विराटनगर । फलामे ढोकाको रूपमा परिचित एसएलसीलाई शिक्षा ऐनको आठौँ संशोधनले परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा (एसईई) बनाए पनि पुरानै धङ्धङी हट्न नसक्दा अपराधीकरण बढिरहेको छ ।
सरकारले २०७३ सालमै ऐन संशोधन गर्दै कक्षा १२ लाई एसएलसीको रूपमा परिभाषित गरेको छ । तर, अहिले पनि एसईईलाई फलामे ढोकाकै रूपमा बुझेका कारण अर्काको परीक्षा लेखिदिने नक्कली परीक्षार्थी भेटिन थालेका छन् । मोरङमा दुई दिनको अवधिमा २ सय १ जना नक्कली परीक्षार्थी भेटिएका छन् ।
मोरङ प्रहरीका अनुसार बुधबार दुईजना र बिहीबार १ सय ९९ जना नक्कली परीक्षार्थी भेटिएका हुन् । बिहीबार एकै दिन मोरङका विभिन्न परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी भेटिएका हुन् । अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी प्रकाउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरँैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।
नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्राध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानाध्यापक अशोक लुइँटेलले बताए । सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ । पाँचौं दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी भेटिएको उनले बताए । ‘प्रवेश परीक्षामा फोटो शङ्का लागेपछि परीक्षार्थीको जन्ममिति सोध्दा भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो’–परीक्षा केन्द्राध्यक्ष लुइँटेलले भने ।
सरस्वती स्कुलमा ११ वटा कोठामा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो । नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘परीक्षा दिन आउने नक्कली परीक्षार्थीहरूले दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको प्रारम्भिक बयानको क्रममा बताएका छन्’ डिएसपी दाहालले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पास गर्ने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सल्टेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । ‘खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछ । त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराएको पाइएको छ’ –अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले भने ।
नक्कली परीक्षार्थीले व्यापार व्यवसायदेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ । सक्कली परीक्षार्थीहरू धेरैजसो काठमाडौंतिर बसोबास गर्ने बताइएको छ । पक्राउ परेका नक्कली परीक्षार्थाीहरूलाई प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने डिएसपी दाहालले बताए । उनीहरूलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।
नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द
पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाइ मोरङले जानकारी गराएको छ । जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टङ्क गौतमका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीहरूले दिएको सबै परीक्षा रद्द हुने बताए । बिहीबारसम्म पाँचवटा विषयको परीक्षा भएको छ ।
नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा भइसकेको छ । ‘यी पाँचवटै परीक्षा रद्द हुनेछ’ उनले भने, ‘सबै उत्तरपुस्तिका रद्द हुनेछ । अब सक्कली परीक्षार्थीले पनि परीक्षामा सामेल हुन पाउने छैन ।’ मोरङमा ७ वटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । जसमा १ हजार ३२ विद्यार्थी सहभागी छन् ।