विराटनगर । मोरङको कानेपोखरीमा एक बालकको शङ्कास्पद मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भई कानेपोखरी गाउँपालिका–१ बिसनपुरस्थित बडीबुबा (ठूलोबुबा) को घरमा बस्दै आएका ९ वर्षीय बेगबहादुर थापाको मृत्यु शङ्कास्पद देखिएको मोरङ प्रहरीले जनाएको छ ।
बालकका बुबा श्रीबहादुर थापा धनकुटामै बस्छन् । आमाले दोस्रो विहे गरेपछि बालकलाई २२ महिनाको हुँदादेखि नै बडीबुबा ढकबहादुर थापाले आफ्नो घरमा ल्याएर हुर्काएका थिए । बाख्रा बाँध्न ग्वालीमा गएका बेला शुक्रबार बिहान ७ बजेतिर अचेत भएर ग्वालीमै ढलिरहेको अवस्थामा भेटिएको भन्दै बालकलाई उपचारका लागि बडीबुबा ढकबहादुरले विराटनगरको कोसी अस्पताल ल्याएका थिए ।
अस्पताल ल्याइपुर्याउनासाथ बिहान ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार गाउँमा भने सर्पले डसेर बालकको मृत्यु भएको हल्ला चलाइएको थियो । तर, घाँटीमा डोरीले कसेजस्तो डाम देखिएपछि बालकको मृत्युलाई अस्वभाविक मानिएको उनले बताए ।
‘बाख्रा बाँध्न ग्वालीमा गएका बालकलाई बेहोस अवस्थामा भेटिएको भनेर बडीबुबाले अस्पताल पु¥याएको पाइयो । तर, मृतकको घाँटीमा डोरीले कसेको डामजस्तो देखिएको छ’ डीएसपी भण्डारीले भने, ‘घटना शङ्कास्पद देखिएपछि बडीबुबा ढकबहादुर र बडीआमा तुलसा थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’
शवलाई पोष्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । घटनाको प्रकृति हेर्दा ढकबहादुर र तुलसाले भनेजस्तो नपाइएको उनले बताए । उनका अनुसार दुवै जनालाई हिरासतमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । पोस्मार्टम रिपोर्ट प्राप्त भएर विस्तृत अनुसन्धान गरेपछि घटनाका बारेमा यकिन हुने प्रहरीले जनाएको छ ।