औषधि व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनमा मोरङ सुन्दरहरैंचा नगरपालिका–१२ स्थित एरीका मेडिकल हलले लक्षित बिरामीलाई बिक्री गर्नुपर्ने औषधि दुव्र्यसनीलाई वितरण गरेको पाइएको छ । यो नियमविपरीत हो । पछिल्लो समय जनगुनासो बढेका कारण विभागले अनुगमन गर्दा जुन गलत क्रियाकलाप गरेको पाइयो । त्यहाँबाट हलका सञ्चालक मनोज खत्रीलाई विभागले पक्राउ गरी कारबाही अगाडि बढाउने तयारी थालेको छ । उनलाई औषधि दुरुपयोगको आरोपमा पक्राउ गरिएको छ । औषधि दुरुपयोग हुने गरेको घटनामा यो नौलो होइन । बारम्बार यस्ता औषधिको दुरुपयोग हुने गरेको पाइएको छ । तर, कारबाही के कस्तो हुन्छ र भएको छ भन्ने विषय त्यति धेरै आउँदैन । यसले गर्दा आम सर्वसाधारणलाई आशङ्का पैदा गर्दै आएको छ । विभागले कारबाही गरेको तालिका पनि बेला–बेलामा सार्वजनिक गर्दै जानुपर्छ । यसले गर्दा सर्वसाधारणमा पनि विश्वसनीयता बढ्छ । औषधि दुरुपयोगको विषय सबैभन्दा बढी सुनसरी, मोरङ तथा झापामा हुँदै आएको छ । यो किन भइरहेको छ ? यसका पछाडिका कारणहरू के छन् ? यसमा मेडिकल हल सञ्चालन गर्नेहरूको सामाजिक उत्तरदायित्व हुन्छ कि हुँदैन ? उनीहरूलाई सामाजिक उत्तरदायित्व बुझाउने दायित्व कसको हो ? अब यस विषयमा पनि मन्थन जरुरी छ ।

लागूऔषध दुव्र्यसन अहिलेको गम्भीर मुद्दा बन्दै गइरहेको छ । प्रतिवर्ष दुव्र्यसनी बढ्दै गएको छ । यो बढ्नुका पछाडिको कारण भनेको औषधि पसल तथा मेडिकल हलको गैरजिम्मेवारीपन पनि हो । मेडिकल हलहरूले आफ्नो सामाजिक उत्तरदायित्व र कर्तव्य पूरा गरिदिने हो भने पनि धेरै हदसम्म दुव्र्यसनी घट्न सक्छन् । पैसा कमाउने होडमा पछाडि लाग्दा समाजप्रतिको दायित्वलाई चटक्कै भुलिदिन्छन् । औषधि पसल खुल्नुअघि नै निश्चित मापदण्ड पूरा गरिएको हुन्छ । त्यहाँ स्वतः नियमले बाँध्छ । तर, जब कर्मक्षेत्रमा प्रवेश गरिन्छ, तब समस्या सिर्जना हुन थाल्छन् । हामीकहाँ औषधि दुरुपयोग हुने आधार दुईवटा देखिएका छन् । एउटा खुला सिमाना र अर्को औषधि पसलहरूबाट बिक्री गरिने कारण । खुला सिमाना हाम्रो ठूलो समस्या हो । यो राज्यको समस्या हो । राज्यले यो समस्याको निराकरण राज्य तहबाटै गरिनुपर्छ । तर, अर्को समस्याको जडलाई हटाउनका लागि मेरो पनि भूमिका हुन्छ भन्ने कुरालाई मनन् गर्न आवश्यक छ । समुन्नत समाज निर्माण गर्ने दायित्व औषधि पसल सञ्चालकहरूको पनि हो ।

हामीकहाँ निश्चित औषधिहरू चिकित्सकको सल्लाह तथा प्रेस्क्रिप्सनअनुसार दिइनुपर्छ । त्यसरी जथाभावी बिक्री गर्न पाइँदैन । त्यसो हुँदा आफ्नो जिम्मेवारीलाई पैसाका अगाडि बेचिदिँदा त्यसले समाजलाई दलदलमा फसाइरहेको छ । यस्ता आफ्ना जिम्मेवारी भुल्ने आरोपितहरूलाई कारबाही गर्दा सामाजिक अपराधको कोणबाट पनि हेर्न जरुरी हुँदै गएको छ । खालि औषधि दुरुपयोग गरेको भनी औषधि ऐन २०३५ अनुसार मात्रै कारबाही गरिनु हुँदैन । कारबाहीका लागि उसको क्रियाकलापसँगै नियतमाथि पनि प्रश्न उठाउँदै कानूनी कारबाही गर्न आवश्यक छ । औषधि दुरुपयोग पनि फौजदारी अपराधअन्तर्गत नै राखिन्छ । त्यसकारण फौजदारी अपराधमा क्रियाकलापसँगै नियतमाथि पनि अनुसन्धान गरिन्छ । सोहीअनुसार कारबाही गर्नका लागि सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा अभियोजन दर्ता गर्ने प्रक्रिया हुन्छ । त्यसकारण विभागले यस्ता नियमविपरीत काम गर्नेहरूलाई सामाजिक अपराधको दृष्टिबाट पनि व्याख्या गरी कारबाही गर्न जरुरी छ । समाजप्रतिको उसको दायित्वलाई नसम्झाउने हो भने समाजमा नैतिकता पनि अन्त्य हुन्छ ।