मोरङ । विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ । वैशाख १५ गतेबाट व्यवस्थित गरिने भएको हो ।

पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्लारूपमा पशुपंक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । सोहीअनुरूप अब खुल्लारूपमा माछामासु बिक्री गर्न रोक लगाउने भएको हो । मानव स्वास्थ्यमा असर गर्नेसँगै बजारको सौन्दर्यीकरणमा पनि ह्रास आएकोले पनि व्यवस्थित गर्न लागिएको नगरप्रमुख नागेश कोइरालाले जानकारी दिए ।

प्रदेशको राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको प्रमुख कोइरालाले बताए । उनले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको सुनाए ।

महानगरले हाल सरसफाइ, फुटपाथ नियन्त्रण, कर सङ्कलन, नो पार्किङलगायतका अभियान जारी राखेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमाबाहेक पशुपंक्षी बध गर्न निषेध गरिएको बताए ।

विशेषगरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भूइँमा राखेर खुल्लारूपमा माछामासु बिक्री गर्ने गरिएको छ । ‘अबदेखि खुल्लारूपमा माछामासु बिक्री गर्न पाइने छैन’ कोइरालाले भने, ‘ऐनले नै अव्यवस्थित र खुल्लारूपमा पशुपंक्षीको बध गर्न र बिक्रीवितरण गर्न निषेध गरेको छ ।’

पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवका अनुसार सार्वजनिकरूपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्रीवितरणका साथै पशुपंक्षी बध गरेको पाइएमा कडा कारबाही गरिने यादवले बताए ।