विराटनगर । तराईका जिल्लाहरूबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्लाको ग्रामीण क्षेत्र र सीमावर्ती क्षेत्र हुँदै भारतमा पु¥याएर बिक्री वितरण हुने गरेको पाइएको छ ।
पेसेवर गिरोहले चोरी गरेको मोटरसाइकल पहाडी जिल्लामा पुर्याएर नम्बर प्लेट परिवर्तन गरी बिक्री वितरण गर्ने गरेको पाइएको हो । मोरङ प्रहरीबाट खटिएको सादा पोसाकको टोलीले चोरीको मोटरसाइकलसहित ६ जना चोरलाई प्रहरीले पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको छ । पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक पनि रहेका छन् ।
मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने २ भारतीयसहित ६ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । मोटरसाइकल चोरी आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुर–१० का २५ वर्षीय सुशीलकुमार यादव, सोही ठाउँका २५ वर्षीय शौरभकुमार यादव, विराटनगर महानगरपालिकाका दिनेश साह, सोही ठाउँका सञ्जय साह र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षीय सुमनकुमार यादवलाई पक्राउ गरेको डिएसपी दाहालले बताए । प्रहरीले उनीहरूको साथबाट चोरीको पाँच थान मोटसाइकल र चोरीमा प्रयोग गरिने मास्टर चाबी पनि बरामद गरेको छ ।
२०७९ फागुन १० गते विराटनगर–७ स्थित मालपोत कार्यालयअगाडिबाट बेलबारी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ६० का बमबहादुर खवासले पार्किङ गरिराखेको को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । यस्तै चैत २४ गते विराटनगर महानगरपालिका वडा नं. १६ जोगवनीस्थित नेपाल सरहदभित्र सप्तरी कञ्चनपुर बस्ने केशवप्रसाद गुप्ताले पार्किङ गरिराखेको प्रदेश नं. २–०२–००३ प ५२५९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
यसैगरी माघ २१ गते विराटनगर महानगरपालिका वडा नं. २ स्थित सेन्ट्रलमलको पर्किङस्थलमा विराटनगर–४ कञ्चनबारी बस्ने सुरेन्द्र कार्कीले पार्किङ गरी राखेको को २७ प ६९४९ नम्बरको स्कुटर चोरी भएको थियो । चोरी गरेको मोटरसाइकलहरू पहाडी जिल्लाका दुर्गम स्थान र सुनसरी जिल्लाका ग्रामीण क्षेत्र हुँदै भारतका विभिन्न स्थानहरूमा पु¥याई बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । चोरी गरेका मोटरसाइकलहरू नेपाल–भारत सीमा हुँदै अवैध मदिरा तथा लागूऔषध ओसार–पसार गर्न र यस्ता मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरको रूपमा प्रयोग गर्नसमेत यस्ता गिरोहले बिक्री गर्ने गरेको पाइएको उनले बताए ।
विगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोसाकमा विशेष अपरेसन टोली खटाएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरेको प्रहरीले जनाएको छ । धेरैजसो विराटनगरबाट हराएका मोटरसाइकलहरू धनकुटालगायत पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा पुग्ने गरेको पाइएको बताउँदै एसपी पोखरेलले त्यस्ता क्षेत्रमा निगरानी बढाएको जनाए । सवारीधनीहरूले अतिरिक्त लक एवम् सुरक्षाका उपायहरू नअपनाउँदा चोरी हुने सङ्ख्यासमेत बढ्दै गएकोले सवारी धनी पनि सचेत हुनुपर्ने देखिएको एसपी पोखरेलले बताए ।