वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू दलालको फन्दामा पर्ने गरेका घटना नयाँ होइनन् । देशमा रोजगारी नपाएपछि खाडी मुलुक जानेदेखि अमेरिका, युरोप जानेहरू समेत दलालबाट ठगिने गरेका छन् । राज्यले दलाललाई निरुत्साहित गरेर सहज तरिकाले वैदेशिक रोजगारीमा पठाउने नीति लिए पनि व्यवहारमा अहिले पनि सर्वसाधारण ठगिइरहेका छन् । दलालको फन्दामा परेका कयौँको आर्थिक नोक्सान मात्र भएको छैन, ज्यानसमेत गुमेको छ । कतिपय प्रतिबन्धित मुलुकमा अवैध रूपमा कामदार लैजाने दलालहरू सक्रिय छन् । यस्ता जोखिमपूर्ण मुलुकमा जानेहरूको ज्यान पनि जोखिममा पर्ने नै भयो । अवैधरूपमा विदेश जान खोज्दा पक्राउ पर्नेहरू पनि धेरै छन् ।

भारतको बाटो हुँदै ओमन हिँडेका चार महिला मुम्बईमा पक्राउ परेपछि उनीहरू दलालको फन्दामा परेर त्यहाँसम्म पुगेको खुलेको छ । नेपाल–भारतको खुला सीमाको फाइदा उठाउँदै दलालहरूले अवैधरूपमा विभिन्न देश पु¥याउने गरेका छन् । मुम्बईमा पक्राउ पर्ने चार महिलालाई पनि दलालले मासिक ४० हजार तलब हुने आशा देखाएको पाइएको छ । आर्थिकरूपमा कमजोर व्यक्तिहरूलाई प्रलोभन देखाएर दलालहरूले फन्दामा पार्ने गरेका छन् । नेपाल सरकारले भारत हुँदै तेस्रो देश जाने नेपाली नागरिकसँग ‘नो अब्जेक्सन लेटर’ अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । ती महिलाहरूसँग नो अब्जेक्सन लेटर मिति सकिएको थियो । त्यसैका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीहरूलाई दलालले नै हवाई टिकट काटेर मुम्बई पु¥याएका थिए । उनीहरूलाई लैजाने व्यक्ति भारतको नक्सलवाडीका प्रेम जैसवाल रहेको खुलेको छ । महिलाहरू पक्राउ परे पनि उनी भने पक्राउ परेका छैनन् । प्रहरीले उनी फरार रहेको जनाएको छ । दलालहरू उम्किरहने र पीडितहरूले सजाय पाउने गरेका यस्ता घटनाले न्यायकै अपमान गरिरहेको छ । त्यसकारण निर्दोष पीडित होइन, दलाल पक्राउ पर्नु र कारबाहीको दायरामा आउनु पर्छ ।

महिलाहरूलाई अवैधरूपमा भारत हुँदै विभिन्न देश पु¥याउने र मानव तस्करी गर्नेहरू सक्रिय बनिरहँदा सीमा क्षेत्रमा सतर्कता बढाउनु जरुरी छ । सीमा नाका क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू परिचालित हुन्छन् । त्यसबाहेक माइती नेपाल जस्ता संस्थाहरू समेत सक्रिय हुन्छन् । यत्तिको निगरानीबीच पनि सहजै महिलाहरूलाई अवैधरूपमा तेस्रो देश पठाउन दलालहरू सफल बनिरहनु चिन्ताको विषय हो । त्यसो त नेपाल–भारतबीचको खुला सिमाना विभिन्न उपभोग्य सामानदेखि मानव तस्करीसम्मका लागि सहज बनिरहेको छ । लामो क्षेत्र खुला सिमानाका रूपमा रहँदा दुवै देशतर्फका तस्करहरूले फाइदा उठाइरहेका छन् । प्रहरी प्रशासनले आवश्यक मात्रामा नियन्त्रण गर्न सकेको छैन । त्यसमाथि सीमा सुरक्षा र तस्करी रोक्नका लागि खटाइएका कतिपय प्रहरी र कर्मचारीहरू समेत यस्ता धन्दामा मिलेमतो गर्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । तस्करीका समान भेटिने तर तस्करी गर्ने मान्छे पक्राउ नपर्ने, पीडितहरू पक्राउ पर्ने तर, मुख्य तस्कर पक्राउ नपर्ने जस्ता घटनाले पनि मिलेमतोको छनक मिल्छ । आर्थिक फाइदाका लागि हुने गरेका यस्ता मिलेमतो पनि मानव तस्करीका लागि चुनौती बनेको छ । त्यसकारण पनि सीमा क्षेत्रमै कडा निगरानी गर्नसके भारतीय बाटो प्रयोग गरी तेस्रो मुलुक मानव तस्करी गर्न असहज हुन्छ । अनि धेरै मान्छे ठगिनबाट बच्छन्, कतिको ज्यानसमेत बच्छ । त्यसका लागि दलालहरू पहिचान गरेर कारबाहीको गति बढाउनु पर्छ । त्यस्तै सीमा क्षेत्रमा निगरानी गर्नेहरूकै निगरानी हुनु आवश्यक छ भने आम नागरिकमा पनि सचेतना जगाउनु जरुरी छ ।