धरान । मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा बालिका बलात्कार गरेको आरोपमा दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार तीन र चार वर्षीया बालिका बलात्कार घटनामा आफन्तकै संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । घटनामा संलग्न एकजना १९ वर्षका छन् भने एकजना १२ वर्षका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले उर्लाबारी नगरपालिकामा चार वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा नातामा काका पर्ने १९ वर्षीय युवक पक्राउ परेका हुन्।
त्यस्तै मिक्लाजुङमा तीन वर्षीया नाबालिका बलात्कार गरेको आरोपमा नातामा दाजु पर्ने १२ वर्षे बालकलाई पक्राउ गरेको हो । दुवैलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । पीडितहरूका आफन्तले प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरूलाई शनिबार र शुक्रबार पक्राउ गरिएको हो । घटना बिहीबार र शुक्रबार भएको थियो ।