विजयपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेसँगै कन्सल्टेन्सीका सञ्चालकहरू पनि पक्राउ पर्न थालेका छन् ।

कन्सल्टेन्सी सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेसँगै उनीहरूलाई कस्तो कारबाही होला भन्ने आम चासो बढेको छ । कन्सेल्टेन्सीले ४० हजार रुपैयाँसम्म रकम लिई नक्कली परीक्षार्थी खटाउने गरेको तथ्य बाहिरिएको थियो । अरूको परीक्षा दिँदै गर्दा सुनसरी र मोरङका गरी कुल २ सय १ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि केही कन्सल्टेन्सीका सञ्चालक पनि पक्राउ परेका छन् । कन्सल्टेन्सी सञ्चालकहरूलाई कस्तो सजाय हुन्छ त ? जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी रञ्जन दाहालले शिक्षा ऐन २०२८ को आठौँ संशोधनअनुसार कैद सजाय हुने बताए । उनले भने, ‘ऐनमा परीक्षा दिने र दिन लगाउने दुवैलाई कैद र सजायबारे स्पष्ट व्यवस्था छ । कारबाही गर्न समस्या छैन ।’

शिक्षा ऐन २०२८ को दफा १७ मा दण्ड सजायसम्बन्धी व्यवस्था रहेको छ । दफा १७ को १ (क) मा अरूको तर्फबाट परीक्षा दिएमा एक लाख रुपैयाँसम्म जरिबाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सञ्चालकहरूको हकमा पनि यही ऐन आकर्षित हुने अधिवक्ता जयराम सुन्दासले बताए । कन्सल्टेन्सी सञ्चालकको हकमा दफा १७ (१) ग, च र छ आकर्षित हुने देखिन्छ । ऐनको दफा १७ (१) (च) मा परीक्षाको मर्यादा भङ्ग हुने अन्य कुनै कार्य गरेमा ऐनको दफा १७ को उपदफा (१) को (छ) मा विद्यार्थी भर्ना गर्दा दान, उपहार वा कुनै रकम लिएमा एक लाख रुपैयाँसम्म जरिबाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । डिएसपी दाहालका अनुसार धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीबाट परीक्षा दिलाउने कन्सल्टेन्सीहरूमा धरान–९ को टेरेसा एजुकेशनल कन्सल्टेन्सी, धरान–९ आचार्य लाइनको प्यासिफिक युनिक कन्सल्टेन्सी, धरान–१० को युनिक कन्सल्टेन्सी र धरान–७ स्थित न्यू लालीगुराँस एजुकेसन प्रा.लि. पनि रहेका छन् । टेरेसा एकेडेमीका विवेक आले मगर, प्यासिफिक कन्सल्टेन्सीका ललिता आङ्बोहाङ, युनिक कन्सल्टेन्सीका छत्र तामाङ, न्यू लालीगुराँस एजुकेसन प्रा.लि.का सोनम रिजाल सञ्चालक रहेको प्रारम्भिक अनुसन्धानमा खुलिसकेको डिएसपी दाहालले जानकारी दिए ।

यस्तै मोरङका एमएन कन्सल्टेन्सी उर्लाबारी, गुडविल एजुकेशन हब, पर्फेक्ट कन्सल्टेन्सी पथरी, एमएन पूर्वाञ्चालक आइटी कलेज पथरी रहेको प्रहरीले जनाएको  छ । अन्य कन्सल्टेन्सी सञ्चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुल्लातर्फका विद्यार्थीले कन्सल्टेन्सीलाई एकमुष्ठ रकम दिए पछि उत्तीर्ण गराउने जिम्मा लिँदै आएका थिए । प्रहरीका अनुसार मोरङमा चैत २२ र २३ गते कुल २ सय १ नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरूलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अरूको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकास्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १ सय २७ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैंचाको जनता मावि केन्द्रबाट २० जना पक्राउ परेका थिए ।

सुनसरीमा ३३, मोरङमा ५ सय
निजी क्षेत्रमा स्थानीय तहबाट स्वीकृति लिई खुल्लातर्फ (प्राइभेट) एसईई कक्षा सञ्चालन गर्न पाउँछन् । धरान मात्रै नभई सुनसरीका १२ स्थानीय तहमा यस्ता कन्सल्टेन्सी सञ्चालनमा रहेका छन् । तर, ठूलो मात्रामा कन्सल्टेन्सी सञ्चालन भए पनि सुनसरीमा खुल्लातर्फबाट एसईई परीक्षा दिने विद्यार्थी न्यून मात्रै रहेका छन् । शिक्षा समन्वय इकाई सुनसरीका सूचना अधिकारी निर्मल निरौलाका अनुसार सुनसरीमा जम्मा ३३ जना मात्रै विद्यार्थी परीक्षामा सामेल भएका थिए भने मोरङबाट ५ सय हाराहारीमा थिए ।