छन् । सर्वसाधारण नागरिक ठगिए पनि सरकारले यो विषयमा चासो देखाएको छैन ।
नेपालको कानूनले नेटवर्किङ शैलीको व्यापारलाई अवैध मानेको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ ले नेटवर्किङ शैलीको व्यवसाय गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । उक्त ऐन र नियमावलीले इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसाय गर्न, वस्तुको खरिद बिक्री गरी वा नगरी सदस्य बनाई वा बिक्रेता वितरकमार्फत् शुल्क मात्र लिने गरी पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय नेटवर्किङ गर्न नपाउने व्यवस्था रहेको छ । ओरियन्सले यो कानूनलाई लत्याउँदै सदस्य बनाएर शुल्क लिने र त्यसबापत फुड सप्लिमेन्ट भिडाएर कमिसनको लोभमा बिक्री गराउन खटाउने गरेको छ । बेरोजगार युवायुवतीहरूलाई रोजगारीको लोभमा फसाउने यस्तो अवैध धन्दा बन्द गरिनु आवश्यक छ । यसअघि यस्तै शैलीमा व्यापार गर्ने युनिटी लाइफ, प्राइम मार्केटिङ, गोल्ड क्वेष्टलगायतका नेटवर्किङ व्यवसाय बन्द भइसकेका छन् । तिनै बन्द भएका नेटवर्किङकै शैलीमा ओरियन्सले सदस्य बनाउने र पिरामिड शैलीमा सदस्यहरू जोड्दै जाने गरेको छ । काठमाडौंमा प्रमुख कार्यालय खोलेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा वस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य उल्लेख गरी स्थापना भएको ग्लोबल ओरियन्स नेपाल प्रा.लि.ले देशभर २५ वटा बिक्री केन्द्र स्थापना गरेको छ । वस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि काम भने नेटवर्किङ शैलीमा गरिरहेको छ ।
राम्रो कमाइ हुने लोभले नेटवर्किङ धन्दामा लाग्दा पहिला नै धेरै नेपाली ठगिएकाले यस्ता धन्दामा लाग्नुअघि सचेत हुन आवश्यक छ । आफ्नो क्षेत्रमा भइरहेका यस्ता गतिविधिबारे स्थानीय तह र प्रहरी प्रशासनले पनि निगरानी राख्नु पर्छ । गैरकानूनी रूपमा सञ्चालन भइरहेको नेटवर्किङ धन्दालाई कानूनी कारबाही गरिनु र आमनागरिकलाई ठगिनबाट बचाउनु सरकारको पनि दायित्व हो । त्यसकारण नेटवर्किङ धन्दा चलिरहेको थाहा पाउने बित्तिकै निगरानी राखेर कानूनी दायरामा ल्याउनु पर्छ । नागरिकहरू पनि सचेत हुन आवश्यक छ ।