जीवनको यात्रा अनन्त छ, कहाँ पुगेर टुङ्गिन्छ, थाहा छैन । तर, केही यस्ता यात्राहरु हुन्छन्, जसको गन्तव्य प्रष्ट हुन्छ । यात्रा भन्ने बित्तिकै म रोमाञ्चित हुन्छु । धेरै वर्षदेखि इलामको श्रीअन्तु जाने चाह थियो । तर, पूरा भएको थिएन । यसपटक दुई दिने यात्रा तय भएको थियो ।
फागुन ५, हाम्रो यात्राको पहिलो दिन । चार जना साथीहरु भेला भई जाने निधो गरेका थियौँ । बिहान ५ बजे सार्वजनिक बस चढेर श्रीअन्तुको लागि यात्रा तय ग¥यौँ । धरानदेखि बिर्तामोडसम्म र बिर्तामोडदेखि इलामसम्म गरी दुई पटक गाडी फेर्नुपर्ने रहेछ । धरानदेखि बिर्तामोडसम्म २९० गाडीभाडा रहेछ । सखारै हिँडेकाले निदाउँदै बिर्तामोड पुग्यौँ । गाडी भन्नेबित्तिकै मेरा आङ सिरिङ्ग हुन्छन् । गाडीमा अनौठो खालको नशा लाग्छ । तर, श्रीअन्तुको लामो पर्खाइका कारण पनि त्यो नशालाई जित्ने प्रयासमा थिएँ ।
इलामको सुदूरपूर्वी भेग सूर्योदय नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र श्रीअन्तु समुद्री सतहबाट करिब २ सय मिटर उचाइमा पर्छ । यो स्थान सूर्योदयको अवलोकनका लागि प्रसिद्ध छ । इलामको व्यावसायिक स्थान तथा नेपाल–भारतको एक पूर्वी नाका पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दूरीमा पर्दछ । वि.सं. २०४३ मा यसलाई ‘दीपेन्द्र शिखर’ भनी नामकरण गरिएको भए पनि पुरानै नाम श्रीअन्तु वा अन्तु डाँडा नामबाट नै यो डाँडा प्रसिद्ध छ ।
त्यो ठाउँमा पुग्ने अपेक्षा थियो । बिर्तामोड बसपार्कमा उत्रिएपछि अन्तु जाने गाडी कहाँ पाउँछ भन्ने ज्ञान थिएन । बस स्टेन्डमा धेरै स्कारपियोहरु गोटागन्तीमा इलाम, फिक्कलसम्म जाने रहेछन् । संयोगवश एउटा स्कारपियो फिक्कलसम्म जाने रहेछ । स्कारपियो खाली भएकाले केही समय लाग्ने देखियो अनि हामी खाजा खाने सोच्दै थियौँ, त्यही बेला एकजना बा आउनुभयो र खाजा खाने भए मेरो होटलमा खाजा मीठो छ भन्दै लानुभयो । दिदीले जिस्केर खाजा मीठो भएन भने पैसा दिँदैनौँ भनी व्यङ्ग्य गर्नुभयो । बाले पनि खाजा मीठो रहेनछ भने पैसा नदिनू भन्दै जिस्किनुभयो । हामी सबै गलल हाँस्दै होटलमा पस्यौँ । होटलकी आन्टीलाई के के खाजा पाउँछ भनेर सोध्दा थुक्पा, चना, सुख्खा रोटी पाउने भनिन् । हामीले चाहिँ पुरी तरकारी खाने निधो ग¥यौँ । आन्टीले हुन्छ भन्नुभयो ।
हामी गफमा भुल्यौँ । आन्टीले पुरी तारेको देखेर दिदीले भन्नुभयो, ‘यस्तो कालो पुरी कसले खान्छ ?’ आन्टीले कालो हैन, धेरै खारिएको हो भन्दै जवाफ फर्काउनुभयो । यस्तो झन् मीठो हुन्छ भन्दै जवाफ दिनुभयो । दिदीले ‘म त खाँदिन’ भन्नुभयो । अनि हामी एक–अर्कालाई हेराहेर गरेर हाँस्यौँ । हामीलाई केही क्षणमा पुरी तरकारी दिनुभयो । पुरी ४ वटा र तरकारी चाहिँ थोरै दिनु हुँदो रहेछ । दिदीले धेरै खारिएको पुरी खाँदिन भनेपछि एक–अर्काकहाँ साटियो । हामी तरकारी हेर्दै हाँस्यौँ र खाजा खाँदै