धरान । वाईवाई एसईई सिङ्गिङ आइडल र डान्सिङ स्टारको पहिलो अडिसन धरानमा सम्पन्न भएको छ । अडिसनबाट ८६ जना प्रतियोगी पहिलो चरणमा छनौट भएको आयोजक एफटीएल अनलाइन टिभीले जनाएको छ ।

सिङ्गिङको यो तेस्रो सिजन हो भने डान्सिङको दोस्रो सिजन हो । सिङ्गिङतर्फ ८७ जना सहभागीमध्ये ५२ जना अर्को राउन्डमा प्रवेश गरेका छन् । यस्तै डान्सिङमा ५८ जना सहभागीमध्ये ३४ जना छनोट भएका हुन् । भौतिक रूपमा उपस्थित हुन नसक्ने तथा टाढाका प्रतियोगीलाई डिजिटल अडिसनको व्यवस्था गरिएको फक्ताङ्लुङ मिडिया प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । सोही प्रालिले अनलाइन टिभी सञ्चालन गरिरहेको छ ।

दोस्रो चरणको अडिसन वैशाख १६ गते हुने आयोजकले जनाएको छ । वैशाख १४ गतेसम्म डिजिटल अडिसन लिइने र १६ गते दोस्रो चरणको अडिसन युएन कलेज परिसरमा हुने अध्यक्ष तुम्बापोले जानकारी दिए । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विगतदेखि नै एसईई सिङ्गिङ र डान्सिङ आइडल गर्दै आएको कार्यक्रम निर्देशक रामबहादुर लिम्बूले जानकारी दिए । सिङ्गिङतर्फको निर्णायकमा गायक विकास लिम्बू, सङ्गीत गुरु विनायक राई, गायिका जमुना राई थिए । यस्तै डान्सिङतर्फ कोरियोग्राफर रेश्मा राई र एसईई डान्सिङ स्टार सिजन १ की बिजेता नुमा लिम्बू रहेकी थिइन् ।

दुवै प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित कक्षा १२ सम्म पढ्न पूर्ण छात्रवृत्ति पाउनेछन् । त्यस्तै फस्ट रनरअपले जनही नगद ३० हजार रुपैयाँसहित कक्षा १२ सम्म अध्ययन गर्दा ८० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरअपले जनही नगद २० हजार रुपैयाँसहित ७० प्रतिशत छात्रवृत्तिमा कक्षा १२ सम्म पढ्न पाउने आयोजकले जनाएको छ ।