धरान । कुनै बेला हिट फिल्म दिएका ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको उपचारको क्रममा बिहीबार निधन भएको छ ।

उनको वीर अस्पतालमा निधन भएको हो । उनले सयभन्दा बढी फिल्ममा ध्वनि प्राविधिकका रूपमा काम गरेका थिए । चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाका अनुसार उनलाई जन्डिस देखिएको थियो । श्रेष्ठलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो भने उनको श्वास–प्रश्वासमा समस्या देखिएको थियो ।

उनी तृष्णा, देउकी, प्रियसी, विद्रोह, वीर गणेशमानलगायत सयभन्दा बढी फिल्ममा ध्वनि प्राविधिक रहेका थिए । चार दशकदेखि नेपाली फिल्मी क्षेत्रमा रहेका उनको श्रीमती र छोरी छन् ।

डेढ महिनादेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई क्षेत्रपाटी चिकित्सालयमा उपचारका लागि भर्ना गरिएको भए पनि बुधबार मात्रै वीर अस्पतालमा थप उपचारका लागि लगिएको थियो ।