विजयपुर । धरान–६ पानबारीस्थित सरस्वती माविमा नर्सरीदेखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने भएको छ ।

आगामी शैक्षिक सत्रबाट नर्सरी युकेजीदेखि कक्षा तीनसम्म पूर्ण अङ्ग्रेजी माध्यमबाट अध्यापन हुने विद्यालयका सहायक प्रधानाध्यापक होमप्रसाद दाहालले बताए । उनले भने, ‘नर्सरीदेखि नै सुरुवात गरेमा माथिल्ला कक्षामा पनि अङ्ग्रेजी माध्यममा जान सहज हुने भएकाले सुरु गरेको हो ।’

अङ्ग्रेजी माध्यमलाई निरन्तरता दिँदै जाने विद्यालयको तयारी छ । विद्यालयका प्रधानाध्यापक गङ्गाप्रसाद धमलाका अनुसार वडा कार्यालयले दुई जना शिक्षकका लागि अनुदान दिएको छ । उक्त शिक्षकका लागि आवेदन माग गरेको छ ।