धरान । धरान–५ स्थित डीपी बिलिभर्स इङ्लिस स्कुलमा दुई दिने शिक्षक कार्यशाला सम्पन्न भएको छ ।
स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवाका अनुसार ३८ जना शिक्षकहरू कार्यशालामा सहभागी थिए । कार्यशालामा बाल मनोविज्ञान र शिक्षाशास्त्र, विषयगत दृष्टिकोण सिकाइ पद्दति, सहकर्मी शिक्षण, मन्टेश्वरी शिक्षण विधिहरू, आत्मरक्षाको आधारभूत शारीरिक संरक्षण तालिम दिएका थिए ।
तालिम स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवा, एप्पल मन्टेश्वरी अलिमेन्टरी स्कुल धरानका संस्थापक प्रिन्सिपल जुली सुब्बा र राष्ट्रिय प्रशिक्षक रोसनी राईले सहजीकरण गरेका थिए ।
शिक्षकहरूको व्यावसायिक तथा शिक्षण पेशामा निरन्तर विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रधानाध्यापक बान्तवाले बताए । कार्यक्रमका प्रमुख अतिथि धरान–१५ स्थित हेबिस्कस इङ्लिस बोर्डिङ स्कुलका निर्देशक गङ्गाराम राई रहेका थिए । कार्यक्रममा सहभागी शिक्षकहरूलाई प्रमाण–पत्र पनि वितरण गरिएको थियो ।