नेपाल यस्तो उन्नत तन्त्रमा छ । जसलाई यहाँसम्म ल्याउन सयौँले सहादत प्राप्त गरेका छन् । राणा शासनको अन्त्यदेखि २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्म थुप्रै आयामहरूमा लोकतन्त्रको अभ्यास भए । तर, आम नेपालीका लागि लोकतन्त्रको उन्नत अभ्यास भने हुन सकेन । त्यो उन्नत अभ्यास अहिले पनि हुन सकेको छैन । तर, पनि हामी लोकतान्त्रिक मुलुकबासी हौँ । लोकतन्त्र भनेको जनताले जनताका लागि जनताद्वारा गरिने शासन हो । हामीले यही सर्वमान्य परिभाषा पढेर, देखेर र सुनेर आयौँ । तर, जनताले गरेको शासन हुँदैमा लोकतन्त्रको ठीकसँगले अभ्यास भएको हुन्छ भन्ने हुँदैन रहेछ भन्ने प्रमाणित हाम्रै देशबाट गर्न सकिन्छ । हामीले सोमबार लोकतन्त्र दिवस मनाइरहँदा के लोकतान्त्रिक संस्कार अपनाइएको छ त ? हाम्रो चरित्रमा लोकतान्त्रिक संस्कृति छ त ? पक्कै पनि यो प्रश्नको अब जवाफ खोज्ने बेला आएको छ ।

लोकतन्त्र दिवस मनाउँदैमा लोकतान्त्रिक चरित्र र संस्कार हुन्छ भन्ने हुँदैन रहेछ भन्ने हामीले मनन् गर्न जरुरी छ । लोकतन्त्र भनेको कानूनी राज्य मात्रै हैन, त्यो संस्कार पनि हो र संस्कृति पनि हो । हामीले गर्ने काम पनि लोकतान्त्रिक छ कि छैन भन्ने प्रश्न पनि हो । अहिले धरानकै उदाहरण लिऔँः धरानका नगरप्रमुख हर्क साम्पाङले कोकाहाबाट धरानमा पानी ल्याउने अभियान चलाइरहँदा उनले चलाएको अभियान लोकतान्त्रिक छ कि छैन ? भन्ने प्रश्न पनि सँगै आउँछ । संविधान र कानूनमा लोकतन्त्र लिपिबद्ध हुँदैमा लोकतन्त्र संस्थागत हुँदैन । त्यसलाई चलाउने सञ्चालकहरूमा पनि लोकतान्त्रिक चरित्र र संस्कार हुन आवश्यक छ । तर, आज लोकतान्त्रिक चरित्र र संस्कार दिन प्रतिदिन क्षयीकरण हुँदै गइरहेको छ । देश राजनीतिक भागबण्डामा चलेको छ । के यही हो लोकतन्त्र ? लोकतन्त्रलाई जसले आजको अवस्थामा ल्याए, उनीहरूले नै लोकतन्त्रको धज्जी उडाइरहेका छन् । त्यसो हो भने लोकतन्त्रलाई कसले हो संस्थागत गर्ने ? लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पनि त्यही राजनीतिक दलहरूकै हो । तर, आजकै अवस्थामा लोकतन्त्रलाई संस्थागत गर्न उनीहरू उदार होलान् भन्ने अवस्था छैन ।

राजनीतिक दलहरूले लोकतन्त्रलाई आफ्नो बपौती ठानेका छन् । लोकतन्त्र हामीले ल्याएको भनेर कुर्लिदै गरेको अवस्था छ । तर, संस्थागत गर्नेभन्दा पनि लोकतन्त्रको क्षयीकरण कसरी गर्ने भन्ने प्रतिस्पर्धा सुरु भएको देखिन्छ । लोकतन्त्रको मर्मलाई बुझ्न नसक्दा आज संस्थागत हुन सकेको अवस्था छैन । अब कुन पुस्ताले लोकतन्त्रलाई संस्थागत गर्दै जाने हो ? के अब पनि अर्को पुस्तालाई पर्खिने हो ? यसका लागि कुनै राजनीतिक दलहरू आफू तयार हुनुपर्छ कि पर्दैन । लोकतन्त्र विधि मात्रै हैन, यो प्रक्रिया पनि हो । संस्कार पनि हो । संस्कृति पनि हो । व्यक्तिको चरित्र पनि हो । मुखमा राम राम बगलीमा छुरा गर्ने प्रवृत्ति कतै पनि लोकतान्त्रिक चरित्र होइन । त्यस्तो चरित्र लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार हो । लोकतन्त्रका हरेक नागरिक लोकतान्त्रिक पद्दति र विधिमा चल्नुपर्छ । अझ राजनीतिक दलहरू त झनै बढी जिम्मेवार भएर लाग्नुपर्छ । यसर्थ लोकतन्त्रलाई संस्थागत गर्ने हो भने हरेक पार्टीले आफूलाई सिसा जत्तिकै पारदर्शी बनाउन आवश्यक छ र आफ्नो चरित्र पनि लोकतान्त्रिक बनाउन आवश्यक छ । पदमा बसेकाहरू जवाफदेही हुनुपर्छ । जवाफदेही हुनु लोकतान्त्रिक शासनको चरित्र हो । चरित्रलाई लोकतान्त्रिक बनाउने कसले ?