विजयपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी पक्राउ परेपछि रकम लिएर नक्कली परीक्षार्थी खटाउने शैक्षिक कन्सल्टेन्सीहरूको पोल खुलेको छ ।
नक्कली परीक्षार्थी दिलाउने कन्सल्टेन्सीहरू धरान र दमकमा धेरै रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार नक्कली विद्यार्थीलाई परीक्षा दिलाउने निजी शैक्षिक कन्सल्टेन्सीहरूमा धरान–९ को टेरेसा एजुकेशनल कन्सल्टेन्सी, धरान–९ आचार्य लाइनको प्यासिफिक कन्सल्टेन्सी, धरान–१० को युनिक कन्सल्टेन्सी, धरान–३ स्थित डल्फिन पूर्वाञ्चल एकेडेमी, धरान–७ को लालीगुराँस कन्सल्टेन्सी रहेका छन् ।
कार्यालयका अनुसार डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका छन् । टेरेसा एकेडेमीका सञ्चालक विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका सञ्चालक ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, लालीगुराँस कन्सेल्टेन्सीका सोनाम रिजाल रहेको बुझिएको छ ।
उर्लाबारीको एमएन कन्सल्टेन्सी, गुडविल कन्सल्टेन्सी मङ्गलबारे, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एनएआरटी कलेज पथरी रहेका छन् । नक्कली परीक्षार्थीहरूमा धेरैजसो धरानस्थित कन्सल्टेन्सीका रहेका छन् ।
खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गर्दछन् । त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराउने गरेका छन् ।
नेपालको संविधान २०७२ ले माध्यमिक तह (प्रारम्भिक बाल कक्षादेखि १२ सम्म) को सञ्चालन अनुमतिदेखि नियमनसमेत गर्न स्थानीय तहलाई एकल अधिकार दिएको छ । तर, नियामक निकाय स्थानीय तहले प्रभावकारीरूपमा नियमन गर्न नसक्दा शैक्षिक संस्थामा विकृति विसङ्गति मौलाएको छ ।
मोरङ माध्यमिक शिक्षा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेपछि शैक्षिक संस्थाको विकृति खुलेको हो । मोरङबाट नक्कली परीक्षार्थी पक्राउ परे पनि ती नक्कली परीक्षार्थी मोरङका मात्रै नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अधिकतम् परीक्षार्थी धरान र बेलबारीका छन् । धरानबाट अधिकांश कसल्टेन्सीले विद्यार्थी भर्ना गर्ने र रकम लिएर नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने गर्दै आएका थिए । नगर वा कुनै निकायले अनुगमन गरी नियन्त्रण गर्ने गरेको छैन । कन्सल्टेन्सीहरूले नक्कली परीक्षार्थीबाट परीक्षा दिलाएर उत्तीर्ण गराइदिने भन्दै मोटो रकम लिने गरेका छन् । नक्कली परीक्षार्थी पक्राउ परेसँगै यस्ता कन्सल्टेन्सीहरू सार्वजनिक भएका छन् ।
अरूको परीक्षा दिने नक्कली परीक्षार्थीलाई शिक्षा ऐन २०२८ अनुसार कारबाही हुने व्यवस्था छ । शिक्षा ऐन २०२८ को दफा १७ मा दण्ड सजायसम्बन्धी व्यवस्था रहेको छ । दफा १७ को १ (क) मा अरूको तर्फबाट परीक्षा दिएमा एक लाख रुपैयाँसम्म जरिबाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ ।
अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेको थिए । झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरँैचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए ।
नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने सरस्वती नमुना माविमा ८ वटा विद्यालयको सेन्टर रहेको थियो । चौथो दिनसम्म नक्कली विद्यार्थीले नै परीक्षा दिएका थिए भने पाँचौं दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका थिए । परीक्षा दिन आउने नक्कली परीक्षार्थीहरूले दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको प्रहरीले जनाएको छ । नक्कली परीक्षार्थीहरूले दिएको परीक्षा रद्द भइसकेको छ ।