जाडो मौसम सकिए लगत्तै गर्मी मौसम सुरुवात हुँदै गर्दा धरान, राजविराज, जनकपुरधाम, विराटनगर, धनकुटा लगायत ठाउँका बालबालिकामा झाडापखाला रोगको प्रकोप देखा परिरहेको छ ।

झाडापखाला रोग के हो ?
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सोभन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । झाडापखाला विषाणु, जीवाणु र परजीवीका कारणबाट लाग्न सक्छ ।

झाडापखाला रोगमा जल बियोजन;
 १) जलबियोजन नभएको ।
 २) केही जलबियोजन भएको ।
 ३) कडा जलबियोजन भएको ।

जलबियोजन नभएको र केही जलबियोजन भएको बालबालिका को आवश्यकता अनुसार खानेकुरा दिनुपर्छ । यदि खानेकुरा खाएन भने जलबियोजनलाई ठीक गर्नका लागि चिकित्सकको सल्लाहअनुसार आइवी फ्लूयड्स दिनुपर्छ ।

झाडापखाला कडा जलबियोजन
झाडापखालामा कडा जलबियोजनको अवस्थामा आलस्य, बेहोसीपन हुन्छ भने आँखाहरू गाडिएका र सुख्खा रहन्छन् भने आँशु हुँदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ, तरल पदार्थ पानी पिउन सकिँदैन । पेटको छालालाई तानेर छोड्दा निकै बिस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।

झाडापखालाको उपचार:
झाडापखालामा कडा जलवियोजन भएको अवस्था भए डाक्टर ले आइवी फ्लूयड्स दिन्छ । यसले गर्दा शरीरको पानी कमी हुनबाट रोक्छ । जुन बालबालिका डिहाइड्रेसनले गर्दा केही खानपिउन नसके त्यस्तालाई आइवी फ्लूयड्स चढाइने गरिन्छ । औषधि र इलेक्ट्रोलाइट्स हुन्छ । भाइरल सङ्क्रमण डायरियामा सङ्क्रमण निस्तेज पार्नका लागि परोबायोटिक्स दिन्छ । बैक्टेरियल सङ्क्रमणका लागि एन्टिबायोटिक दिइन्छ । इकोलाई सङ्क्रमण डायरियामा रोगीलाई एन्टिबायोटिक दिइन्छ । जिङ्क को चक्की १४ दिनका लागि दिने गर्नेछन् ।

झाडापखाला हुनबाट बच्न ध्यान दिनुपर्ने कुराहरूः
–हात धोएर मात्रै खाने, खुवाउने गर्नुपर्छ ।
–बच्चालाई सफा राख्नुपर्छ ।
–घरको वातावरण सफा राख्नुपर्छ ।
–झिँगा बसेको, बासी, नछोपेको खाने पिउने चीज नखाने ।
–पानी उमालेर मात्रै पिउनुपर्छ ।
–फलफूल राम्रोसँग पखालेर खानुपर्छ ।
–बासी, तारेको, भुटेको, पिरो, मसालेदार खानेकुरा तथा गहुँबाट बनेको खाद्य पदार्थ नखाने ।
–रोटा भाइरसविरूद्धको भ्याक्सिन लगाउनुपर्छ ।
–अगाडिदेखि नै काटेर राखेको प्रदूषित सलाद नखाने ।
–फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने ।
–अमिलो, आलु, भन्टा, कोबी, अचार नखाने ।
–बच्चा जन्मेको छ महिनासम्म आमाको दूध मात्र खुवाउने ।
–खान खानु वा खुवाउनु अघि साबुनपानीले राम्ररी हात धुने गर्नुपर्दछ ।
–सरसफाइमा परिवारका सबै सदस्यहरूले ध्यान दिनुपर्छ ।
–शौचालयको नियमित प्रयोग गर्ने बानी बसाल्नु पर्दछ ।
–बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान गराउनु पर्छ ।
–छ महिनामाथिको बच्चा भए जीवनजल, दालको रस, तरकारीको रस, गेडागुडी खुवाउनुपर्छ ।

रोटा भाइरसमा खोप:
नेपाल सरकारले रोटा भाइरसको सङ्क्रमणविरूद्ध ‘रोटा रिक्स’ नामक खोप बालबालिकालाई दिने गरेको छ । उक्त भ्याक्सिन बालबालिकालाई मुखबाट दुई थोपा खुवाउने गरिन्छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गत वर्षदेखि निःशुल्क रूपमा उक्त खोप वितरण गर्दै आइरहेको छ । खोप जन्मेको छ हप्ता र १० हप्ता गरी शिशुमा दुईपटक खुवाउने गरिन्छ । बालबालिकाहरूमा यो रोग लागेमा चाँडै नै डाक्टरकहाँ लैजानुपर्छ र सरसल्लाह लिनुपर्छ ।
(बालरोग विशेषज्ञ, उप–प्राध्यापक, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान)