माङसेवुङ । इलामको माङ्सेवुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्बाङले माङ्गसेवुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले प्रथम माङ्गमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको बताएका छन् ।
‘न्यायिक अनुगमन साथै समग्र गाउँपालिकाको विकासको सम्बन्धमा उपाध्यक्षसँग सञ्चारकर्मी विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले यस्तो बताएका हुन् । उनले माङ्गसेवुङ गाउँपालिका भित्र रहेका प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरूको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने उद्देश्यले पहिलो पटक ‘माङमालुङ कृषि, पर्यटन महोत्सव’ आयोजना गरिएको संचारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा स्पष्ट पारेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश समितिको पूर्ण बैठक सम्पन्न भएपछि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम बोल्दै उपाध्यक्ष नेम्वाङले भने–‘आफूहरू निर्वाचित भएर आएदेखि करिब १ वर्षको अवधिमा माङ्गसेवुङको चौतर्फी विकासको लागि जग बसाउने प्रयास गरिरहेका छौँ ।’ उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धिमा टेवा पुर्याउन माङ्गसेवुङ गाउँपालिका भित्र रहेको प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरूको व्यापक प्रचार गर्ने गरी महोत्सव आयोजना गरिएको स्पष्ट पारे ।
उनले माङ्गसेवुङ गाउँपालिका भित्र रहेको पर्यटकीय स्थलहरू माङ्गमालुङ, गजुरमुखी धाम, माङ्गसेवुङ लारुम्बा, खोत्रोक्पा, नावालुङ, चुक्चि नुम्वा (महागुरुको जन्म स्थान) अन्धा राजा, अन्धा रानी, तिन थुम्की भ्यु टावर, कुसुण्डाराजा कुसुण्डारानी लगायतका दर्जनौँ पर्यटकीय स्थलहरू मुख्य रहेको बताए । उनले विशेष गरेर माङ्गसेवुङ गाउँपालिका भित्रको प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलहरू मध्ये माङमालुङलाई विशेष धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न गाउँपालिका लागि परेको बताए । उपाध्यक्ष नेम्वाङ्गले भने–‘हामी पालिकाको तर्फबाट चाँडै माङमालुङ पर्यटन विकास समिति निर्माण गर्छौँ ।’
माङ्गसेवुङ गाउँपालिकाको मुख्य आम्दामीको स्रोत के रहेको छ भन्ने संञ्चारकर्मीहरुको प्रश्नमा उपाध्यक्ष नेम्वाङले भने– ढुङ्गा, गिटी, बालुवा र दुग्ध उत्पादन आम्दानीको मुख्य स्रोत रहेको छ ।’ माङ्गसेवुङमा दूधको बजार राम्रो रहेको बताउँदै उपाध्यक्ष नेम्वाङले थपे–दैनिक ५० हजार लिटर दूध उत्पादन पनि हुन्छ, खपत पनि हुन्छ ।’
उनले चालु आर्थिक वर्षमा गाउँपालिकाको विभिन्न वडामा ४० जना व्यावसायिक पशुपालन कृषकहरूलाई उन्नत जातको गाईको बाछी वितरण गर्ने कार्यक्रम रहेको बताएका छन् । उनले आगामी आर्थिक वर्ष देखि अमेरिका र होलेण्डमा पाइने उच्च प्रजातिका गाई र सेक्सरिच मेन वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिएका छन् । एउटा डोजको ६ हजार मूल्य पर्ने सेक्सरिच मेन उन्नत जातको गाईमा प्रयोग गर्दा ९८ प्रतिशत गाईको बाछी जन्मने ग्यारेन्टी हुने उपाध्यक्ष नेम्वाङले बताए ।
