विजयपुर । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवदेनले धरान नगरको सवारीसाधान ऐनविपरीत कोटेशनबाट मर्मत सम्भार गरेको देखाएको छ ।
सार्वनजिक खरिद नियमावली विपरीत नगरले सवारीसाधन मर्मतमा ४१ लाख ९८ हजार ५४ रुपैयाँ खर्च गरेको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १३ (५) मा सार्वजनिक निकायले कुनै मालसामान मर्मत सम्भारको लागत अनुमान तयार गर्न त्यस्तो निकायका विज्ञ वा दक्ष कर्मचारी, कर्मचारी नभएमा त्यस्तो कामगर्ने व्यक्ति, कम्पनी वा संस्थाबाट लागतअनुमान तयार गराउनु पर्ने व्यवस्था छ ।
तर, नगरले अनुमान नै नगरी सिधै कोटेशनबाट मर्मत सम्भार गरेको प्रतिवेदनले देखाएको छ । नियम १६ मा मालसामान मर्मत गर्न र नयाँ सामान खरिद गरेकोमा पुराना पार्टपुर्जा तथा उपकरणको प्रतिस्थापन गरिएको कुरा सम्बन्धित प्राविधिकबाट प्रमाणित गराई पुराना सामान जिन्सी दाखिला गर्नुपर्ने व्यवस्था छ । सवारीसाधन मर्मत गर्दा सम्बन्धित प्राविधिकबाट मर्मत लागत अनुमान नबनाई आपूर्तिकर्ताबाट कोटेशनको आधारमा सवारी साधनको मर्मत गर्ने गरेको तथा एउटै फर्मबाट पटक–पटक गरी खर्च गरेको प्रतिवेदनले देखाएको छ ।
नगरपालिकाले विद्यालयको अनुगमन नै नगरेको महालेखाको प्रतिवेदनले देखाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (ज) अनुसार सम्बन्धित स्थानीय सामुदायिक विद्यालयहरूको शैक्षिक स्थितिको नियमित अनुगमन गरी एक प्रतिवेदन शिक्षा तथा मानवस्रोत केन्द्रमा पठाउनु पर्ने व्यवस्था रहेको छ । प्रतिवेदन कार्यान्वयन गरी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने व्यवस्था छ । तर, धरान नगरले आ.व.२०७८/०७९ मा विद्यालयको शैक्षिक गुणस्तर अनुगमन गरेको प्रतिवेदन नभएको महालेखाले उल्लेख गरेको छ । धरानमा कुल शिक्षकको १३ प्रतिशत करारका शिक्षक रहेका छन् । धरानमा कुल ४ सय ४२ शिक्षक दरबन्दीमा ५६ जना करारमा रहेका छन् ।
विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी भएकोबाट कम भएको विद्यालयमा शिक्षक दरबन्दी मिलान र न्यून विद्यार्थी भएका विद्यालयहरूलाई सम्भाव्यताका आधारमा ‘मर्ज’ गर्नु पर्दछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (१०) मा महाशाखा तथा शाखाको दरबन्दी संरचना कायम गर्नुपर्ने प्रावधान रहेको छ । नगरमा शाखा स्थापना गरे पनि दरबन्दी मिलानको काम भने गर्न सकेको छैन । नगरले पाठ्यपुस्तक अनुदानमा १ लाख १३ हजार ५ सय ८२ बढी निकासा गरेकाले सङ्घीय सञ्चितकोषमा दाखिला गर्नुपर्ने भएको छ ।
यस्तै कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८/०७९ को क्रियाकलाप २,७.१३.१४ को बुँदा नं. ११ मा अपाङ्गता भएका विद्यार्थीको सिकाइका लागि विशेष सहयोग अन्तर्गत फरक क्षमता भएका बालबालिकाका लागि अतिरिक्त थप कक्षा सञ्चालन, गृहकार्य परियोजना, विकास भएका विद्युतीय पाठ्य सामग्रीको प्रयोगलगायतका कार्यमा खर्च गर्न प्रतिविद्यार्थी १५ रुपैयाँका दरले विद्यालय सञ्चालन भएको दिनलाई आधार मानी एकमुष्ठ विद्यालयलाई अनुदान दिने व्यवस्था छ ।
धरानका पूर्वाञ्चाल बहिरा विद्यालय धरान–१६, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान–१५ र सुस्त मनस्थिति बाल कल्याण विद्यालय धरान–१६ लाई ४९ लाख ५० हजार भुक्तानी गरेको प्रमाण पेश नगरे असुल गर्नुपर्ने देखाएको छ । प्राविधिक धार सञ्चालन गरेका पब्लिक हाईस्कुलको १९ लाख ९५ हजार र शिक्षा निकेतन माविले २८ लाख ८० हजार गरी कुल ४८ लाख ७५ हजार रुपैयाँको प्रमाण पेश नगरेमा असुलउपर गर्नुपर्ने प्रतिवेदनले देखाएको छ । शिक्षक नै नियुक्त नगरी भुक्तानी गरेको रकम सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
हिमाली मावि धरान–५ का अमन पाठकलाई ७२ हजार र पञ्चकन्या मावि धरान–१७ की ममता राईलाई ५४ हजार गरी १ लाख २६ हजार निकासा गरेकाले सञ्चित कोषमा दाखिला गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । भौतिक संरचना निर्माणमा पिण्डेश्वर संस्कृत मा.वि. र ज्ञानोदय मा.वि.को सम्झौताअनुसार प्रमाण परीक्षण उपभोक्ता समितिले व्यहोर्नु पर्ने लागत सहभागिताको अंश नघटाई बाँकी रकम भुक्तानी दिएकाले बढी २ लाख ८३ हजार १ सय ४० रुपैयाँ सञ्चित कोषमा दाखिला गर्नुपर्ने उल्लेख गरेको छ ।