धरानमा खानेपानीको समस्या धेरै वर्षदेखि यथावत् छ । खानेपानीलाई मुद्दा बनाएर पटक–पटक आन्दोलन भए, विभिन्न राजनीति भए तर, खानेपानीको समस्या समाधान हुन सकेको छैन । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई मुख्यरूपमा खानेपानीकै मुद्दा लिएर चुनाव जित्न सफल भएका हुन् । उनी नगरप्रमुख बनेको एक वर्ष पुग्नलागेको छ । यो अवधिमा उनको प्रमुख काम नै धरानवासीलाई पर्याप्त पानी खुवाउने अभियान सञ्चालन गर्नमै केन्द्रित छ । एक वर्षभित्र उनले सर्दु, खर्दुबाहेक पकुवा खोलादेखि कोकाहा खोलासम्मबाट पानी ल्याउन श्रमदान अभियान चलाइरहेका छन् । वर्षायाममा उनले चलाएको अभियानबाट धरानमा खानेपानी अलि बढेको भए पनि सुख्खा मौसम सुरु भएपछि पकुवा र विभिन्न ठाउँबाट ल्याइएका पानीको स्रोत सुकेका छन् । त्यसकारण अहिले धरानमा पुनः खानेपानीको समस्या देखिएको छ ।
धरानका केही वडाहरूमा पानी आइरहे पनि धेरै वडाहरूमा पानी आउन छाडेको स्थानीयले बताएका छन् । हप्तौंदेखि धारामा पानी आउन छाडेपछि वडा कार्यालय र उपमहानगरपालिकामा ध्यानाकर्षण गराउनेहरूको सङ्ख्या बढ्दो छ । केही वडाहरूले त खानेपानी समस्या सहजीकरणका लागि भनेर समिति नै गठन गर्न थालेका छन् । यसबाट धरानमा खानेपानीको समस्या चरम् रूपमा बढिरहेको प्रष्ट हुन्छ । फागुन–चैत महिनादेखि नै धरानमा बर्सेनि पानीको हाहाकार हुने गरेको छ । खानेपानीका लागि भनेर लामो समय आन्दोलन गरेका व्यक्तिलाई नगरप्रमुखमा जिताउँदा धरानवासीले पानीको समस्या चाँडै समाधान हुने कल्पना गरेका थिए । यद्यपि यसपालि पनि पहिलाजस्तै पानीको समस्या भोग्नुपरेपछि कतिपयले ‘जो आए पनि उस्तै रहेछ’ भनेर सामाजिक सञ्जालमा निराशा व्यक्त गरिरहेका छन् । यसबाट नगरप्रमुख राई र अन्य सरोकारवालाहरूले पनि के बुझ्न जरुरी छ भने वर्षायाममा विभिन्न खोलाबाट पानी ल्याउँदैमा मात्र धरानको खानेपानी समस्याको दीर्घकालीन समाधान हुँदैन । यस्ता खुद्रे योजनाले तत्कालको समस्यासमेत समाधान गर्न नसक्ने देखिएकाले स्थायी स्रोतको खोजीमा लाग्नु आवश्यक छ ।
धरानको पानीको स्थायी स्रोत सप्तकोसीको पानी लिफ्टिङ गरेर ल्याउने वा सुरुङ मार्ग बनाएर तमोरको पानी ल्याउने भन्ने विषयमा बेला–बेला बहस हुने गरेको छ । यस्ता स्रोतको खोजी हचुवाका भरमा होइन, विज्ञहरूको अध्ययनमा आधारित हुनु आवश्यक छ । अहिले धरानमा अल्पकालीन रूपमा पानीको स्रोत खोज्ने कार्य हचुवाका भरमा भइरहेको छ । खानेपानी समस्याको समाधान हुन नसक्नुको एउटा कारण यो पनि हो । यसरी राम्रो अध्ययन विना कुनै पनि योजना सञ्चालन गरिँदा आर्थिक र श्रम लगानी भएअनुसार प्रतिफल प्राप्त हुँदैन । धरानको सन्दर्भमा खानेपानीको समस्या समाधान गर्न भनेर अर्बौं लगानी भएको छ तर, त्यत्रो लगानी हुँदा पनि किन धरानवासीले पहिले जसरी नै पानीको हाहाकार भोग्नु प¥यो ? एशियाली विकास बैङ्कसँग ऋण लिएर सुरु गरिएको खानेपानी आयोजना किन सफल हुन सकेन ? यस विषयमा पनि अनुसन्धान हुनु आवश्यक छ । धरानका नगरप्रमुख राईले आन्दोलनका क्रममा खानेपानी आयोजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउने गरेका थिए तर, अहिले उनी आफै नगर प्रमुख र खानेपानी बोर्डका अध्यक्ष भए पनि भ्रष्टाचारको अनुसन्धान गरेका छैनन् । धरानको खानेपानी समस्याको स्थायी समाधान खोज्नका लागि आयोजनाको अनुसन्धान पनि हुनु आवश्यक छ ।