थियौँ । त्यतिकैमा २ जना केटाहरु आए । उनीहरुले रोटी तरकारी मगाए । आन्टीले रोटी तरकारी दिनुभयो । उनीहरुलाई त ठूलो बटुकामा तरकारी दिइयो । हामीले सोच्यौँ, ‘सायद यहाँका बासिन्दालाई चाहिँ ठूलो बटुकोमा दिँदा होलान् । तर, एकैछिनपछि दुईमध्ये एकजनाले ‘तरकारीको त बटुका मात्रै ठूलो र’छ सब्जी त २ चम्चा मात्रै छ त आन्टी’ भनेर सोध्दा हाम्रो हाँसोको फोहोरा छुट्यो । हामीले खाजा खाँदै गर्दा गाडीका चालक आएर मान्छेहरु भयो छिटो गर्नुहोस् भन्नुभयो । हतार हतार खाजा खाई पैसा दिएर हामी फिक्कलसम्मको यात्रामा निस्कियौँ ।
बिर्तामोडदेखि फिक्कलसम्म स्कारपियोमा २ घण्टा ३० मिनेटजति लाग्ने रहेछ । बिर्तामोडको चारालीदेखि बाटो छुट्टिने रहेछ । यात्रा सुरू भएसँगै सुमधुर गीतहरु बज्दै थिए । प्रायःजसो सार्वजनिक गाडीहरुमा आ–आफ्नो ठाउँअनुसारका गीतहरु बजाउँछन् । पश्चिमतिरको बसमा पश्चिमेली भाकाका गीतहरु । पूर्वको आफ्नै गीत, कसैले हिन्दी मात्र, सार्वजनिक बसमा गीतहरु बजाउँदा मन पर्ने गीत आउँदा यात्रा गर्न खुब मजा आउने गीत सुन्दै रमाइलो दृश्य हेर्दै यात्रा गर्नुको छुट्टै मजा हुन्छ । त्यसमाथि रमाइलो गीत बज्दा त यसरी नै यात्रा गरिरहन मन लाग्ने । रमाइला दृश्यहरुको भिडियो मोबाइलमा कैद गर्दै आफ्नै गतिमा आफ्नो गन्तव्यतिर गाडी दगुर्दै थियो । अरूबेला मोबाइलमा प्रायःजसो हिन्दी, कहिलेकाहीँ अङ्ग्रेजी, नयाँ नेपाली गीतहरु सुन्ने बानी तर, गाडीमा भने पुराना नेपाली गीत सुन्दा मन आनन्द आउने ।
गाडीमा ‘उसको रुपको करौंतीले’, ‘चलेछ बतास सुस्तरी मनै हरर हो भरोसा छैन जीवनको बिताउँ हाँसेर’, गीतसँगै यात्रा अगाडि बढिरह्यो । आधा बाटोतिर पुग्दा हामीलाई गाडीमा नशा लाग्ने भएर हामी निदाउँदै उठ्दै मेची राजमार्ग हुँदै कन्याम पुग्यौँ । कन्याममा केही मानिसहरु ओर्लने थिए । त्यहाँ एकै छिन बसेर फेरि फिक्कलतिर लाग्यौँ, कन्यामबाट फिक्कल जान ३० मिनेट जति लाग्ने रहेछ । फिक्कल पुगेपछि गाडीका चालकले फिक्कलदेखि श्रीअन्तुसम्म जान फेरि अर्को गाडी चढ्नु पर्ने बताउनुभयो । गाडी फेर्नु परेकोले हामीलाई दिक्क लाग्यो । स्कारपियोका दाइले भोलि बिहान कन्यामदेखि बिर्तामोडसम्म जाने भए ‘कल’ गर्नू भनेर नम्बर दिनुभयो र हामीले नम्बर टिपेर राख्यौँ । त्यहाँबाट भेन श्रीअन्तु जाँदो रहेछ । श्रीअन्तुसम्म जान त्यहाँ धेरै भेनहरु पालो कुरिरहेका थिए । हामी ४ जना थियौँ, एक जना बाजे हुनुन्थ्यो, अगाडि २ जना र ड्राइभर दाइ गरी ८ जना थियौं । भेनमा मान्छेहरु पर्खेर सिट भरेर गोटामा फिक्कलदेखि श्रीअन्तुसम्म जाने धेरै भेनहरु थिए । हामीहरु चँै सिट भरिएर आफ्नो गन्तव्यतिर लाग्यौं । फिक्कलदेखि श्रीअन्तुसम्मको बाटो धरानदेखि भेडेटार जाँदाको घुमाउरो बाटोजस्तै रहेछ ।
