परिचयः
मेरो जन्म इलामको पशुपतिनगर नगरपालिका अन्तर्गत अर्थेटहार भन्ने ठाउँमा वि.सं.२००४ साल माघ २४ गते भएको हो । मैले दार्जिलिङको पोखरेबोङ हाईस्कुलमा पढेँ । धरानको महेन्द्र कलेज, महेन्द्र मोरङ कलेज विराटनगर हुँदै त्रिचन्द्र कलेज काठमाडौंबाट अर्थशास्त्र र स्पेशल अङ्गे्रजी लिएर २०३४ सालमा बि.ए. गरेँ ।
फोहोरमैला व्यवस्थापनसम्बन्धी Institute of waste Management London मा पढेँ । विभिन्न तालिम, गोष्ठी र सेमिनारहरूमा भाग लिन जापान, क्यानाडा, अमेरिका, लण्डन, स्वीजरयाण्ड, दक्षिण कोरिया र क्युवा पुगेँ । २०५० सालदेखि व्यावसायिक रूपमा फोहोर व्यवस्थापन गर्नुपर्छ भनेर काठमाडौंको कोटेश्वरमा सुरु गरेँ । फोहोरमैला व्यवस्थापनको अन्तर्राष्ट्रिय छाता सङ्गठन ISWA International Solid Waste Association को १९९७ मा जेनेभामा व्यक्तिगत सदस्यता लिने नेपालको पहिलो व्यक्ति हुँ । त्यस्तै फोहोरमा काम गर्ने काठमाडौंका एनजीओहरूलाई समेटेर बनाइएको SWMA अर्थात् Solid Waste Management Association - Nepal त्यसको पहिलो अध्यक्ष बनेँ । काठमाडौंमा केही गर्न नसक्ने स्थिति भएपछि २०६८ सालमा बुटवल गएँ । त्यहाँ नगरको फोहोर व्यवस्थापन गर्ने काममा दुई वर्ष खटेँ । २०६९ सालमा इटहरी आएपछि २०७० सालदेखि इटहरीमा छु ।
इटहरी नगरपालिकामा २०७० सालदेखि फोहोरमैला व्यवस्थापनको काम सुरुवात भएको हो । जनप्रतिनिधि नभएको अवस्थामा युवा कार्यकारी अधिकृत गणेश कार्कीले आँट गरेर नगरको फोहोर व्यवस्थापनको काम प्राइभेट कम्पनीलाई दिनुभयो । यसरी सुरु भएको हो हाल इटहरी उप–महानगरपालिकाको फोहोरमैला व्यवस्थापनको इतिहास । यो लगभग दस वर्ष भयो ।
फोहोरमैला व्यवस्थापनको सबैभन्दा ठूलो समस्या घर, टोल र सडकबाट उठाएको फोहोर कहाँ लगेर के गर्ने ? देशमै फोहोरमैलाको व्यवस्थापन हुन नसकेको स्थितिमा यो एउटा ठूलो समस्या छ । साथै फोहोरमैला व्यवस्थापनप्रति कोही गम्भीर छैन, यो देशमा । इटहरी नगरपलिकाले इटहरीनजिकै रिजालको जग्गामा एउटा पोखरी पुर्नको लागि फोहोर फाल्ने गरेको थियोे । जब त्यो पोखरी भरियो रिजालले त्यहाँ फोहोर फाल्न बन्द गरे । फोहोर फाल्ने ठाउँको समस्या उत्पन्न भएपछि सम्पूर्ण फोहोरमैला व्यस्थापनमा नै तनावको स्थिति सिर्जना हुन्छ ।
कम्पनी आफैले खाल्डाखुल्डी खोज्दै फोहोर फाल्ने ग¥यो । फोहोरलाई छानेर पुनः प्रयोगका सामानहरू बिक्री गर्ने र सड्ने गल्नेबाट प्राङ्गारिक मल बनाउने सोच भए पनि ठाउँको अभावमा कार्यान्वयन गर्न सकिएन । फोहोर फाल्ने ठाउँको खोजीमा पूरा समय लगाउनु प¥यो । फोहोर व्यवस्थापन कसरी गर्नेसम्बन्धी जापान, अमेरिका, क्यानाडा, लण्डनमा सिकेको सीप यहाँ काम लागेन । समय बित्दै गयो । नगरपालिकाकाले तोकिदिएको शुल्क एकतले घरको रु. १००÷ (पसलको रु. १००÷) सबैले तिर्न सहज रूपमा स्वीकार गरेनन् । यो हाम्रो संस्कारमा नभएको नौलो विषय थियो ।