विकास योजनालाई प्रभावकारी बनाउन पालिकाले ६ वटै वडामा पालिका मार्फत अनुगमन गर्ने गरेको छ । नागरिकको जीवन स्तर कसरी सुधार्ने भन्ने विषयमा गाउँपालिका चिन्तित भएर लागेको उपाध्यक्ष नेम्वाङले बताएका छन् । उनले गाउँपालिका भित्र सञ्चालन भइरहेका योजनाहरूको ६ वटै वडामा प्रभावकारी ढङ्गले पालिकाले अनुगमन गर्ने गरेको बताए । अनुगमनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पालिकामा व्यापक छलफल हुने गरेको स्मरण गराउँदै उनले भने–‘योजनाहरू सबै भन्दा बढी सडक, कृषि र पशुपालनमा केन्द्रित रहेको छ र गाउँपालिकाको लगानी पनि सबै भन्दा बढी छ।’
वडा वडामा योजना अनुगमन गर्न जाँदा चुनाव आउँला नि भन्दै पख्लास् भनेर उल्टै पालिकावासीले धम्क्याउने गरेको उपाध्यक्ष नेम्वाङले गुनासो गरे । उनले अधिकांश योजनाहरू आर्थिक वर्ष सकिन लाग्दा जेठ असारमा आउने गरेकाले समयमा तोकिएको इष्टिमेट अनुसार काम पुरा नभएपछि विलोमा भुक्तानी दिने गरेको पनि सुनाए ।
आफू गाउँपालिकाको उपाध्यक्ष भएको नाताले न्यायिक समितिको पनि काम गरिरहेको अनुभव उनले सञ्चारकर्मीहरूलाई सुनाए । उनले भने माङ्गसेवुङ गाउँपालिकामा आफूहरू नेतृत्वमा आएको ११ महिनामा १० वटा मात्र उजुरी दर्ता भएको बताए ।
दर्ता भएका अधिकांश उजुरी न्यायिक समितिबाट फैसला भन्दा पनि मेलमिलापबाटै मिलापत्र गर्ने गरिएको छ । माङ्गसेवुङ महागुरु फाल्गुननन्दको जन्मथलो भएको र यहाँका नागरिकलाई शान्ति प्रतिको अपार आस्था र विश्वास रहेकाले पनि झैँ झगडा कम हुने दाबी उपाध्यक्ष नेम्वाङको छ । त्यही कारणले पनि गाउँपालिकामा रहेको न्यायिक समितिमा उजुरी कम पर्ने गरेको पुष्टि हुन्छ ।
उनले ११ महिनाको लामो अवधिमा किन त्यति मात्र उजुरी पर्यो त भन्ने पत्रकारहरूको प्रश्नमा उनले यो पालिकामा धार्मिक एवं सांस्कृतिक हिसाबले विभिन्न जातजातिका मानिसहरूको वाहुल्यता रहेको भन्दै एकले अर्काको धर्म,संस्कार संस्कृति प्रति सद्भाव राख्ने भएकोले झैँ झगडा न्यून हुने गरेको थप स्पष्ट पारे । साथै वडा र टोल स्तरसम्मै न्यायिक समितिको पहुँच रहेकोले पनि आफ्नो क्षेत्राधिकारभित्र रही सामान्य विवादका विषयहरू वडा स्तरमै मिलाइने गरेको उपाध्यक्ष नेम्वाङको भनाई छ ।
लिम्वु र राई वान्तावा भाषालाई आगामी वर्ष देखि सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउनेः माङ्गसेवुङ गाउँपालिकामा आगामी वर्ष देखि लिम्बु र राई वान्तावा भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने उपाध्यक्ष नेम्वाङले वताएका छन् । उनले भाषाको लगानीमा प्रदेश र संघीय सरकारले वजेट नदिए पनि स्थानिय सरकारको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने गरि लिम्वु र राई वान्तावा भाषालाई माङ्गसेवुङ गाउँपालिकाको ६ वटै वडामा लागु गर्ने बताए ।
माङ्गसेवुङ गाउँपालिकामा लिम्वु भाषी र राई वान्तवा भाषी नागरिक धेरै भएकाले २ वटा भाषालाई लागु गर्न लागिएको उपाध्यक्ष नेम्वाङले स्पष्ट पारेका छन् । उनले अघिल्लो वर्षहरुमा भाषाको क्षेत्रमा गरिएको लगानी पालिकाको नाममा वेरुजु रहेको पनि सुजाएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिको अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न ‘न्यायिक अनुगमन साथै समग्र गाउँपालिकाको विकासको सम्वन्धमा उपाध्यक्षसंग सञ्चारकर्मी विषयक अन्तरक्रिया’ कार्यक्रममा फोनिज संघिय समितिका उपाध्यक्ष कमन देवान, महासचिव मिलन लिम्वु, संघिय समितिका पुर्व सल्लाहकार संजय सन्तोषी राई लगायतले समुदायको वाहुल्यतालाई हेरेर संविधानमा व्यवस्था भए अनुसार स्थानीय सरकारले विशेष, स्वयत्त र संरक्षित क्षेत्रहरुको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन महासचिव सुशन रुङ्गमाहाङ राईले गरेका थिए ।