भद्रपुर । झापाको दक्षिणी क्षेत्र भद्रपुर–२ पृथ्वीनगरकी यौनहिंसा पीडिता महिलाले ‘पीडकलाई अदालतले धरौटीमा छाडेकाले’ आफू थप पीडित बनेको गुनासो गरेकी छन् ।

जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको केही समयपछि अदालतबाट पीडक भनिएका ३३ वर्षीय दोर्जे भनिने प्रेम तामाङलाई धरौटीमा छाडेको हो । पीडिताले आफूलाई धाकधम्की दिई करणी गरेको साथै वैदेशिक रोजगारीमा रहेका पतिले पठाएको रकम पनि लिएकाले आफूलाई अहिले पतिले पनि छाडेको बताइन् । २६ वर्षीया पीडिताले भनिन्, ‘उसको कारणले गर्दा अहिले घरबारविहीन भएँ, श्रीमान्ले पनि कारबाही नभई मसामु नआइज भनेर भनिरहनुभएको छ ।’ उनका अनुसार अदालतको निर्णयकै कारण आफू बेघर हुनुपरेको बताइन् ।

आफूमाथि केही वर्षयतादेखि नै यौनहिंसा गर्दै आएको भए पनि बाहिर ल्याए ज्यान मार्ने धक्की दिएकाले घटना बाहिर ल्याउन नसकेको पीडिताले बताइन् । तर, पीडक तामाङले नै पतिलाई अश्लील सामग्री पठाएपछि घटना बाहिर आएको उनको भनाइ छ । उनीहरू सोलुखुम्बुबाट ५ वर्षअगाडि झापामा बसाइँ आएका थिए । सोही क्रममा पति वैदेशिक रोजगारीका क्रममा दुबई गएका थिए । छोरा बिरामी भएपश्चात् अटो चालक रहेका तामाङलाई लिएर अस्पताल गएका थिए ।

सोही क्रममा प्रादेशिक अस्पताल भद्रपुरबाट छोराको उपचार गरी फर्कंदा घरनजिकै अटो रोकेर उनले छोरा र आफूलाई कुटपिट गर्दै करणी गरेको दाबी गरिन् । घटनापछि यो कुरा बाहिर लगेमा फुपूसासूलगायत सबैको ज्यान लिन्छु भनेपछि उनले बोलाएको ठाउँमा जानुपर्ने र पटक–पटक गरेर १३ लाख नगद, ३ तोला चारआना सुनसमेत लगेको दाबी उनको छ ।

पछिल्लो पटक गत कात्तिक २८ गते पटक–पटक फोन गरेर ‘आज अन्तिम दिन आइज, अनि कल गर्दिन’ भनेर बोलाई भद्रपुर–५ बसपार्कनजिकै रहेको एक होटलमा लगी करणी गरी कपडा च्यातिदिएर भिडियो बनाएको र घाँटीको १ तोला चारआना सुनसमेत लगेको उनको भनाइ छ ।

घटना बाहिरिएपछि मङ्सिरमा सीमा प्रहरी चौकी सोमबारेमा दोर्जेविरुद्ध उजुरी गरेको बताइन् । दोर्जे प्रहरीको सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी गरेको आरोपमा मुद्दा मङ्सिर २३ गते दर्ता गराउन गइन् । प्रहरीले मिसिल कमजोर बनाएका कारण किटानी जाहेरीपश्चात् दोर्जे सोही दिन जिल्ला प्रहरीमा हाजिर हुँदै घटना स्वीकार गरेको उनले बताइन् ।

दोर्जेलाई प्रहरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउँदै झापा जिल्ला अदालतमा पुस १८ गते पेश ग¥यो । यता अदालतले प्रमाणका आधारमा आरोपितलाई ३ लाख धरौटी तोकेको फैसला सुनायो । दोर्जे कारागारमुक्त भएर गाउँमा नै छन् । प्रमाण नपुगेका कारण अदालतले धरौटीमा छाडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

मन मिलेको समयमा दुवै पक्षबीच लेनदेन भयो अब पछि के मिलेन अनि कुरा बाहिर आएको उनको भनाइ छ । पीडित महिला बिहीबार अभद्र व्यवहारको मुद्दा दर्ता गर्न आए पनि विवरण भने अन्य नै उल्लेख भएकोले सम्झाएर पठाइएको उनले बताए ।   

यता महिलाका श्रीमान्ले दोर्जे कारागार नगएसम्म घरमा बस्न नपाइने भनेपछि आफू हाल छोरासहित आफन्तकोमा बस्दै आइरहेको उनको भनाइ छ । जबरजस्ती करणीको मुद्दामा पनि धरौटीमा छुटेपछि न्यायका लागि पुनरावेदन अदालत इलाममा सोही व्यहोराको मुद्दा माघ महिनामा दर्ता गरेको उनको भनाइ छ । घटना बाहिर आएपछि समाजको हेर्ने दृष्टिकोण पनि फरक परेको उनको भनाइ छ ।