नेपालमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा करिब सय जनाको सङ्क्रमण पुष्टि भएको छ भने हाल देशमा सङ्क्रमितको सङ्ख्या चार सय हाराहारी पुगेको छ । दैनिक बढ्दो सङ्क्रमणले यो अझै फैलिने सङ्केत गरेको छ । त्यसैले बेलैमा सचेत भएर फैलिनबाट रोक्नु आवश्यक छ । सुरु मै समुदायस्तरबाटै सतर्कता अपनाउने हो भने धेरै हदसम्म आम नागरिकमा फैलिनबाट रोक्न सकिन्छ भन्ने विगतका घटनाक्रमबाट पनि प्रष्ट भइसकेको छ । तर पहिला जस्तै लापरबाही गरे वा ठूलो समस्या आइनपरेसम्म बेवास्ता गरिरहे धनजनको ठूलै क्षति हुन सक्छ । विगतबाट हामीले यही पाठ सिक्नु आवश्यक छ ।
कोरोना महामारीका कारण लामो समय विश्वबजार ठप्प बन्यो । लकडाउनका नाममा व्यापार–व्यवसाय बन्द गरेर नियन्त्रणको प्रयास गरियो । लकडाउन मात्र होइन, अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग लगायतका धेरै सावधानी अपनाउँदा समेत कोरोना महामारीका रुपमा विश्वभर फैलियो र धेरैको ज्यान लियो । संसारकै अर्थतन्त्र डामाडोल बनाइदियो । बेलैमा सचेतना अपनाएर काम गर्ने कतिपय देशहरूले कोरोनालाई समयमै रोकथाम गर्न सके, ढिलो गर्नेले धेरै नागरिकको ज्यान गुमाए भने अर्थतन्त्र ध्वस्त बन्यो । नेपालमा पनि कोरोना महामारीले मानवीय र आर्थिक रूपमा ठूलो क्षति ग¥यो । त्यसैबेलादेखिको नेपालको अर्थतन्त्रसङ्कटमा परेको छ । कोरोना महामारीका कारण ठप्प भएको बजारको कारोबारले अहिलेसम्म गति लिन सकेको छैन । अहिले देशको प्रमुख चिन्ता अर्थतन्त्र कसरी सबल बनाउने भन्नेछ । कोरोनाको यो असर अझै कतिसमयसम्म रहन्छ भन्ने टुङ्गो छैन । यस्तो अवस्थामा फेरि कोरोना सङ्क्रमण बढ्न थालेकाले नागरिक तहबाटै सतर्कता अपनाउनु जरुरी देखिन्छ । नागरिकहरू सचेत हुने हो भने सरकारले सहजै यस्ता समस्या समाधान गर्न सक्छ । यस्ता समस्या समाधान गर्नका लागि नागरिक र सरकारबीच हातेमालो हुनु आवश्यक छ ।
कोरोना महामारीबाट तङ्ग्रिन नसकिरहेको व्यापार–व्यवसायलाई सहयोग पुग्ने नीति निर्माणमा जोडदिनुको साटो सरकार आफ्नै राजनीतिक जोड घटाउमा व्यस्त छ । कोरोना महामारी सकिएपछि तीनै तहका सरकारका निर्वाचन भएर सरकार गठन भइसके पनि आम नागरिकमा आशा जगाउन सकेको छैन । नागरिकमा चरम निराशा छाउँदा लामो सङ्घर्षपछि प्राप्त लोकतन्त्र समेत खतरामा पर्ने सम्भावना बढेको छ । राजनीतिक दल र तिनका नेताहरूको व्यक्तिवादी चरित्र र नागरिकका समस्याप्रति गरिएको बेवास्ताले सर्वत्र निराशा छाएको छ । देशको युवा शक्ति विदेशमा रगत पसिना बगाएर देशमा रेमिट्यान्स पठाइरहेको छ, स्वदेशमै केही गर्न चाहने युवा चौतर्फी असहयोग भोगेर पीडित छ । यहि पीडाले कतिले आत्महत्या गरिरहेका छन् भने कतिले बहुदलीय व्यवस्थाप्रति नै असन्तुष्टि जनाउन थालेका छन् । नेताहरू भने सरकार बनाउने र ढाल्ने, आफ्ना मान्छे भर्ती गर्ने धन्दामा व्यस्त छन् । देशका व्यापारी–व्यवसायीहरू बैङ्कको ऋण तिर्न नसकेर समस्यामा छन्, सरकार डुब्न लागेका व्यवसायीलाई उकास्नभन्दा झनै डुबाउने नीति ल्याउन उद्यत छ । यस्तो बेला बैङ्कको ब्याजदर घटाएर व्यवसायीलाई सहज वातावरण बनाउनुको साटो बैङ्कहरूकै फाइदामा निर्णय गरेर निराशा बढाइरहेको छ । यस्तो अवस्थामा फेरि पहिला जसरी नै कोरोना महामारी फैलिए के होला ? सरकारले यतातिर सोच्न ढिला गर्नु हुँदैन । कोरोना फैलिनु अगाडि नै सबै तहसँग समन्वय गरेर नियन्त्रण गर्नुपर्छ ।