माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबार सम्पन्न भएको छ । एसईई सञ्चालनको दौरानमा मोरङका केही परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेको घटना सार्वजनिक भएको छ । बिहीबार एकैदिन मोरङका तीनवटा परीक्षा केन्द्रबाट १ सय ९९ जना र बुधबार २ जना गरी २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ परेको घटना सार्वजनिक भयो । यसले एसईईमा भइरहेको विकृतिको भण्डाफोर मात्रै गरेन, शिक्षा क्षेत्रमा मौलाइरहेको आपराधीकरणको पर्दाफास पनि गरिदियो । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने कन्सल्टेन्सीको नाम पनि सार्वजनिक भएको छ । जसमा सुनसरीको धरान पहिलो नम्बरमा छ । त्यस्तै झापा दोस्रो नम्बरमा छ । एसईईका लागि परीक्षा लेखिदिएबापत दिने रकम पनि खुलेको छ । झण्डै एक विद्यार्थीबापत ४० हजार रुपैयाँसम्म आर्थिक कारोबार हुने गरेको खुलेको छ । शिक्षामा यस्तो विकृति देखिनु शुभसङ्केत होइन । मानव विकासका लागि तीनवटा कुरा अपरिहार्य मानिन्छ । पहिलोः शिक्षा, दोस्रोः सरदर आयु अर्थात् स्वास्थ्य अवस्था, तेस्रोः प्रतिव्यक्ति आय । यी तीन तŒवमध्ये पहिलो तत्व शिक्षामा यो खालको भ्रष्टीकरण हुनु राम्रो सङ्केत होइन ।
नेपाल सरकारले २०७३ सालमा शिक्षा ऐनको आठौँ संशोधनपश्चात् फलामे गेट भनेर परिचित एसएलसीको प्रावधान हटायो । कक्षा ८ सम्म आधारभूत शिक्षा र ९ देखि १२ सम्मलाई मावि तह भनी व्याख्या गरेको छ । २०२८ सालमा बनेको शिक्षा ऐन संशोधन गर्ने क्रममा यो अवस्थामा आइपुग्दा अहिले पनि एसएलसीको धङ्धङी नमेटिएको हो कि भन्ने प्रतीत हुन्छ । कक्षा १० उत्तीर्ण हुनु अहिले सामान्यीकरण भइसकेको अवस्था छ । तर, पनि हाम्रो मनोविज्ञान भने हट्न सकेको छैन । अहिले पनि एसईईलाई एसएलसीकै रूपमा बुझ्ने हाम्रो मनोविज्ञानलाई हटाउन जरुरी देखिएको छ । यसमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले भूमिका खेल्न जरुरी छ । एसएलसी हटाउनुको मुख्य उद्देश्य साक्षरता दरमा वृद्धि गर्नु थियो । मानव विकास सूचकाङ्कमा साक्षरतालाई प्रमुख तŒवको रूपमा लिने गरिन्छ । युएनडीपीले सन् १९९० देखि मानव विकास सूचकाङ्क प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । यसमा तीनवटा कुरा अपरिहार्य मानेको छ । यही अपरिहार्यताका कारण नै एसएलसी हटाई एसईई बनाइयो । तर, पनि हाम्रो सोच, हाम्रो काम गर्ने तौरतरिका, शैलीहरू फेरिएनन् । उस्तै रहे । फलतः अहिले पनि एसईई चाहिँ फलामे ढोकाकै रूपमा परिचित भइरहेको छ । जसको फलस्वरूप नक्कली परीक्षार्थीहरू हजारौँ रुपैयाँ लिएर परीक्षा दिइरहेको अवस्था छ । यसमा कन्सल्टेन्सीहरूको मुख्य भूमिका छ ।
अब सबैभन्दा अहम् प्रश्न चाहिँ हाल पक्राउ परेका नक्कली परीक्षार्थीहरूको हकमा के हुन्छ ? उनीहरूलाई कस्ता खालका कारबाही हुन्छन् ? परीक्षा दिन लगाउने कन्सल्टेन्सीलाई कस्तो खालको कारबाही हुन्छ ? त्यसका सञ्चालकहरू पक्राउ पर्छन् या पर्दैनन् ? भन्ने आमजिज्ञासा देखिएको छ । त्यसो त धरानको एउटा कन्सल्टेन्सीका सञ्चालक पक्राउ परिसकेको खबर छ । यसले गर्दा पक्कै पनि आगामी दिनमा परीक्षालाई सुधार गर्न र भावी रणनीति तय गर्नका लागि पनि यसले भूमिका खेल्न सक्ला । तर, जबसम्म एसईईलाई हाउगुजीका रूपमा प्रस्तुत गरिरहिन्छ, तबसम्म नै यसमा विकृतिहरू देखिरहन्छन् । शिक्षामा देखिएको विकृति, विसङ्गति हटाउनका लागि सरकार चनाखो हुन जरुरी छ । शिक्षालाई मर्यादित बनाउन सरकारको भूमिका अपरिहार्य हुन्छ । आज दिन प्रतिदिन शिक्षा विकृत हुँदै गएको अनुभूति गरिँदैछ । वास्तवमा यस्तो किन भइरहेको छ ? भन्ने विषयमा पनि गम्भीर मन्थन जरुरी हुँदै गएको छ ।