भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले ३८ जना करार शिक्षकलाई सेवाबाट निष्कासन गरेको छ । गाउँपालिकाको गत पुस २२ गतेको बैठकले गरेको निर्णय अनुुसार कार्यान्वयन गरेको हो ।

उनीहरुलाइ मङ्गलबारबाट विद्यालयमा हाजिर हुन नदिनेगरी सामूहिक रुपमा निष्कासन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले सोमबार सूचना जारी गरी विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत गाउँपालिका अनुदानका निजी शिक्षक , मावि कम्प्युटर शिक्षक , अनुदान शिक्षक तथा बाल शिक्षक एवं करार शिक्षकहरुलाई कामबाट निष्कासन गरेको जनाएको छ । 

निष्कासित हुनेहरुमा हरिशंकर गणेश , निमसरी राजवंशी , शिवनारायण राजवंशी , कैलाशकुमार राजवंशी , ममता सिंह , दिलिपप्रसाद राजवंशी ,ममता राजवंशी , शर्मिला कुमारी राजवंशी , राजु हलवाई , गुलाब हुसेन , तुलसा ढुङ्गेल , नविन खनाल , प्रमिला राजवंशी , कमला भट्टराई , दिलिप किस्कू , ललिता माली, सरस्वती राजवंशी , सावित्रा खनाल , सन्ध्यादेवी भण्डारी , अर्चनाकुमारी यादव , लोपनारायण राजवंशी , रेश्मा खातुन , श्रवणकुमार गणेश , आदित्य राजवंशी , सरस्वती सेलिङ, पवित्राकुमारी राजवंशी , पुजाकुमारी राजवंशी , नुसरत कमर , दरवारु राजवंशी , दिपक हल्वाई ,मनकुमारी दाहाल,अनिता गणेश , पुजाकुमारी गणेश , निलिमा राजवंशी , दिपा ढकाल , ललिता राजवंशी , मंगलु राजवंशी र राखिटा गणेश रहेका छन् । विना जानकारी सेवाबाट निकालिएको पत्र सामाजिक सञ्जालमा देखेपछि मात्र थाहा पाएको लक्ष्मी माविकी नीजि शिक्षिका तुलसा ढुङ्गेलले बताइन् । ७७ माघ देखि अध्यापन गराउँदै आएको शिक्षिकालाइ विना जानकारी हटाइनु दुःखद भएको उनको भनाइ छ । गाउँपालिकाले मन परेका मान्छेलाइ भने यथावत राखेको उनको आरोप छ । 

अघिल्लो गाउँपालिका अध्यक्ष अन्जरा आलमको कार्यकालमा नियुक्त भएका अधिकांशले शिक्षण अनुमतिपत्र नलिएको जनाइएको छ । त्यस्तै योग्यता नपुगेको पनि जनाइएको छ । यसअघि गत वर्ष कचनकवल गाउँपालिका कार्यालयले ११ जना करार कर्मचारीलाई समेत निष्कासन गरेको थियो । 

उहाँहरुको योग्यता र शिक्षण अनुमति पत्र नभएका कारण कार्यपालिकाको निर्णयले हटाएको शिक्षा शाखा प्रमुख मनिता बरालले बताइन् । रिक्त रहेका पदहरुको विषयमा मङ्लबार कार्यपालिकाको वैठकमा छलफल हुने उनले जानकारी दिइन् ।