पाँचथर । वरिपरि हिमाल, बीचमा खुल्ला चौर । चौरमा चरिरहेका रङ्गीबिरङ्गी चौरी अनि चिसो बतास । बिहानको दृश्य निकै लोभलाग्दो देखिन्थ्यो । चौँरी हेर्न पर्यटकको भीड जम्मा भएको थियो । कोही चौँरीसँग फोटो खिच्न ब्यस्त देखिन्थ्थे, त कोही चौँरीको दूधबाट बनेको परिकार चाख्दै थिए । यो दृश्य शनिबार पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाल भारत सिमावर्ती क्षेत्र चाररातेको हो ।

गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको छैटौँ चौरी महोत्सवमा आन्तरिक र बाह्य पर्यटकले मनोरञ्जन लिएका थिए । सोही महोत्सवमा चौँरीसँग फोटो खिच्दै गरेका भेटिए सन्दकपुर गाउँपालिका इलामका सनबहादुर राई । पहिलो पटक याक र चौँरी देख्दा उनी दङ्ग थिए । “चौँरी र याक कस्तो होला ? अनि चौँरीको दूधबाट बनेका परिकार कस्तो होलान् भन्ने लागेको थियो । तर आज हेर्न र परिकार खान पाइयो ज्याँदै खुसी लागेको छ’’–हर्षित मुद्रामा राईले सुनाए ।

पर्यटकलाई सन्तुष्टि दिन सकेकोमा फालेलुङ–४ का चौँरी पालक कृषक छेदुलाल गुरुङ पनि खुसी देखिन्थे । अन्य समयमा बजारको अभाव भोग्दै आएका उनलाई महोत्सवका दिन चौँरीको दूधबाट बनेका खिर, छुर्पी, घिउ र चिजहरू बेच्न भ्याइनभ्याइ थियो । चौँरीको रौँबाट बनेका बस्त्र र टोपी बेच्न व्यस्त थिए । गुरुङ बेला बेला महोत्सवबाहेक अन्य समयमा बजारीकरणको अभाव झेल्दै आएको गुनासो पनि सुनाउँदै थिए । गाउँपालिकाले महोत्सव गरेर केही राहत दिए पनि सिमाक्षेत्रमा सुरक्षा, विद्युत् र सडक सञ्जाललाई प्रभावकारी बनाए हुन्थ्यो भन्दै थिए । “मैले एउटा गोठमा २५ चौँरी र याक पालेको छु । गाउँपालिकाले औषधि उपचार र घाँसको व्यवस्थापन गरेको छ’’ गुरुङ भने, ‘‘त्यतिले मात्रै पुग्दैन, हामीले उत्पादन गरेको वस्तुले बजार पाउनुपर्छ । विद्युत् र सिमाक्षेत्रमा सुरक्षा भए राम्रो हुन्थ्यो ।”

नेपाल–भारतको सीमावर्ती क्षेत्र चाररातेमा नयाँ वर्षको अवसरमा चौँरी महोत्सव गरिएको हो । समुद्र सतहबाट ३ हजार ४ सय मिटर उचाइमा छैटौँ चौँरी महोत्सव आयोजना भएको हो । चौँरी र याकको प्रदर्शनीसँगै चौँरी र भेडाजन्य उत्पादनका स्टलको अवलोकन गर्न पर्यटकको घुइँचो थियो । महोत्सवमा सहभागी भएका पर्यटकले चौँरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजको स्वाद लिएका थिए । महोत्सवमा चाँैरीका ७ प्रजाति प्रर्दशनमा राखिएका थिए । चौँरीको दूधबाट उत्पादन भएको छुर्पी, घिउ र चिजको नेपालसहित भारत र अमेरिकासम्म माग हुने गरेको छ । भारतको पश्चिम बङ्गाल र सिक्किमसँग सिमा जोडिएको सो क्षेत्रमा चौँरी संरक्षण र कृषक प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा तीन दशक अघि ३ हजार ५ सय चौँरी थिए ।

याङ्वरक र फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा पाइने चौँरी पालक कृषकको मोह घट्दा अहिले १ हजारको सङ्ख्या मात्रै चौँरी रहेको जिल्ला भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पाँचथरले जनाएको छ । गाउँपालिकाले चौँरी पालक कृषकको मोह घट्दै गएपछि चौँरी संरक्षण गर्न ६ वर्षदेखि महोत्सव अयोजना गर्दै आएको छ । गाउँपालिकाको तीनसिमना, चारराते, फालोट र सन्दकपुर क्षेत्रमा चौरी पाल्ने गरिएको छ । चौँरीको संरक्षण र बजारीकरणसँगै आफ्नो उपस्थिति बलियो बनाएको फालेलुङ गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । चौरीको संरक्षण गर्न बजेट विनियोजन गरी घाँस, औषधि र उपचारको व्यवस्थापन गर्दै आएको उनको भनाइ थियो ।