विराटनगर । फार्मेसी सञ्चालकहरूको बदमासीको कारण कोशी प्रदेशमा बिरामीले सेवन गर्ने औषधिको चरम् दुरुपयोग हुने गरेको पाइएको छ ।

कमाउधन्दामा लागेका व्यक्तिको कारणले फार्मेसी सञ्चालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्यसनीहरूलाई बेच्ने गरेको पाइएको हो । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । औषधि व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधिको चरम् दुरुपयोग गर्ने गरेको भेट्न थालेको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरीका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधि दुरुपयोग गरेको आरोपमा आइतबार पक्राउ गरेको छ ।

औषधि व्यवस्था विभाग विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा खत्रीले बिरामीले सेवन गर्ने औषधि दुरुपयोग गरेको पाइएपछि मेडिकल हल शिलबन्दी गरी उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका खत्रीले एपनाडेल, ट्रामाडोल, ओपिडोल नामक औषधि दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल शिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दीपेन्द्र खड्काले जानकारी दिए ।

प्रिगाभालिन, ट्रामाडोल नामको औषधि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको फेला परेको विभागले जनाएको छ । यी औषधि मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागूऔषधको काम गर्ने फार्मेसी निरीक्षक खड्काले बताए । त्यही भएर अवैधरूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् ।

यस्तै ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधि दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ । यसअघि पनि विभागले धरान उपमहानगरपालिका–१८ घोपा क्याम्पअगाडिको बिम्ब फार्मेसीका सञ्चालक नवीन राईले औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा विभागले पक्राउ गरेको थियो । धरान–११ सयपत्री चौकबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेसी सञ्चालक राईले औषधिको अनुचित रूपमा दुरुपयोग गर्ने गरेको खुलेको थियो । त्यही भएर विभागको टोलीले उनलाई पक्राउ गरेको हो ।

यसअघि केही फार्मेसीहरूले ट्रामाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले ‘अपोट्याव, इसपाजमो र फोक्सिबो नामको औषधि मिसाएर  लागूऔषधको रूपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काले जानकारी दिए । ‘यसअघि ट्रामाडोल औषधि मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुखाइ कम गर्ने ओपोट्याव, इसपाजमो र फोक्सिबोन क्याप्सुल मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधि ऐन २०३५ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।