विजयपुर । धरान–८ स्थित सहिद स्मृति माविको माध्यमिक तहमा कम्प्युटर इन्जिनियरिङ अध्यापन हुने भएको छ । शैक्षिक सत्र २०८० देखि कक्षा ९ बाट कम्प्युटर इन्जिनियरिङ अध्यापन सुरु भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वीकृति दिएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा ९ मा भर्ना खुलेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिए । उनका अनुसार स्कुलमा ४८ जनाले भर्ना पाउनेछन्  । वैशाख ६ गते (आज) आवेदन फाराम पनि खुलेको छ ।

धरानमा माध्यमिक तहमा पहिलो पटक कम्प्युटर इन्जिनियरिङ अध्यापन सुरु भएको उनले बताए । प्रवेश परीक्षा वैशाख १६ गते हुने विद्यालयका सूचना अधिकारी राजन वनले बताए । उनका अनुसार विद्यालयमा सुविधासम्पन्न दुईवटा ल्याव रहेका छन् ।

एसओएस हर्मन माइनर माविमा कम्प्युटर इन्जिरिनयरिङ पढाइ हुने
विजयपुर । एसओएस हर्मन माइनर माविमा कम्प्युटर इन्जिनियरिङ कक्षा सुरु हुने भएको छ ।

इटहरी उपमहानगरसँगको सहकार्यमा कक्षा ९ मा प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ कक्षा सुरु हुने भएको हो । विद्यालयमा भर्नाका लागि आवेदन फाराम खुल्ला गरेको छ । विद्यालयमा ४८ जनाको सिट रहेको छ । ४८ जनामा २५ प्रतिशत लक्षित वर्गले छात्रवृत्ति पाउने विद्यालयले जनाएको छ ।

हर्मन एसओएस बालग्राम नेपालद्वारा सञ्चालित विद्यालय हो । पारिवारिक संरक्षणबाट बञ्चित हुने अवस्थामा रहेका बालबालिकाहरूलाई विगत ५१ वर्षदेखि बालग्रामले सेवा प्रदान गर्दै आइरहेको छ । यस संस्थाद्वारा १० बालग्रामसहित ४४ परियोजना देशभर सञ्चालित रहेका छन् । एसओएस हर्मन माइनर माध्यमिक विद्यालय इटहरीले हालसम्म २४ वटा एसईई ब्याच उत्पादन गरिसकेको छ ।