श्रीअन्तुुुसम्म पुग्न १ घण्टा जति लाग्ने रहेछ । श्रीअन्तु पुगेपछि त्यहाँ पनि ड्राइभर दाइले नम्बर दिनुभयो, भोलि बिहान कन्यामसम्म जाने भए सम्पर्क गर्नू भन्नुभयो । हामी हुन्छ भनेर हामी श्रीअन्तुको पोखरी साइड छि¥यौँ । पहिला पनि गएकाले यसपालि चाहिँ श्रीअन्तुको पोखरी साइड बस्ने भनेर अगाडि नै कुरा गरेका थियौँ । त्यहाँ पुगेपछि हामी बेस क्याम्प ३६० कटेजमा बस्ने भयौं । त्यहाँ बस्ने रहर पहिला पनि थियो तर, पहिला धेरै भीड भएर ठाउँ नपाए पनि अहिले भने बस्न पाएकोमा सबैजना खुसी थियौँ । बिहानको ५ बजे धरानदेखि यात्रा गरेको ११ बजेतिर हामी श्रीअन्तु पुग्यौँ । हामीले रूमको कुरा ग¥यौँ, एउटा रूममा डबल बेड रहेछ । एउटै रूममा परिने भइयो भनेर खुसी भयोँ । हामीलाई भोक लाग्न थालिसकेको थियो । खाजामा थुक्पा र चाउमिन भन्यौँ । त्यहाँ खाजा, खाना रूमभित्र खान नपाउने नियम रहेछ । हामी फ्रेस भएर खाजा खायौं । त्यसपछि तयार भएर श्रीअन्तुको पोखरी साइड घुम्न जाने भनेर निस्कियौं । निस्किँदा त्यहाँको होटलमा लोभलाग्दा फूलहरु फुलेका देख्यौँ । त्यहाँबाट पोखरी हेर्दा मनमा आनन्द आउने त्यहाँको दृश्य यति राम्रो कि त्यहीँ बसिरहन मन लाग्ने खालको दृश्यावलोकन गर्न पाउँदा मन आनन्द भएको थियो । कहिलेकाहीँ यात्रा गर्दा धेरै रमाइलो साथै कामको थकान र मनको तनावबाट पनि छोटो समयको लागि भए पनि बिर्सिएर रमाउन पाउँदा मनमा शान्ति हुने रहेछ । हामी त्यहाँको दृश्य कैद गर्दै तस्बिर खिच्नमा व्यस्त हुन थाल्यौ ँ । १–२ वटा टिकटक बनाउन थाल्यौँ । तस्बिर खिच्नु फगत् तस्बिर मात्रै हैन, त्यो जीवनको यादगार वस्तु पनि हो ।
पोखरी वरिपरि घुम्दै गर्दा हामीले पानीपुरी र चट्पटे खायौँ । त्यसपछि बोटिङ खेलौँ भन्ने कुरा भयो । एक जना बराबर ५० रूपैयाँ लाग्ने रहेछ । बोटिङ खेल्दै हामीले फोटो तथा भिडियो खिच्यौँ । बोटिङ चलाउने चाहिँ म र साथी, दिदीहरु चाहिँ हामीलाई जिस्काउँदै हुनुहुन्थ्यो । दुवैले बोटिङ मज्जाले चलाउने रैछौ त भन्दै दिदीले जिस्काउनुभयो । तरहराको तालतलैयामा पनि बोटिङ चलाएका थियौँ नि भन्दै हाँस्यौँ । बोटिङबाट ओर्लिएपछि पैसा तिर्ने बेलामा दिदीले पैसा लिने दाइलाई एक जनाको छुट दिनु न भन्दै जिस्काउनुभयो । एक जना बच्चा हो भन्दै उल्टै दाइले जिस्काउँदै छुट दिनुभयो । हामी फेरि फोटो खिच्नतिर लाग्यौँ । नजिकै घोडा बाँधिएकाले घोडासँग पनि पोज दिई दिई फोटो खिच्यौँ । घोडाधनीले घोडामा चढेर फोटो खिच्नोस् भन्दै पोखरी एक राउन्ड लगाएको ३ सय र फोटो खिचेको ५० भनेपछि हामी नचढ्ने भयौँ ।
साथी र मचाहिँ जिस्किँदै यहाँ घोडामा निःशुल्क फोटो खिच्न पाइराख्या छौँ किन पैसा तिर्ने भन्दै हाँस्यौँ । त्यहाँबाट हामी रूममा आयौँ । रूममा कपडा फेरी केही क्षण आराम ग¥यौँ । फेरि नाइट ड्रेसमा फोटो खिचौँ न त भन्दै फोटो खिच्न थाल्यौँ । त्यहाँका कटेजहरुको डिजाइन नै यस्तो थियो कि मनै लोभ्याउने । हामी फेरि फोटो खिच्नमा मस्त भयौँ ।
क्रमशः