नगरपालिकाले पनि प्राइभेट कम्पनीलाई नगरको फोहोरमैला व्यवस्थापन गर्न दिँदा नगर र नगरवासीलाई के फाइदा हुन्छ या छ भन्नेबारे केही बताएन । आठौं महिनासम्ममा पनि फोहोर उठाएबापत शुल्क उठाउन सकिएन । उल्टै टोल विकास संस्थाहरू पैसा नतिर्न ऐक्यबद्ध भएर इटहरी–४ बगैँचा टोल विकासको अगुवाइमा ३९ वटै टोल विकास संस्थाहरूले शुल्क नतिर्ने निर्णय गरे ।
नगरका सफाइ कर्मचारीहरू पनि कम्पनीलाई जिम्मा लगाएका थिए । ती सबै माओवादी थिए । उनीहरू इन्भारो केयर कम्पनी खारेज गर्नुपर्छ भनेर आन्दोलनमा उत्रिए । त्यसैताका कार्यकारी अधिकृत पशुपति खतिवडाले टोल विकासका अध्यक्षहरूलाई सम्झाएर मासिक शुल्क रु. ६०/– तिर्न राजी गराए र ती माओवादी कर्मचारीहरू नगरपालिकामा फिर्ता लिए ।
जुट विकास टोल अध्यक्षले मन्दिर बनाउने जग्गा फराकिलो बनाउने उद्देश्यले फोहोर फाल्ने ठाउँ उपलब्ध गराइदिए । तर, पारिपट्टि बूढीखापका बासिन्दाहरू घरमा झिँगा आयो भनेर विरोधमा उत्रिए । तलबाट पर्खाल लगाउँछौं, तपार्इंहरूलाई असर पर्दैन भनेर सम्झाउने क्रममा एक जना बूढीआमैले मेरो गालामा मज्जाले एक चड्कन हान्नुभयो ।
त्यसपछि २०७३ सालदेखि सेउतीको पुलमुनिको जङ्गलमा फोहोर फाल्न सुरु गरियो । त्यहाँ फेरि वडा नं. १९ भवानीपुर र वरहमपुरका बासिन्दाहरूबाट विरोध सुरु भयो । जङ्गलमा आगो लगाइदिन थाले । भवानीपुरका बासिन्दाको विभिन्न माग हुन थाल्यो । त्यहाँ नगरपालिकाले र कुखरा पाल्ने फार्महरूले फालेको फोहोरहरू सबै पुरिदिनुपर्ने भयो । प्रतिघण्टा रु.६ हजारमा इस्काभेटर लगाएर कति वर्षदेखिका पुराना फोहोरहरू सबै पुर्ने काम गरियो । त्यति गर्दा पनि भवानीपुरकै मानिसहरूले राति फोहोरमाथि आगो लगाइदिन्थे । रातारात जङ्गलतिर दौडिनु पर्ने । जङ्गलमा आगो लागिरहेको हुन्थ्यो । दमकलको लागि नगरका उपप्रमुखलाई निवेदन गर्दा ‘तपाईंलाई फोहोर व्यवस्थापनको जिम्मा दिएको हो, आफै व्यवस्थापन गर्नुहोस्’ भन्ने जवाफ पाउँदा यो मनको चोट आज बिसाउने एउटा प्लेटफर्म पाएको छु । त्यसबेला नगरका वातावरण विभाग प्रमुख पुष्पनारायण चौधरीले रातारात दमकल पठाई सहयोग गर्नुभएको थियो । उहाँप्रतिको त्यो आभार पनि यस मञ्चमार्फत् व्यक्त गर्न चाहन्छु । सरसफाइको क्षेत्रमा यी तमाम कठिनाइ पार गर्दै इटहरी नगरपालिकालाई सरसफाइको क्षेत्रमा नेपालकै एउटा नमुना नगरपालिका बानाउन दृढताका साथ उभिएको छु ।
