देशभर अत्यधिक गर्मी बढेको छ । जलवायु परिवर्तन र विभिन्न कारणले बर्सेनि तापक्रम बढ्दो छ । यो मौसम मानव स्वास्थ्यदेखि पर्यावरणमा समेत सतर्कता अपनाउनु पर्ने समय हो । लामो समय वर्षा नहुँदा र तापक्रम बढिरहँदा तराईका कतिपय ठाउँमा ‘लु’ लाग्ने गरेको छ भने तराई, भित्रीमधेस र पहाडी क्षेत्रमा वन डढेलो फैलिएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कअनुसार बुधबार मात्र देशभर एकैदिन १७ जिल्लाका तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । डढेलो फैलिँदा एकातिर वनमा रहेका रुख बिरुवा, चरा चुरुङ्गी, जीव जनावार नष्ट भइरहेका हुन्छन् भने अर्कातिर त्यसबाट निस्किएको धुवाँ वायुमण्डलमा फैलिँदा वायु प्रदूषण बढिरहेको छ । वायु प्रदूषणको असर मानव स्वास्थ्यमा पर्ने विज्ञहरूले बताइरहेका छन् । डढेलो लाग्न नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ ।

वनमा डढेलो लाग्ने प्रमुख कारण मान्छेकै लापरबाही हो । कतिपयले वनमा सुर्ती, चुरोट खाएर फ्याँक्दा वा वनभोज र विभिन्न कार्यका लागि आगो बाल्दा डढेलो लाग्ने गरेको छ भने कतिपयले वन्यजन्तु शिकारका क्रममा पनि आगो लगाउने गरेका घटना सार्वजनिक हुने गरेका छन् । कतिपय ठाउँमा स्थानीयले राम्रो घाँस पलाउने भन्दै जानाजान आगो लगाउने गरेको पनि पाइन्छ । वन विभागको अध्ययनले वनमा लाग्ने डढेलोमध्ये ६४ प्रतिशत मान्छेले जानाजान लगाउने गरेको पाइन्छ । त्यस्तै लापरबाही र दुर्घटनाबाट ३२ प्रतिशत र अज्ञात कारकबाट चार प्रतिशतवन डढेलो लाग्ने गरेको विभागको तथ्याङ्क छ । जे जसरी लगाए पनि वनमा आगो लगाउनु अपराध हो । वन डढेलोले समग्र पर्यावरणमा नकारात्मक असर पर्छ र त्यसको दुष्परिणाम मान्छेले भोग्नु पर्छ । डढेलो फैलिँंदै मानव बस्तीमा पसेर सखाप पारेका घटना पनि छन् । सन् २००५ देखि सन् २०२१ सम्म वन डढेलोको घटनामा परी एक सय १६ जनाले ज्यान गुमाएका थिए । त्यसकारण पनि वन डढेलोलाई सामान्य रूपमा लिनु हुँदैन । यस्तो कार्य गर्नेलाई निरुत्साहित गर्नु आवश्यक छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००८ देखि सन् २०२१ सम्म नेपालमा वन डढेलोका ३४ हजार सात सय २५ घटना भएका छन् । जसमध्ये सन् २०१६ मा सबैभन्दा बढी सात हजार सात सय ६७ र सन् २०१५ मा सबैभन्दा कम सात सय छ वटा घटना भएका थिए । यस्ता घटनामा जैविक विविधतामा कति ठूलो असर प¥यो ? भन्ने आँकलन गर्नसमेत मुस्किल छ । कयौं महŒवपूर्ण वनस्पतिहरू, जीव जनावारहरू, जडिबुटीहरू डढेलोकै कारण लोप भएका होलान् । मान्छेका लागि महŒवपूर्ण यस्ता कुरा लोप हुनु भनेको मानिसको जीवनशैलीमा असर पर्नु हो । पृथ्वीको पर्यावरणीय चक्र र जीव जनावारको जीवन चक्रमा अप्ठ्यारो पर्नु हो । डढेलो नियन्त्रण गर्न त्यति सहज छैन तर, यो मूलतः मानवीय क्रियाकलापकै कारण हुने भएकाले सतर्कता अपनाउने हो भने धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । त्यसका लागि देशभरका सामुदायिक वनहरू र स्थानीय तहका वडातहबाट डढेलो लाग्न नदिने सचेतना विस्तार गर्ने र लागिहालेमा कसरी चाँडै नियन्त्रणमा लिने भन्ने तयारी हुनु आवश्यक छ । यसका लागि प्रदेश र सङ्घीय सरकारले पनि योजना बनाएर सहकार्य गर्नु आवश्यक छ ।