हरेक वर्षको वैशाख शुक्ल तृतीयाको दिन नेपालमा अक्षय तृतीया पर्व मनाइन्छ । अक्षय भनेको कहिल्यै क्षय नहुने वा सधैँ स्थायी रहने भन्ने बुझिन्छ । अक्षय तृतीयाको दिनमा गरिने पाठ, पूजा, यज्ञ, अनुष्ठान, जप, तप, दान, धर्मबाट धेरै मात्रामा पुण्य प्राप्ति हुने जनविश्वास छ । आजका दिन गरिने थोरै दान, धर्म, परोपकार आदिबाट पनि कहिल्यै क्षय नहुने अर्थात् अक्षय हुने पुण्य प्राप्ति हुनेछ भन्ने विश्वास गरिन्छ ।

आज बिहानै सूर्योदयभन्दा अघि उठिसकेपछि गङ्गामा वा नदी, तलाउमा नुहाउने गरिन्छ । गङ्गा नदीमा नुहाउन सम्भव नभएमा घरमै पनि नुहाउने गरिन्छ । आज जौको सातु खाने, खुवाउने गरिन्छ । त्यस्तैगरी मन्दिर, छरछिमेकी, बाटोमा हिँड्ने बटुवा आदिलाई सर्वत पिलाउने गरिन्छ । आजको दिन आ–आफ्नो धार्मिक मान्यताअनुसार लक्ष्मीनारायण, शिवपार्वती आदिको पूजाआजा गरिन्छ । आजैका दिन भगवान् शिव तथा हिमालय पुत्री पार्वतीको विवाह भएको मानिन्छ । महर्षि वेदव्यासले आजैका दिन महाभारतको रचना प्रारम्भ गरेको विश्वास गरिन्छ । भारतमा प्रसिद्घ चार धाम छन् । तीमध्ये बद्रिनाथको ढोका आजका दिन खोलिने परम्परा रहेको पाइन्छ ।

आजको दिन दान धर्म गर्नाले अक्षय हुने पुण्य प्राप्ति हुन्छ ।  आज गरिने दानबाट पितृ दोषबाट मुक्ति मिल्दछ । आज विशेषगरी आवश्यकता र प्रयोग गर्ने व्यक्तिहरूको आधारमा पङ्खा, छाता, जुत्ता, सातु, सर्वत, फलफूल, जलले भरिएको कलश तथा अशक्त वृद्घहरूलाई  लौरो आदि दान गर्ने गरिन्छ । आज चोखानितो भई ब्रत बस्नाले इच्छित फल पाइने जनविश्वास रहेको छ । रोहिणी नक्षत्रयुक्त अक्षय तृतीयाको दिन शुभ माङ्गलिक क्रियाकलापहरू गर्ने गरिन्छ । त्यसैले रोहिणी नक्षत्रयुक्त अक्षय तृतीयाको दिन विवाह गर्न, नयाँ घरमा सर्न तथा नयाँ पसल सुरु गर्न साइत हेर्न पर्दैन भनिएको छ । त्यस्तै आजको दिन आफ्नो इच्छा र आवश्यकताअनुसार नयाँ गरगहना, लत्ताकपडा, कुचो आदि किन्दा राम्रो हुने विश्वास आम मानिसमा रहेको पाइन्छ ।

हाम्रो देश नेपालमा विशेष दिन र समयमा विशेष किसिमका वस्तुहरूको सेवन तथा प्रयोग गर्ने प्रचलन रहेको छ । आजका दिनमा प्रयोग गरिने, दान गरिने सातु तथा सर्वतको वैज्ञानिक आधार पनि छ । समयअनुसार मौसम परिवर्तनशील छ । अहिले ह्वात्तै गर्मी बढेको छ । शरीरमा ऊर्जा, पानी, शीतलता र पौष्टिक तत्वको अभाव हुन सक्दछ । शुद्घ र सफा पानीमा थोरै मरिच र सख्खर पिसेर मिसाइएको स्वादिष्ट सर्वत, जौबाट बनेको सातुको सेवनबाट शरीरमा शीतलता प्राप्त हुन्छ । यसले भोक जगाउने, पेटको वायु दोष हटाउने, पाचन शक्ति बढाउनुका साथै बल वृद्घि गर्दछ । गर्मीको बेलामा सर्वतको सेवनबाट शरीरमा पानीको सन्तुलन कायम गर्न पनि मद्दत गर्दछ । यसरी सर्वत र सातुले शरीरलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ । यस स्तम्भकारको तर्फबाट समस्त पाठकवृन्दलाई अक्षय तृतीयाको हार्दिक शुभकामना ।