म विदेशतिरै हुँदा टि.भी. मा नेपालको खबर हेर्दा सुन्धारातिर फोहोरको थुप्रोमाथि मानिसहरू नाक, मुख छोप्दै हिँडेको देखेर यस क्षेत्रमा संलग्न हुन पुगेको हुँ । २०५० सालदेखि फोहोर व्यवस्थापनमा संलग्न भएकोे अनुभव बमोजिम यो देशमा फोहोरमैला व्यवस्थापन गर्नुपर्छ भनेर गम्भीरतापूर्वक लाग्ने सरकारमा कोही भएन । यसको गम्भीर परिणाम बुझेर फोहोरमैला व्यवस्थापन गर्ने कम्पनी या संस्थाप्रति प्रोत्साहन या उत्प्रेरित गर्ने वा सहुलियत र सहयोग गर्ने कसैको मनसाय भएन । कतिपय वडाध्यक्षहरू उनीहरूले नियुक्ति गरेका कर्मचारी झैं व्यवहार गर्छन् । वडा वा नगरमा कुनै सफाइ कार्यक्रमको आयोजना भयो भने उनीहरूले जतिबेला भन्यो, त्यतिबेला फोहोर उठाउने ट्याक्टर पठाइदिनुपर्ने हुन्छ । कम्पनीले आफ्नो कार्यतालिकाअनुसार ट्याक्टरहरू पठाइसकेको हुन्छ । कम्पनीलाई अग्रिम सूचना दिने अथवा सल्लाह गर्ने प्रवृत्ति छैन । घर भत्काएर थुपारेको, नगरले रुख काटेर थुपारेका झ्यासहरू कुनै सङ्घ–संस्थाले सफाइ कार्यक्रम गरेर थुपारेका फोहोरहरू सबै नै कम्पनीले उठाउनु पर्ने दायित्व हो भन्ने मानसिकता छ । अनि नकारात्मक सोच राख्ने व्यक्तिहरू फोहोर उठाउने ठेकेदारले करोडौं कमायो भनेर सामाजिक सञ्जालमा लेख्छन् । यद्यपि हामी डेभलपर हौैं । ठेकेदार होइनौं । नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र कम्पनीबीच भएको सम्झौतामा ‘डेभलपर’ भनी उल्लेख भएको छ । प्लान्ट मेसिनरी र पूर्वाधार निर्माणमा लगानीकर्ताको करोडौं रुपैयाँ लगानी भएको छ । साँच्चै भन्नुपर्दा नगरबासीले ५ कप चिया बराबरको पैसा तिरेर र कम्पनीको आफ्नै लगानीमा इटहरीको फोहोर व्यवस्थापनको काम भइराखेको छ । न.पा. ले जम्मा तीन लाख दिने गरेको छ, त्यसमा पनि मूल्य अभिवृद्धि कर कटाएर दुई लाख पचासी हजार मात्र प्राप्त हुन्छ । कर्मचारीको तलब समयमा दिन सकिएको छैन । मासिक आठ नौ लाख नोक्सान बेहोरेर काम गरिरहेका छौं । कर्मचारी घटाउने, सडकमा बढार्ने कुचीकार हटाउने, सधैँ ऋण काढेर तलब खुवाउन सकिँदैन बरु कम्पनी नै बन्द गर्ने भन्ने लगानीकर्ताको जोड हुँदाहुँदै पनि मैले ढिट भएर यो काम अगाडि बढाइरहेको छु । यसर्थ फोहोरमैला व्यवस्थापनसम्बन्धी यथार्थ कथा मिडियामा पनि आओस् भन्ने मिडियाकर्मी मित्रहरूमा अनुरोधसमेत गर्न चाहन्छु ।
यसरी अनेकौं कष्ट, पीडा र करोडौं कमायो भन्नेहरूको दुत्कार सुन्दै कहिलेकाहीँ औषधि खाने पैसाधरि नहुँदाको दुःख मनभित्र साँच्दै भए पनि इटहरीमा फोहोरबाट वायो ग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने कारखाना तयार भएको छ । फोहोरमैला र सफाइको क्षेत्रमा २०७० सालसम्मको अवस्था र अहिलेको अवस्थामा धेरै सुधार भएको छ ।