भद्रपुर । झापाको कनकाई नगरपालिका वडा नं.२ जामुनखाडी सिमसारमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

गएराति साढे ८ बजे जामुनखाडी सिमसार बस्ने ४० वर्षिय भानु दाहालको घरको कोठाभित्र लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले घर कोठामा चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले घरधनी भानु दाहाल, इलाम माई नगरपालिका वडा नं. ८ का ३९ वर्षिय आशबहादुर लिम्बू र सोही ठाउँ घर बताउने ३२ वर्षिय उमेश राईले टिनको छानामुनि काठको तक्तिमाथि लुकाई राखेको ५ ग्राम ३०० मिलिग्राम ब्राउनसुगर , नगद ३४ हजार , ३ थान मोवाईल फेला परेको जिल्लाका डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुसहित आशबहादुर लिम्बूको नाममा रहेको मे.९ प.९२९६ नं.को पल्सर मोटरसाईकल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको डिएसपी रिजालले जानकारी दिए ।