विराटनगर । नेकपा (एमाले) निकट युवासङ्घ नेपाल उर्लाबारी नगर कमिटी संयोजक नितम चौहान पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी चौहानलाई मङ्गलबार पक्राउ गरेको हो ।

२ मङ्सिरमा उर्लाबारी–६ मा रहेको तरल क्याफेमा दुई समूहबीच झडप भएको थियो । त्यसबेला उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी–६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको थियो ।

पुरानो रिसइबीलाई लिएर धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको थियो । त्यसबेला तीनजना घाइते भएका थिए । घटनामा संलग्नको भएको आरोपमा प्रहरीले एमाले उर्लाबारीका नगर उपाध्यक्ष कुमार लिम्बूसहित उर्लाबारी–५ का आशङ्क लिम्बू र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको थियो । चौहान फरार थिए । फरार चौहानलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

आज (बुधबार) जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा इलाका प्रहरी कार्यालय उर्लाबारीले प्रतिवादीसहित अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । त्यसपछि सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अभियोग बुझाउनेछ । थुनछेक बहसपछि प्रतिवादी चौहानको हकमा अदालतले आदेश गर्नेछ ।