धरान । सरकारले यस वर्ष समयमै पुस्तक पुर्याउने भनेपनि नयाँ शैक्षिक सत्रको सुरुवातमा सुनसरीमा विद्यार्थीहरूले पुस्तक नपाउने भएका छन् ।
सरकारले सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिए पनि शैक्षिक सत्र सुरु भएको पहिलो दिन नै विद्यार्थीले पुस्तक नपाउने भएका हुन् । निजी प्रकाशकले कक्षा १ देखि ५ सम्मका पुस्तकहरू विक्रेता पुस्तक पसलहरूलाई पठाइसकेका छन् । तर, जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मको पुस्तक पुस्तक व्यवसायीलाई वैशाख ८ देखि १० सम्ममा मात्रै दिने भएको छ ।
नेपाल पुस्तक व्यवसायी महासङ्घ इनरुवा इकाइका सदस्य पवनकुमार मेहताले कक्षा ५ सम्मको पुस्तक आएको तर, कक्षा ६ माथिको पुस्तक हालसम्म नआएको जानकारी दिए । उनले आफूहरूलाई जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मको पुस्तक छपाइ सम्पन्न भए पनि पहाडी जिल्लामा पठाउने कार्य जारी रहेकाले सुनसरीको पुस्तक पसलमा समयमा पुस्तक नपठाएको र वैशाख ८ देखि १० सम्ममा मात्रै दिने प्रतिक्रिया आएको बताए । समयमा आएका पुस्तकहरू ग्राहक र विद्यालयलाई दिने गरेको र बाँकीका लागि एक हप्ता लाग्ने भन्दै फर्काइदिएको मेहताको भनाइ छ ।
उनले पसलमा नआएका पुस्तकहरूका लागि पछि बोलाएको र अहिले भएको पुस्तक दिएर पठाइरहेको बताए । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र सुवेदीले बजारमा समयमै पुस्तक आए नआएको विषयमा शनिबार अनुगमन गरेको बताए । उनले धरानका पसलहरूमा पर्याप्त पुस्तक रहेको बताए ।
अनुगमनका क्रममा धरानका पुस्तक पसलहरूमा सबै पुस्तकहरू रहेकाले अभिभावक तथा विद्यालयहरूलाई समयमै खरिद गरेर विद्यार्थीको हातमा पुस्तक दिन आग्रह गरे । इकाइ प्रमुख सुवेदीले भने, ‘स्थानीय पुस्तक व्यवसायी तथा वितरक र विद्यालयहरूले लापरबाही नगरे विद्यार्थीको हात–हातमा समयमै पुस्तक पुग्ने अवस्था छ ।’ सुवेदीका अनुसार शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू भएको छ ।