विराटनगर । मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ताला फोडेर चोरी गरेको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षको लागि जेल चलान भएका छन् ।
मोरङ अदालतका न्यायाधीश मोहन सुवदीको इजालशले चोरी आरोपमा पक्राउ परेका तीन जनालाई बिहीबार पुर्पक्षको लागि थुनामा राख्न र एक जनालाई धरौटिमा छोडन आदेश दिएका हुन् ।
पक्राउ परेका मोरङको ग्रामथान गाँउपालिका ५ का ४० वर्षीया दिलिप कुमार चौधरी, सोही ठाउँका २८ वर्षीया ईरज धामी र सर्लाही लालबन्दी नगरपालिका २ पुनरबास टोलका ३५ वर्षीया मिथुन पासवान पुर्पक्षको लागि थुनामा मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । चोरी आरोपमा पक्राउ परेका सर्लाही शईश्वरपुर नगरपालिका ५ नरेशखोर टोल बस्ने २६ वर्षीया मिथिलेश महत्तो २ लाख रुपैयाँ धरौटिमा छोडन अदालतले आदेश गरेको छ ।
चैत २ गते ग्रामथान गाँउपालिका २ झोराहाटमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ढोकाको ताला फोडी कोठा भित्र प्रबेश गरी फलामको सेफ बाकस (भल्ट) मा राखेको ७ लाख ७७ हजार १८ रुपैयाँ चोरी गरेको आरोपमा उनीहरु पक्राउ गरेका थिए । पक्राउ परेका चार जनालाई इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा पक्राउ गरेको थियो ।