सुनसरी । सुनसरी जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा नेपाल भित्रिने विभिन्न समान सशस्त्र प्रहरीले बरामद गर्ने क्रम बढेको छ ।

पछिल्लो समय भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकको सङ्ख्या बढ्दो छ । केही घरायसी प्रयोजनका लागि सरसामान किनमेल गर्न भारतीय बजार जाने गरेका छन् भने धेरै ग्राहक बनेर व्यापारिक प्रयोजनका लागि जाने गरेका छन् । घरायसी किनमेल गर्न भारतीय बजार जाने ग्राहकलाई सीमामा तैनाथ सुरक्षाकर्मीले केही सहजता दिएको मौकाको फाइदा उठाएर व्यापारीहरुले भन्सार छलेर लाखौंको सामान नेपाल भित्र्याउने गरेका छन् ।

भारतीय बजारमा सस्तोमा किन्ने र नेपाली बजारमा महँगोमा बेच्ने उद्देश्यले व्यापारीहरूले विभिन्न समान तस्करी गराउँदै आएका छन् । यसैक्रममा सशस्त्र प्रहरीले गत माघ १६ गतेदेखि वैशाख ४ गतेसम्मको अवधिमा ५ करोड ३ लाख ८८ हजार ४४९ रुपैयाँ बराबरको विभिन्न समान भन्सार कार्यालय र राजस्व कार्यालय दाखिला गरेको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.४ गण सुनसरीका सूचना अधिकारी डिएसपी प्रेमप्रसाद सिग्देलका अनुसार जिल्लाका विभिन्न स्थानबाट खटिएको सशस्त्र प्रहरीको टोलीले माघ १६ गतेदेखि वैशाख ४ गतेसम्मको अवधिमा बिलबिजक नभएको ४ करोड २९ लाख ७३ हजार ४३१ रुपैयाँ बराबरको विभिन्न समानसहित सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ भने अवैध रूपमा ल्याइएको ७० लाख १० हजार २५८ रुपैयाँ बराबरको सामान सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाएको हो ।

यस्तै भारतीय बजारबाट चोरीपैठारी गरी ल्याइएको नेपालमा प्रतिबन्धित ४० लाख ४ हजार ७६० रुपैयाँ बराबरको विभिन्न सामान नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

एकैदिन ४९ लाखको सामान बरामद
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरी मातहतका कार्यालयबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सोमबार एकैदिन ४९ लाख बढीको सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोलीले सवारी साधन चेकजाच गर्ने क्रममा बिना बिलबिजकको अन्दाजी  ५ लाख ३१ हजार ८३० बराबरको सामान तथा सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुझाएको छ ।

बिलबिजक नभएको अन्दाजी ५ लाख ३१ हजार ८ सय ३० बराबरको सामानसहित ढुवानी गर्ने दुई वटा ट्रक, एक वटा मारुती भ्यान र एक वटा पिकअप गाडीको ३६ लाख ३१ हजार ८ सय ३० मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ८ हजार ७ सय रुपैयाँ मूल्य बराबरको लत्ताकपडा र दुई लाख बराबरको दुई वटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा बुझाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घुस्कीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको १ लाख, ३ हजार ७ सय ७५ रुपैयाँ मूल्य बराबरको मोटर पार्ट्स नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ । त्यसै गरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट अमडुवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ६९ हजार ३ सय रुपैयाँ बराबरको किराना तथा लत्ता कपडा बरामद गरी सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको जनाएको छ । जनशक्ति अपुग भए पनि सीमामा निगरानी तथा गस्ती बढाइएको हुँदा पछिल्लो समयमा अवैध सामानहरू बरामद हुने क्रम बढेको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण सुनसरीका प्रमुख एसपी लकेशकुमार तुम्बाफाम्फे बताउँछन् ।