विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग) को निःशुल्क शल्यक्रिया सुरु गरेको छ ।
अस्पतालमा चालु आर्थिक वर्षमा एक सय जना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पताल मेसु प्रा.डा. रविनराज सिंहले जानकारी दिए । चालु आर्थिक वर्षको चैत २३ गतेसम्म हाइड्रोसिल भएका ७४ जना बिरामीको शल्यक्रिया गरिएको कोसी अस्पतालका मेडिकल रेकर्ड अधिकृत गोविन्द कटुवालले बताए । चालु आर्थिक वर्षमा हाइड्रोसिलका एक सय जना बिरामीको शल्यक्रिया गरिने लक्ष्य रहेको उनले बताए ।
नेपालमा हाइड्रोसिलका बिरामी करिब एक लाख रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो । उक्त कार्यक्रम अन्तर्गत नै कोसीले विगत १४ वर्षदेखि निःशुल्क सेवा सुरु गरेको हो । सरकारले प्रत्येक अस्पताललाई एक जना बिरामीको शल्यक्रिया गरेबापत ५ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकम बिरामीको शल्यक्रिया र औषधिका लागि पुग्नेछ । तीन वर्षमा कोसीमा १ सय ५२ जना हाइड्रोसिलका बिरामीको शल्यक्रिया भएको मेडिकल रेकर्ड अधिकृत कटुवालले जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ मा १६ जनाको गरिएको छ । यस्तै २०७८/०७९ मा ६२ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ । चालु आर्थिक वर्षको चैतसम्म ७४ जनाको गरिएको अस्पतालको अभिलेखमा देखिन्छ । कोसीमा हाइड्रोसिलको उपचार गर्ने फोकल पर्सन सर्जन डा. क्षितिज गिरी रहेका छन् ।
हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुनसक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउँदैन तर, अण्डकोषको आकार भने ठूलो बनाउँछ । यसको उपचार सामान्य शल्यक्रिया नै हो ।