विराटनगर । बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गर्ने विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका प्रबन्धक मन्दिप खवासहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
ठगी मुद्दामा पक्राउ परेका खवाससहित सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले शुक्रबार पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजलासले प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार पक्राउ परेका तीन जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो । फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको थियो । पक्राउ परेको हकमा अदालतले आदेश गरेको हो ।
सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २ सय ६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।
शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनअनुसार शर्माले सहकारीको करोडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई लत्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो । उनीद्वारा सञ्चालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ । उदयपुर र झापा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशमलव ८७ वर्गमिटर अर्थात् ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।
उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५ सय ४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगोबमोजिम जरिबाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
सहकारीका सञ्चालकहरूले ३ हजार ६३ जना सर्वसाधारणले जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चारवटा शाखा रहेका छन् । विराटनगरमा रहेको केन्द्रीय कार्यालय सहकारीमा सबैभन्दा बढी सदस्य रहेका छन् । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८ सय ६२ रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।
उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिरहा र गाईघाटको उजुरी दिन बाँकी रहेको छ । बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत खाताहरूमा बचत भएको देखिएको प्रहरीले जनाएको छ । संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशतभन्दा बढी ब्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चासहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठूलो रकम बचत गरेको देखिएको छ ।