सुनसरी । भारतबाट सुनसरीका विभिन्न क्षेत्रमा ब्रोइलर कुखुरा र अण्डाको अवैध व्यापार बढेकोप्रति किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

खुला सिमानाका कारण प्रतिबन्धित ब्रोइलर कुखुराको तस्करी बढेकाले कडाइ गर्न किसानले जोड दिएका छन् । प्रतिबन्धित ब्रोइलर कुखुराले बर्डफ्लु फैलिने डर बढेको छ । पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीले तस्करी नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षण गराएको छ । खुल्ला सीमा नाकाको फाइदा उठाएर चोरीतस्करी गरी अवैध कुखुरा, अण्डा र तयारी मासुसमेत आयात भएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै सङ्घले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सीमापारिका बजारबाट निर्वाधरूपमा अवैध कुखुरा, कुखुराजन्य वस्तु, अण्डा र तयारी मासुसमेत आइरहेकाले नेपाली पोल्ट्री फर्म तथा मासु व्यवसायीहरू मारमा परेकाले नियन्त्रण गर्नुपर्ने मागसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइएको पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीले जनाएको छ ।

उक्त ध्यानाकर्षण पत्रमा दशगजा नजिकको पोल्ट्री तथा मासु पसलमा निगरानी बढाउनुपर्ने, पोल्ट्री तथा मासु पसलको दर्ता अनिवार्य गराउनुपर्ने, गुणस्तरीय मासु उपभोग गर्न प्रेरित गर्नुपर्ने, मासु तथा खाद्यान्नको नियमित अनुगमन गर्नुपर्ने, व्यवसायीको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अनधिकृतरूपमा करोडौंको राजस्व गुम्दै आएको र नेपाली रकम भारत गइरहेकाले यसमा सुरक्षा निगरानी बढाउनुपर्ने, व्यवसायीको पेशागत र व्यासायिक सुरक्षामा ध्यान दिनुपर्ने प्रजिअ पाण्डेलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

सङ्घले भारतीय कुखुरा, चल्ला र अण्डासँग प्रतिस्पर्धा गर्न नेपाली कृषकहरू सक्षम नभएको मौकामा भारतीय व्यवसायी तथा सीमा क्षेत्रका केही तस्करहरूले सीमापारिबाट ल्याउने अण्डा, मासु, चल्ला र जिउँदो ब्रोइलर कुखुराले स्वास्थ्यमा जोखिम, पन्छीमा बर्डफ्लुको सम्भावनासमेतलाई मध्यनजर गरी अवैध आयात रोक्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको अगुवा व्यवसायी सागर तिम्सिनाले जानकारी दिए ।

सङ्घका सचिवसमेत रहेका डा. राजकुमार यादवका अनुसार सङ्घका अध्यक्ष कुलबहादुर कुँवरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा खुल्ला सिमानाका कारण भारतबाट नेपाल भित्रिने गरेको अवैध कुखुरा, अण्डा र तयारी मासुले बर्डफ्लु रोग फैलाउने उच्च जोखिम भएको हुँदा नियन्त्रणका लागि समयमै ध्यान दिनुपर्नेमा जोड दिइएको छ । व्यावसायिक हितभन्दा माथि उठेर देशमा सङ्क्रामक रोग भित्रिने गरेको र व्यवसाय धरापमा परेकोले यसमाथि निगरानी बढाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको पोल्ट्री तथा मासु व्यवसायी सङ्घ इनरुवाका अध्यक्ष कुलबहादुर कुँवरले बताए ।

ध्यानाकर्षण पत्रमा भारतीय कुखुरा विश्व बजारमा प्रतिबन्धित भएपश्चात् नेपालमा खुल्ला सिमानाको फाइदा उठाउँदै निर्वाध आयात हुनाले रोगको सङ्क्रमण फैलिने भएको हुँदा समयमै सचेत गराउन आवश्यक रहेको उल्लेख गरिएको छ । भारतीय बजारबाट अवैधरूपमा कुखुरा भित्रिने भएको हुँदा व्यवसायबाटै पलायन हुने र धरापमा पर्ने भएकाले चिन्तासमेत ध्यानाकर्षण पत्रमार्फत् व्यक्त गरिएको छ ।

अवैध कार्य गर्ने जोसुकैलाई निरुत्साहित तथा कारबाही गरी एक मात्र आत्मनिर्भर रहेको पोल्ट्री व्यवसायका साथै बर्डफ्लुजस्तो महामारीबाट बचाउन चाँडो पहलकदमी गरिदिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ । पोल्ट्री फर्म तथा मासु व्यवसाय सङ्घ सुनसरीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सूचना जानकारीमा आएकाले वास्तविक बुझ्दै कडाइका साथ कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता गरेकी छन् ।
यता भारतबाट अवैधरूपमा ब्रोइलर कुखुरा भित्रिँदा बर्डफ्लुको जोखिम बढेको पोल्ट्री तथा मासु व्यवसायी सङ्घ सुनसरीका सचिव

तथा प्राविधिक राजकुमार यादव बताउँछन् । नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यहरूमा बर्डफ्लु देखिएपछि पशुजन्य वस्तुको आयात रोक्न सीमामा थप कडाइ गरेको प्रहरीले बताइरहेका बेला ब्रोइलर कुखुरा भित्रिने क्रम अझै नरोकिएको उनको भनाइ छ । सोही कारण सीमावर्ती क्षेत्र हुँदै नेपालमा समेत बर्डफ्लु भित्रिने जोखिम बढेको उनले बताए ।

भारतबाट सीमावर्ती क्षेत्र हुँदै नेपाल भिœयाइने त्यस्ता भारतीय प्रतिबन्धित कुखुरा सदरमुकाम इनरुवा, इटहरी, धरानलगायतका स्थानसम्म पुर्याउँदा आफूहरूको व्यवसाय चौपट भएको यादवले गुनासो गरे । भारतमा सस्तोमा पाइने भएकोले सीमावर्ती क्षेत्रबाट ब्रोइलर कुखुरा नेपाल भिœयाउन तस्करहरू सक्रिय रहँदै आएको उनको भनाइ छ । नेपालमा २ सय ८० देखि ३ सय रुपैयाँ प्रतिकेजीसम्ममा पाइने कुखुराको मासु भारतमा भने नेपाली १ सय ६० देखि १ सय ८० रुपैयाँ प्रतिकेजीसम्ममा पाउने गरेको छ । सीमावर्ती क्षेत्रबाट तस्करी गराएर ल्याउने ब्रोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटेर केही व्यवसायीले सुनसरीका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।

kukura