विराटनगर । सरकारी (सामुदायिक) विद्यालय भन्नासाथ धेरै अभिभावकहरू नाक खुम्च्याउँछन् । सरकारी स्कुलमा पढाइको गुणस्तर राम्रो छैन भन्ने आम धारणा छ, जुन केही हदसम्म सत्य पनि हो । त्यसैले अभिभावकहरू आफ्ना छोराछोरीलाई जसरी पनि बोर्डिङ स्कुलमा पढाउन खोज्छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारले पनि ऋणपान गरेरै निजी स्कुलमा बच्चा पढाउन चाहन्छन् । सामुदायिक विद्यालयहरूमा भने विद्यार्थीको अभाव हुन्छ । तर, विराटनगर महानगरपालिकाभित्रका केही सामुदायिक विद्यालयमा भने यसको ठीक उल्टो स्थिति छ । यहाँका तीनवटा सामुदायिक विद्यालयहरूले निजी बोर्डिङ स्कुललाई शैक्षिक गुणस्तरमा चुनौती दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनै सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन निकै सङ्घर्ष गर्नुपर्छ ।

विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी सङ्ख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् । यस्तै अब्बल सामुदायिक विद्यालयमध्ये एक हो, विराटनगर–३ स्थित पोखरीया मावि । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरूका कारण यो विद्यालयमा छोराछोरी पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् । निजी विद्यालय छाडेर स्वतःस्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड थेग्न सकस परेको छ । अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए । ‘यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं’ प्रअ भट्टराईले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’

अङ्ग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन शुक्रबार एक सय पूर्णाङ्कको प्रवेश परीक्षा नै लिएको छ ।  विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि कक्षा ९ सम्म ४ सय विद्यार्थी भर्ना लिने तयारी गरेको छ । त्यसका लागि निजी विद्यालय छाडेर आएका १ हजार ८ सय ५३ जना बालबालिकाले छनोटमा पर्नलाई परीक्षा दिएका छन् । तीमध्ये १ हजार ४ सय ५३ जनाले भर्ना पाउने स्थिति नभएको विद्यालयका प्राचार्य भट्टराईले बताए ।

प्रवेश परीक्षा दिने सबैलाई विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिका आधारमा भर्ना लिन सम्भव छैन । विद्यालय प्रशासनका अनुसार आवश्यकताअनुसार प्रवेश परीक्षा उत्तीर्ण नभएका विद्यार्थीको भर्नाका लागि मन्त्री, दलका नेता र जनप्रतिनिधिको दबाव थेगी नसक्नु हुन्छ । त्यसैले रिजल्ट टाँसेर एक सातासम्म शिक्षकहरू मोबाइल स्विच अफ गरेर बस्न बाध्य हुन्छन् ।

प्राचार्य भट्टराईका अनुसार ६ कक्षामा ८० नयाँ विद्यार्थी भर्ना कोटामा ४ सय ७ जनाले प्रवेश परीक्षा दिएका छन् । कक्षा ७ को १ सय २० कोटामा ४ सय ५५ जना, कक्षा ८ मा १ सय २० कोटामा ४ सय ५५ र  कक्षा ९ मा ८० कोटामा ४ सय ४० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । शनिबार २, ३, ४, ५ र प्राविधिक विषयको लागि कक्षा ९ मा नयाँ भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा तोकिएको विद्यालयले जनाएको छ । ३ सय ३८ जना कोटाको लागि ८ सय २४ जना विद्यार्थीले फारम भरेका छन् ।

विराटनगर–२ मा रहेको बूढानिलकण्ठ स्कुलबाट कक्षा ७ उत्तीर्ण गरेका विप्लप कर्ण कक्षा ८ मा भर्नाका लागि अभिभावक अमितले प्रवेश परीक्षा दिलाएका छन् । बूढानिकलण्ठमा कक्षा ८ पढाउँदा वार्षिक कम्तीमा ८० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ । पोखरीयामा वार्षिक १२ हजार रुपैयाँ शैक्षिक सहयोग शुल्क तिर्दा पुग्ने भएकाले छोरालाई यहाँ पढाउन ल्याएको अमितले बताए । ‘अहिले छाएको आर्थिक मन्दी र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिने भएकोले छोरा र छोरी दुवै जनालाई प्रवेश परीक्षा दिन ल्याएको हो’ उनले भने, ‘निजीमा चर्को शुल्क तिर्नुपर्ने बाध्यताले निजीसरह पढाइ हुने यो विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न अभिभावक आकर्षित भएका हुन् ।’

शुक्रबार कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन प्रवेश परीक्षा दिन आएका सबै निजीका विद्यार्थी हुन् । प्राचार्य भट्टराईका अनुसार यो विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा, जनकपुर, धनकुटा, सङ्खुवासभा, भोजपुर र तेह्रथुमका निजी विद्यालय छाडेर विद्यार्थी आउन थालेका छन् । यो विद्यालयले २०७० देखि नर्सरीदेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेर एसईईको नतिजा उत्कृष्ट दिएपछि निजी विद्यालय छाडेर भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको हो । विद्यालयले व्यवस्थापन पक्ष र शिक्षण विधिमा सुधार ल्याएर पठन–पाठन गराउँदा विद्यार्थीको आकर्षण बढेर कोटा निर्धारण गर्नुपरेको प्राचार्य भट्टराईको भनाइ छ । अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यालयको एसईई नतिजा उत्कृष्ट छ । उनका अनुसार प्लस ए, ए र प्लस बी मात्र होइन, यो विद्यालयबाट हालसम्म ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

यो विद्यालयमा कक्षा ५ देखि १० सम्म मोरङबाहिरबाट आएर पढ्ने एक हजारभन्दा बढी विद्यार्थी डेरा लिएर बस्छन् । विद्यालयका शिक्षक महेश गौतमका अनुसार विद्यालयको व्यवस्थापन पक्ष सुधार गर्दै शिक्षण सिकाइमा नयाँ प्रविधिको स्मार्ट बोर्डबाट अध्यापन, आईटीको प्रयोग, शिक्षकलाई सूचनामैत्री वातावरण र प्रिमन्टेश्वरी सेवा थप गरिएको छ । यो विद्यालयमा नर्सरी, केजी र कक्षा १ सम्म स्मार्ट टीभीमार्फत् र त्यसमाथिका कक्षाका लागि स्मार्ट बोर्डमार्फत् अध्यापन गराइन्छ । यो विद्यालयमा आफ्ना बालबालिका पढाउनेप्रति अभिभावकले कक्षा ९ र १० का लागि वार्षिक १४ हजार र कक्षा ६ देखि ८ सम्मकाले वार्षिक १२ हजार शैक्षिक सहयोग शुल्क तिर्दै आएका छन् ।

यस्तै विराटनगरमा रहेको आदर्श स्कुलले पनि भर्ना लिनको बिहीबार प्रवेश परीक्षा लिएको छ । ४ देखि ९ कक्षासम्म ३ सय ५० जनाको कोटामा १ हजार ५० जना विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । निजी विद्यालय छाडेर आउने विद्यार्थीको चाप बढ्न थालेपछि भर्ना हुनको लागि सीमा निर्धारण गरिएको उनले बताए ।