धरान । क्रिएटिभ स्कुल सर्कल धरानमा आबद्ध शिक्षकहरूलाई तीन दिने आधारभूत प्रारम्भिक बाल्यकाल विकास तालिम दिइएको छ ।
सर्कलमा आबद्ध १० स्कुलका पूर्वप्राथमिक तथा प्राथमिक तहका ३८ शिक्षकहरूलाई तालिम दिइएको तालिम संयोजक सञ्जीव बान्तवाले जानकारी दिए । उनका अनुसार चैत २१ गतेदेखि २३ गतेसम्म धरान–१५ स्थित हेबिस्कस इङ्लिस बोर्डिङ स्कुलपरिसरमा तालिम दिइएको हो ।
तालिममा दीपा खनालले बाल मनोविज्ञान, सर्कल टाइम, राइम्स, माइन्ड म्यापिङ, पाठयोजना, थिम्याटिक दृष्टिकोणका विषयमा तालिम दिइन् ।
स्कुल सर्कलका अध्यक्ष गङ्गाराम राईले तालिममा सिकेका विधिलाई विद्यार्थीहरूमा हस्तान्तरण गर्नसके सिकाइ प्रभावकारी हुने बताए । उनले विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिन यस्तो तालिमको आयोजना गरिएको उनले जानकारी दिए । तालिममा सहभागी शिक्षकहरूलाई प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।
यस्तै तालिम संयोजक बान्तवाले चैत २५ गतेदेखि धरान–५ स्थित डीपी बिलिभर्स इङ्लिस स्कुलमा गणित अभियानकर्ता र सहजकर्ता दयाराम श्रेष्ठले तीन दिने गणित सेमिनार गर्ने जानकारी दिए ।
शिक्षकहरूलाई व्यावसायिक तथा शिक्षण पेशामा निरन्तर विकासका लागि कार्यक्रम गर्न लागिएको हो । यसले विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने उनले दाबी गरे । कार्यक्रमको सञ्चालन स्कुल सर्कलका सचिव पृथ्वीबहादुर राईले गरेका थिए ।