इनरुवा । नगरभित्रका स्वास्थ्य संस्थामा म्याद गुज्रिएका औषधि वितरण हुने गरेको भन्ने जन गुनासोपश्चात् उपप्रमुखको टोलीले स्वास्थ्य संस्थाको छड्के गरेको छ ।

सामाजिक सञ्जालमार्फत् बाहिरिएको विषय नगरमा चासोको विषय बनेपछि उपप्रमुख छड्केमा निक्लिएकी हुन् । उपप्रमुख बिनिताकुमारी मेहताले वडानम्बर ६ को मधेशा स्वास्थ्य चौकीको छड्के अनुगमन गरेकी छन् । उनले पुराना तथा म्याद गुज्रिएका औषधि आफूले समेत फेला पारेको बताइन् । छड्केका क्रममा चालु अवस्थाको औषधि राखिएको फ्रिजमा म्याद गुज्रिएका औषधि र ल्यावमा प्रयोग हुने केमिकल भेटिएको उनले बताइन् । उपप्रमुख मेहताको अनगुमन केहीदिनअघि सार्वजनिक भएको म्याद गुज्रिएको औषधिको विषय र अनुगमन समिति संयोजकको हैसियतले दिएको अन्तरवार्तामा आफूले बोलेको विषय इङ्गित गरी नगरपालिकाले निकालेको चेतावनीयुक्त ध्यानाकर्षण पत्रतर्फ लक्षित देखिन्थ्यो ।

उनले भनिन्, ‘म्याद गुज्रेका औषधि छुट्याएर राखिएको थियो रे । मेयर सा’बले पत्रमा भन्नुभ’को । तर, मैले स्वयम् अनुगमन गर्दा पूर्व मेयरको पालाको औषधिसमेत भेट्टाएँ । यसलाई अब के भन्ने ?’ उपप्रमुखका अनुसार अनगुमनका क्रममा चालु अवस्थाको फ्रिजमा पुराना मितिका औषधि र स्वास्थ्य सामग्री थिए । ल्यावमा प्रयोग गरिने केमिकलसमेत मिति नाघेको थियो । म्याद सकिन लागेको तीन महिनाअगावै फिर्ता गरिनुपर्ने औषधिसमेत प्रयोगमा ल्याइएको पाइयो ।

जुन आफैमा सर्वसाधारण जनताको स्वास्थ्यमाथि खेलवाड हो । अनुगमनका क्रममा २ वर्ष बित्दासमेत मिति नाघेका औषधिको व्यवस्थापन नगरी भण्डारण गरी राखिएको पाइएको मेहताले बताइन् । उपप्रमुख मेहताका अनुसार ठूलो परिमाणमा न्यानो झोला मुसाले खाएको अवस्थामा थन्क्याएर राखेको र आवश्यकताभन्दा बढी औषधि ल्याएर थुपारेको पाइएको बताइन । जसको जवाफ स्वास्थ्य शाखा इन्चार्जसँग मागेको उनले बताइन् ।

यता सो विषयमा मधेशा स्वास्थ्य संस्था प्रमुख शालिन्द्रकुमार मेहताले बाहिर फैलिएको हल्ला यथार्थभन्दा भिन्न रहेको बताए । उनले म्याद गुज्रिएका औषधि भिन्न छुट्याएर राख्दा केही चालु अवस्थाको औषधिसँगै रहेको हुनसक्ने बताए । यद्यपि, म्याद गुज्रिएको औषधि बिरामीलाई वितरण भने नभएको प्रष्ट्याए । उनले भने, नगरपालिकाबाट औषधि पठाउँदा नराख्ने भन्ने कुरो भएन । आवश्यकताभन्दा धेरै चाहिँदैन भन्दा पनि पठाए तर, म्याद गुज्रिएको विवरण दुरुस्त उतारी फिर्ता लैजान भन्दा आलटाल गरेर स्टोरमा थन्किन पुग्दा यो अवस्था आयो र दोष मलाई थोपरियो ।’

यता वडानम्बर ६ का अध्यक्ष सुमन थापाले भने औषधिसँग जोडिएर बाहिरिएको विषय निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले म्याद नाघेका अधिकांश औषधि पूर्व जनप्रतिनिधिकै पालाको बुझिएकाले आवश्यकताभन्दा धेरै औषधि खरिद गरी म्याद गुजारेर किन थुपारियो भन्ने विषयसमेत छानबिन हुनुपर्ने बताए । उनले स्वास्थ्यका कर्मचारीको नियत खराब देखिए कारबाही गरिनु पर्नेसमेत बताए ।

यता म्याद गुज्रिएको वडाको औषधिको विषयमा चर्को विरोध जनाउँदै आएका वडासदस्य उत्तम कार्कीले आवश्यकताभन्दा बढी औषधि कसले किन र कुन प्रयोजनमा ल्याएर थन्क्याएको हो, सो को जवाफ सम्बन्धित पक्षले दिनुपर्ने बताए । उनले औषधि थुपारेर बेकामे बनाउनुभन्दा बेलैमा अन्य स्वास्थ्य संस्थालाई उपलब्ध गराएको भए राम्रो हुने थियो भन्ने तर्क राखे ।