धरान । मोरङ उर्लाबारीकी एक महिलालाई सस्तोमा जग्गा मिलाइदिने बहानामा चारजनाको एक समूहले झुक्याई ३२ लाख रुपैयाँ रकम लिएर फरार भएको केही घण्टामै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
मोरङ उर्लाबारी नगरपालिका–४ की ५२ वर्षीया विष्णुमाया सापकोटालाई जग्गा बैना गर्ने बहानामा चारजनाको समूहले झुक्याएर ३२ लाख रुपैयाँ लिई फरार भएका थिए । फरार भएको घटना प्रहरीमा पुगेपछि प्रहरीले केही क्षणमै उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
सापकोटालाई अर्जुनधारा नगरपालिका–११ नम्बर वडामा दुई कठ्ठा जग्गा सस्तोमा बिक्री भइरहेको भन्दै झुक्याएर रकम लिई झापा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राई फरार भएका हुन् ।
उनको योजनामा साथ दिने रामेछाप देउराली गाउँपालिका–२ घर भई हाल भक्तपुर बस्दै आएका ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङ गाउँपालिका–४ घर भई काठमाडौँ बस्ने जनक रेग्मी, मोरङ बेलबारी नगरपालिका–६ घर भई हाल मेचीनगर नगरपालिका–६ बस्ने रणबहादुर पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार सापकोटालाई बिहीबार अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा बोलाई चारजनाले झुक्याएर रकम लिई भागेका थिए । घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चारैजनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको उनले जानकारी दिए ।
घटनापश्चात् दुईजना इलामतर्फ गएका थिए । इलाम नगरपालिका–७ स्थित देउराली होटलमा लुकिछिपी बसिरहेको अवस्थामा १४ लाख ६५ हजार रुपैयाँसहित श्रेष्ठ र रेग्मीलाई इलाम प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
यस्तै पोखरेल र राईलाई अर्जुनधारा नगरपालिका–११ स्थित थापा होटल एण्ड लजमा लुकिछिपी बसिरहेको अवस्थामा १३ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
यसरी बनेको थियो ठगीको योजना
आरोपित राई र सापकोटाको घर एकै ठाउँमा रहेकाले अर्जुनधारा–११ नयाँ बसपार्कमा २ कठ्ठा जग्गा सस्तोमा मिलाइदिन्छु भन्दै विश्वास दिलाएको प्रहरी बताउँछ ।
राई र रणबहादुर पोखरेलले ठगीको योजना बनाएका थिए । उक्त योजनाअनुसार राईले सापकोटालाई विश्वासमा पारेका थिए । सापकोटाले छिमेकी डम्बरबहादुर विश्वकर्मालाई लिई आरोपित राईले बोलाएको स्थान अर्जुनधारा–११ को नवज्योति होटलमा पुग्दा सुरुमा बैना गर्नुपर्छ भनिएको डिएसपी रिजालले जानकारी दिए ।
त्यसपश्चात् पैसा निकालेर बैना गर्ने क्रममा बैना कागजसमेत नगरी सापकोटाको साथमा रहेको ३२ लाख रुपैयाँ लिई राईलगायत चारैजना फरार भएका थिए । राईले जग्गा बिक्री गर्ने जग्गाधनी रेग्मी र श्रेष्ठ रहेको बताएका थिए । तर, उनीहरूकै योजनाअनुसार नै ठगी गर्ने उद्देश्य रहेको डिएसपी रिजाल बताउँछन् । उनीहरूको साथबाट प्रहरीले २७ लाख ६५ हजार रुपैयाँ बरामद गरेको डिएसपी रिजालले जानकारी दिए । उनीहरूविरुद्ध ठगीमुद्दामा कारबाही चल्ने जनाइएको छ ।